दस्तावेजशनिवार, भाद्र १०, २०७४

सट्टापट्टामा बिर्ताखेत (इतिहास)

ज्ञानमणि नेपाल

सित्ता्केल कुशबिर्ताको स्याहामोहरहरू केलाउँदा उसबखतका जग्गा विवादहरू कसरी सल्टिइन्थे भन्ने पनि देखाउँछ।

वि.सं. १८०८ मा चौदण्डीका राजा विक्रम सेनले गोपाल नेपाललाई सिक्तेलमा कुशबिर्ता दिई साउने खोला पूर्व हुलुवा खोला पश्चिम आरुसुवाराको तल्लो डिल अहिलेको कोटडाँडादेखि दक्खिन हुलुवा खोला वारि लोहकिल थुम्कादेखि उत्तरको घडेरी व्याँसीको पाखेकुडुले खेत अर्को सिक्तेल खोलाको सहेले खेत र गोगने आहाले खर्क गरी कुशबिर्ताको स्याहामोहर गरिदिएका थिए। सो घडेरी भएको नेपाल वन्धुहरूको बस्तीलाई अहिलेसम्म कुशबिर्ता भनिंदैछ।

त्यसैसँग जोडिएको साउने खोलादेखि पश्चिमको जमीन कुनै जागीरदारलाई जागीरको रूपमा दिएको रहेछ। जागीरदारले आफ्ना कुरियाका मानिसहरूलाई तालीम दिई दशैं–दशैंमा आरुसुवाराको कोटडाँडामा मौलो गाडी भोग बलि दिई देवीपूजा गरी व्याँसीको पाखोकुडुले खेत भोगचलन गर्दा रहेछन्।

१८०८ मा गोपाल नेपालका छोरा हरिनारायणलाई कुशबिर्ता दिंदा व्याँसीका ती खेत नेपाल वन्धुका नाममा दरिंदा जागीरदारले चौदण्डी गई हामीले कोटमा पूजामा अक्षता चढाई भोगचलन गरेको खेत नहरिओस् भनी राजालाई विन्ती गरेछन्।

राजा कर्ण सेनले सो कुरा स्वीकार गरी पाखेकुडुले जागीरदारलाई दिएर त्यसको सट्टामा हरिनारायणलाई पहिले दिएको समेत थामी पिखुला खोला खेत गरिदिए।

पछि प्रतापसिंह शाहका पालामा सं. १८३३ मा बिर्ताको नापजाँच गर्न खटिएका अनिरुद्र दुर्गादास त्रिलोचन उपाध्यायहरूले जाँच्ता १६० मुरी माटो अधिक ठहरियो।

त्यसको सलामी बापत २० मुरीको रु.७ का दरले रु.५६ हरिनारायणका भाइ देवदत्तबाट लिई बिर्ता थमौती गरिदिए। बिर्ता दिंदा पश्चिमपट्टि पँधेरा मुनिको मार्से रातमाते खेत बिराएको थिएन। पछि बिराएको बढी माटोको सलामी लिएर थमौती गरिदिने चलन थियो।

यति भएपछि कसैले बढी खायो, दरबार खायो भनेर दाबा गर्न धक्का दिन पाउँदैनथ्यो। पछि फेरि नापजाँच गर्दा १०० मुरी माटो बढी ठहर्‍यो। त्यसबापत त्यसबेला दस्तुर दोब्बर बढेकाले देवदत्त, पीताम्बर नेपालले रु.७० सलामी तिरे।

पाखेकुडुले खेतको सट्टामा पाएको पिखुवाखोला खेतमा पछि १८६० मा पुनः सानो कचिङ्गल पर्‍यो। यो कुरा अदालतमा पुग्दा नेपाल वन्धुकै बिर्ता ठहर्‍यो।

अघि चतरा मठका महन्त शिवराम भारतीले बोखिमका महीपति उपाध्याय न्यौपानेलाई ६० मुरीको बिखुवाखेत, त्यसमाथिको आहाले घडेरी र त्यसबाट अलिकति उत्तर केराबारी खर्क कुशबिर्ता दिएका रहेछन्।

महीपति न्यौपानेले चौदण्डीका सेन राजासँग घरपायक पर्ने बोखिमकै भदौरे खेत लिएर त्यसबापत अपायकको पिखुवाखोला पारिको खेत राजालाई दिएकोले त्यो खेत रैकर भएको रहेछ। राजाले पाखेकुडुलेको साटोमा त्यही खेत नेपाल वन्धुलाई दिएका रहेछन्।

माथि आहालेमा घडेरी, तल पिखुवा किनारमा खेत हुँदा अघिदेखि आहालेमा गिरी, पुरी, भारतीहरूको बस्ती बसेको थियो। त्यसै स्नेहले होला पछिका महन्त गौतम भारतीले त्यसखेतमा दाबी गरेछन्, हाम्रो गुठीको जग्गा हो भनेर।

बाली पनि लुटेर खाएछन्, तर अदालतमा उनको दाबी टिक्न सकेन। लुटी खाएको बाली पनि फिर्ता गर्नुपर्‍यो। जमीन ब्राह्मणकै बिर्ता ठहर्‍यो, नेपाल वंशकै भोगचलन भयो।


पाखेकुडुले खेतको सट्टामा दिएको पिखुवाखेतको स्याहामोहरको सार

हरिनारायण नेपाललाई पाख्या कुडुल्याके साटो दीयाको पिखुवा खेतको सीमाना
कटहर्‍या ठुला ढुँगो घारीदेखि पूर्व पिखुवा खोला पसिम कुलबाँध्देखि दखिन खेतका पुछारका लुहकिल ठुला ढुँगादेखि उत्तर येति चार कीलाभित्रको ४५ शुद्ध सब ज्मा खेत ४।४० पिताम् पाध्या तीम्रा बाबु हरिनारां नेपाललाई कुशबिर्ता दीयाको रहेछ, आज हामीले पनि तिम्रो बिर्ता थामी बक्स्यौं, मोहोर घर फोहोर हुदा परेछ।

अनिरुद्ध उपाध्यायहरूले देवदत्त नेपाललाई गरिदिएको कागत (१८३३)

श्री दुर्गासाहाय
स्वस्ति श्री अनिरुद्ध उपाध्या श्रीदुर्गादास उपाध्या श्रीत्रीलोचन उपाध्या कसे लीखितं आगे देवदत्त नेपालको बिर्ता सीक्तेल मध्ये पिखुवा खेत साहिल्या खेत गाउँ मार्स्या खेत् रातमाट्या खेतको कुसहि श्री श्री माहाराजा का मोहोरका सहिले बीस आठ् १६० माटाको सातका हिसाप् रुपया छपंन ५६ लियेउ काल कला दावा भया कसैको नास्ति इति सवत १८३३ साल् जेष्ठ वदि ३ रोज ४ मुकाम बुँनाम शुभम्

धर्मानन्द, मुक्तानन्द उपाध्यायहरूले देवदत्त, पीताम्बर नेपाललाई गरिदिएको कागत (१८४५)

श्री दुर्गासाहाय
स्वोस्ति श्रीधर्मानंद उपाध्या श्रीमुक्तानंद उपाध्या कसे लिखापत्रं आगे देवदत्त पितांवर नेपालको बिर्ता सिक्तेलमधे पिखुवा खेतमुरि पैतालीस् ४५ सहेल्या खेत मुरि पैतालीस् ४५ गाउँको मार्स्या रातमाट्या खेतमुरि १७० जम्मा मुरि तेरविस २६० तेमधे अघि अनिरुद्ध उपाध्या, दुर्गादास उपाध्याका मार्फत् तिराके मुरि यक्सहे साटि १६० रहेछ ताके दर मुरि विस् २० माटाका रुपञा ७ का दरमा रुपञा छपंन ५६ लियाको रहेछ, तस्को सेनले दीयाको मोहोर किरातिले घरमाहा आगलागि गर्दा परेछ र फारक हेरि मुजुरा दीयेउ आज हामीले जाचदा वाकी नीकल्याको बखत् बिरौटो गरि मुरि सये १०० ठहरो ताके मुरि २० माटाको रुपञा १४ का हिसापमा रुपञा सतरि ७० लिए श्री (महाराजका) मोहोरका सहिमा फारक् दीयेउः कुसही विसहि वापत् दावा धक्का नास्ति इति संवत् १८४५ साल चैत्र सुदि १५ रोज १ मुकां सिक्तेल सुभम्

बी. वीरध्वज भेँडारी सिरै खत्रीले पीताम्बर नेपाललाई गरिदिएको कागज (१८६१) स्वस्ति श्रीडिठ्ठा विरधोज भेँडारी श्रीसिरै खत्रि कसे पत्रं

आगे पितां पाध्ये नेपालको बिर्ता पिखुवा सहेल्या रातमाट्या स(ब) जमा खेत् ४।४० ढाक्रयाको घर को (श्रीमहाराजका) मोहोर बमोजिं सलामि रुपञा ६ आना बार ६।। लिऔं फार्खत लेखि दिञौं इति संवत १८६१ साल फागुन सुदि ५ रोज ४ शुभम्

डि. वाराणसी उपाध्यायले चतराका महन्तका नाउँमा लेखेको पत्र (१८६०)

श्री दुर्गासाहाय
स्वस्ति अदालतका डिठ्ठा वाराणसि उपाध्या श्रीकोटि लिंगका (विचारि उमापति साप्कोटा) श्रीविचारि उमापति साप्कोटा श्रीविचारि विक्रम खडकाकस्य पत्रम् आगे चतारा घाटका महंत गौतुँ भार्तिके नमो नारायणाय गणेश भार्तिको सिक्तेल्मा कुस पायाको रहेछ, गणेश भार्तिको नाती स्यूराम भार्तिले महिपति पाध्या बोखिंका इनलाइ मुरि ६० खेत आहाल्या घड्यारि खेतबारि खरक् कुसपानि प्रछिंन गरि दीयाको रहेछ महिपति पाध्याले तेहि जगा मकवानि राजाछेउ साटो हाली बोखीमैमा भदौर्‍या भन्या खेत मुरि ६० साटयाछ्, महिपति पाध्याले साट्ता राजातिर लागी रैकर भयाको पिखुवा खेत मुरि ६० हरिनारान् पाध्या नेपाल्ले मकवानि राजाबाट कुस बिर्ता पायाको रहेछ, तेस खेतमा हाम्रो लाग्छ भनि झ्गरा गर्छौ गरे, अडिलज्युका पाला कुरा जोरि पंचाएत गरि तिमिलाई ढुँगो छुवाइ ठोक्याको हो गरे फेर आजकाल जाइ लाग्छौ गरे, एस्तै भया तम्रो लाग्दैन, बाभंको बालि मास्याको छ गरे, बालि जो मास्याको छ भर्दिउ, एस्तै कुरामा बाभंकन दुख् दिन पाउदौन, बाभंलाई दुख् दिया घटिया परला इ कुरा होइन, अरु कुरा कोहि छ भन्या आव र पूर्पक्ष सुनिदिउला इति सम्बत् १८६० साल श्रावण शुदि ६ रोज १ (छेउमा) लिखा माफिक भरिदेऊ

पत्र सहि –१

पत्र सहि –२

(यी पाँच पत्रका नक्कल विष्णुप्रसाद नेपालका छोरा लेखनाथसँग छन्।)

प्रतिकृया दिनुहोस