ब्लगशनिवार, भाद्र १०, २०७४

आफैमाथि पहिरो खसेपछि...

मुकेश पोखरेल

‘ढुङ्गा खस्दै छ, गाडी छिटो अघि बढाउनुस्,’ छेउकै सिटका यात्री अत्तालिएर भन्दै थिए । एक्कासी गड्याङ्गगुडुङ्ग आवाज आयो, झ्यालका सिसा फुटे, बसको पछिल्लो भाग हिलो र ढुङ्गाले भरियो । म सहित पछिल्लो सीटका तीन जना यात्री घाइते भयौं, शरीरभरी लेदो पोतियो । हामी चढेको बसमाथि पहिरो खसेछ ।

२८ साउन, २०७४ दिउँसो ४ बजे पथलैयाबाट पश्चिम लाग्दै गर्दा झरी दर्किरहेको थियो । अघिल्लो रात राम्रोसँग सुत्न नपाएकाले निदाएछु, व्युँझिदा जता हेर्‍यो उतै पानी–पानी मात्रै थियो ।

चुरियामाई नपुग्दै केही गाडीहरु सडक छेउमा रोकिएका देखिए । भलले बाटोको डिल काट्दै थियो । बुटवलसम्म पुग्नुपर्ने भएकाले हामी चढेको गाडीका चालक रोकिएनन् । पुल पार गर्नेे वित्तिकै पहिरो खस्यो तर, धन्न बाँचियो ।

रिपोर्टिङ्गका लागि म २६ साउनमा काठमाडौंबाट जनकपुर जाँदैे थिएँ । ठूलो पानी पर्न सक्ने पूर्वानुमान गरिएकाले यात्रा स्थगित गरौंं जस्तो नलागेको पनि होइन तर, जहाजको टिकट लिइसकेको र तराई–मधेशको यात्रा रमाइलो लाग्ने भएकाले तोकिएको समयमै दिउँसो १:३० बजे विमानस्थल पुगेँ ।

‘मौषमको खराबीका कारण’ विमान ४ बजेमात्रै उड्ने भयोे । विमानमा बसिसकेपछि सिटबेल्ट कस्न नपाउँदै, परिचारिकाको स्वर सुनियो, “केही बेर ढिलो हुने भएकोले सबै यात्रुलाई बसमा गएर बस्न अनुरोध छ, असुविधाका लागि क्षमा प्रार्थी छौं ।” केही यात्री खुरुखुरु बसमा फर्किए, केही भने उडान कर्मचारीहरुसँग झगडा गर्न थाले ।

मलाई चाहीँ उडान रद्द नै भइदिए हुन्थ्यो जस्तो लागेको थियो, रमिता हेर्न थालें । १० मिनेटपछि फेरि विमानभित्र पस्न भनियो ।

विमानबाट हेर्दा सम्पूर्ण जनकपुर पोखरी जस्तै देखिन्थ्यो, आकाश डम्म बादलले ढाकिएको थियो । बिमानका सहयात्री एकजना सशस्त्र प्रहरी निरीक्षक पहिलो पटक जनकपुर पुगेका रहेछन् । उनलाई लिन आएका दुई मोटरसाइकलमध्ये एकमा लिफ्ट मागेर रामानन्द चोकसम्म पुगेंँ ।

पत्रकार मित्र अवधेश कामत भेटिए, उनकै मोटरासाइकलमा चढेर दलका नेता, स्थानीय व्यक्ति र स्रोतसँग भेट्न गएँ । काम सकेर होटेल पुग्दा रातिको ९ बजिसकेको थियो, फेरि मुसलधारे वर्षा शुरु भयो ।

अर्को बिहान ६ बजे आउने भनेर छुट्टिएका कामत झरी नरोकिएपछि ७ः३० मा मात्र आए । दिउँसो १ बजे जनकपुरको काम सकेर जलेश्वर जाने योजना भए पनि बाढीले सडक भत्किएका कारण जान सकिएन । पूर्वपश्चिम राजमार्ग सुचारु नै छ भन्ने सूचना पाएपछि सर्लाहीतर्फ लागेँ ।

डेढ घण्टामै सर्लाहीको हरिवन पुगियो । स्थानीय मित्र अच्युत सापकोटाको मोटरसाइकलमा मलंगवातर्फ लाग्दै थियौं तर, बाढीले मलंगवा जाने कच्ची सडक समेत ठाउँठाउँमा भत्काइसकेको रहेछ, पुग्न सकिएन ।

स्टोरीका लागि डेडलाइन नजिकिँंदै थियो, त्यसैले रौतहटको गौर जानका लागि चन्द्रनिगाहपुरतर्फ लागें– गौर जाने पक्की सडक ठिकै होला भन्ने थियो । चन्द्रनिगाहपुर पुग्दा झमक्क साँझ् परिसकेकाले बास त्यहीँ भयो ।

अर्को दिन, २८ साउन बिहान ब्यूझिँदा, झरी रोकिएको थिएन । गौर डुबानमा परिसकेको रहेछ, बाटो पनि कटानमा परेको खबर आयो । कलैया र वीरगञ्ज पनि जान सकिने अवस्था थिएन । चन्द्रनिगाहपुरमा काम थिएन । पत्रकार गोकुल घोरासैनीले गाडी पाए, निजगढसम्म आउन सल्लाह दिए ।

नभन्दै पश्चिम जाने मिनिबस आयो र, निजगढतर्फ लागेँ । निजगढमा सडक वरपरका मानिसहरु कम्मरसम्म पानीमा डुबेका देखिन्थे । बसबाट ओर्लिने अवस्था थिएन ।

राजमार्गमा गाडीको लामो लाइन थियो, केही समय अगाडि खहरेले सडक नै बगाएको रहेछ । आधा घण्टाजति रोकिएपछि चालकले भित्रीबाटो गएर खहरे पार गर्न सकिने भन्दै गाडि अगाडि बढाए ।

त्यहाँ भेट्ने भनिएका अर्का मित्रसँग फोनबाटै विदा भएँ, यद्यपि उनले चुरिमाईमा पहिरो जाने सम्भावना भएकाले रोकिन सल्लाह दिएका थिए । मलाई हतार थियो, हेटौडासम्म पुगे सुविस्ता होला कि भन्ने सोचमा थिएँ । उनको सुझाव नमानेर अघि बढेको एक घण्टामै पहिरोमा परियो ।

घाइते र हिलाम्मे भएर बल्लतल्ल बसबाट निस्किएँ, अन्य यात्रुले समातेर केही पर एउटा घरसम्म पुर्‍याए । उता मेरो ल्यापटपलगायतका सामानसहितको ब्याग बसमै थियो । केहीबेरपछि बस भएको ठाउँमा फर्किदा हिलाम्मे झोला त्यहीँ रहेछ ।

हेटौंडा आइपुगेपछि काठमाडौं जाने सडक पनि बन्द भएको थाहा भयो, बरु चितवनसम्म पुगेपछि विमानबाट काठमाडौं फर्किन सकिने भएकाले अरु यात्रीसँगै म पनि चितवनतर्फ लागेँ ।

हेटौंडा छोडेको आधाघण्टा नहुँदै फेरि सडक बन्द भयो– पहिरो खसेर । आधा घण्टा रोकिएपछि बस अगाडि त बढ्यो तर, राजमार्गमा उर्लिएका खहरे र ठाउँ–ठाउँमा खसेका पहाडले त्रास कत्ति घटेन । पानीले ढाकेको सडक छिचोलेर हेटौंडाबाट चितवन आईपुग्न ५ घण्टा लाग्यो ।

राती साढे १० बजे भरतपुरमा ओर्लिदा झरी दर्किरहेकै थियो । डा. गोविन्द केसीको अनसनमा ऐक्यवद्धता जनाउँदै केही विद्यार्थी रुखको आडमै टेण्ट लगाएर अनसन बसेका रहेछन, एकछिन त्यहीँ ओत लागेर मित्र हरि पोखरेललाई फोन गरेँ । उनको घर पुग्दा ११ बजिसकेको थियो ।

अघिल्लो दिनदेखिको भोक हरिको घरमा पुगेपछि मेटाइयो । चितवनमा दुई दिन कुरेपछि बल्ल ३० साउनमा काठमाडौं आउने विमानको टिकट मिल्यो ।

अहिले पनि ठूलो आवाज आउँदा त्यही पहिरोकै आवाज जस्तो लाग्छ ।

प्रतिकृया दिनुहोस