रिपोर्टशुक्रवार, भाद्र ९, २०७४

चोरले हायलकायल

रामेश्वर बोहरा

सुन्दा सामान्य लाग्ने र 'माइनर क्राइम' का रूपमा लिने गरिएको चोरीका घटनाबाट समाज आक्रान्त छ।

यस वर्ष पनि ठूला चाडपर्वको मौसम शुरू भएको छ। पर्वको माहोलले कतिसम्म अल्मल्याइदिन्छ भने नेपाली आफ्नै घर र धनसम्पत्तिको सुरक्षामा पनि बेपर्वाह बनिदिन्छन्। अनि पाउँछन्, चोरचकारले मौका। त्यहीकारण चाडबाडको मौसमसँगै प्रहरीको अनिंदो पनि बढ्न थाल्छ।

अबका केही सातामा देशभरका प्रहरी कार्यालयहरूले चाडबाडकेन्द्रित सुरक्षा योजना बनाउने क्रम तीव्र हुनेछ; जुन मूलतः चोरी नियन्त्रणमै केन्द्रित हुन्छ। 

दशैं, तिहारलगायतका ठूला चाडबाडका बेला धेरैका घरमा धनमाल हुन्छ। सबै व्यस्त हुने र शहरबजारमा बस्नेहरू गाउँतिर लाग्ने भएकाले चोरहरू चाडबाडमा बढी सक्रिय हुन्छन्।

सबभन्दा बढी चोरीका घटना चाडबाडको समयमा हुने गरेको नेपाल प्रहरीको अपराध सम्बन्धी वार्षिक आँकडाले देखाउँछ। यसबाट देशका कुनै भाग अछुतो छैनन्। अर्थात्, पूरै समाज यसबाट आक्रान्त छ।

'उपेक्षित अपराध' को चढ्दो ग्राफ
प्रहरीको वार्षिक अपराध चार्ट भित्र महत्वका साथ समेटिने गरे पनि चोरीका घटनालाई प्रायः सामान्य अपराधका रूपमा लिने गरिन्छ। जघन्य अपराधमा केन्द्रित हुनुपर्ने प्राथमिकतालाई अगाडि सार्दै कतिपय प्रहरी अधिकृत नै यसलाई 'माइनर क्राइम' भन्ने गर्छन्।

व्यक्तिको ज्यानै लिने गरी हुने 'खुन डाँका' जस्ता अपराधलाई छुट्याएर हेर्दा चोरीका घटना सामान्य नै लाग्छन् पनि। प्रहरी प्रधान कार्यालयका एक वरिष्ठ प्रहरी अधिकृत भन्छन्, “समाज नै हल्लाइदिने जघन्य अपराधका घटनामा केन्द्रित हुन छाडेर चोरीका घटनामा कुद्ने फुर्सद प्रहरीलाई हुँदैन।”

तर, चोरी सम्बन्धी अपराध यसरी उपेक्षा गर्न सकिने गरिको छैन। २०७३/७४ मा देशभरका प्रहरी कार्यालयहरूमा एक हजार ६५७ वटा चोरी सम्बन्धी घटनाका उजुरी दर्ता भए। सरसर्ती हेर्दा कतिपयलाई यो आँकडा पनि ठूलो नलाग्न सक्छ।

तर, पछिल्लो एक दशकयता चोरी सम्बन्धी अपराधको ग्राफ लगातार उकालोमा छ। चोरीको यो आँकडालाई विभिन्न उप–शीर्षकमा छुट्याएर हेर्दा थप डरलाग्दा पाटाहरू देखिन्छ।

गत वर्ष प्रहरीले 'साधारण चोरी' शीर्षकमा सूचीकृत गरेका एक हजार १६२ घटनाका उजुरी प्रहरी कार्यालयहरूमा दर्ता भएका छन्। धनमाल चोरी भइसकेपछि मात्र सम्बन्धित धनीले भेउ पाउने यी घटनाबारे आमरूपमा त्यति चासो नहुन सक्छ, पीडितले व्यहोर्नु परेको क्षति ठूलै भए पनि।

तर, चोरी सम्बन्धी अपराधमा केही यस्ता घटना पनि हुन्छन्, जसले मुलुकको कानून व्यवस्थाकै धरातल हल्लाइदिन्छन्। त्यसैमध्ये एक हो– रहजनी चोरी। मुलुकी ऐनको चोरी सम्बन्धी महलमा 'रहजनी चोरी' लाई अर्थ्याउँदै भनिएको छ– 'बाटो, घाटो वा जंगलमा ढुकी जबर्जस्ती चोरी गर्नु।' गत वर्ष यस्ता घटनाका २६ उजुरी प्रहरीमा दर्ता भएका छन्।

अर्को छ– जबर्जस्ती चोरी। मुलुकी ऐनले 'कुटपिट, हातपात गरी वा बाँधी, थिची वा उतिखेरै ज्यान लिने वा जीउ जखम, अंगभंग गर्ने डर त्रास गराई वा भित्र पसेको मानिस निस्कन नहुने गरी ढोका बन्द गरी चोरेमा वा चोरी गरेको थाहा पाई मौकैमा वा दपेट्दै गई माल लिन वा चोर पक्रन खोज्दा चोरले उल्लिखित जोरजुलुम गरेमा' जबर्जस्ती चोरी हुने उल्लेख छ। गत वर्ष यसखाले चोरीका ८६ घटना प्रहरीमा दर्ता भएका छन्।

अर्को खाले चोरी हुन्छ– नकबजनी। 'खुला ढोकाबाट बाहेक सुरुङ खनी वा भित्ता, झयाल ढोकाहरू फोरी वा खोली वा छाना कौसी झयाल पर्खाल इत्यादि गैर बाटोबाट कुनै तरहले भित्र पसी चोरी गरेको वा भित्र पस्दा बाटैबाट पसे पनि निस्कँदा सो लेखिएको किसिमबाट निस्के नकबजनी गरेको ठहर्ने' मुलुकी ऐनमा उल्लेख छ। गत वर्ष नकबजनी चोरीका २३९ उजुरी प्रहरीमा दर्ता भए।

साधारण चोरीसँगै रहजनी, जबर्जस्ती र नकबजनी चोरी बढ्दो क्रममा छ। यी घटनाले घर, बाटोघाटो सबै असुरक्षित रहेको र व्यक्तिका घरदेखि सार्वजनिक स्थलसम्म चोरहरूको रजगज चलेको देखाउँछन्। अपराधशास्त्री रजितभक्त प्रधानाङ्ग सबभन्दा सजिलो अपराध भएकाले चोरीका घटना झन–झन बढिरहेको बताउँछन्।

हुन त, संसारभर नै चोरीलगायतका आर्थिक अपराध बढी नै हुन्छन्। विश्वका धेरैजसो देशमा आर्थिक अपराध समग्र अपराधमा तेस्रो नम्बरमा पर्छ।

अपराधशास्त्री प्रधानाङ्ग चोरीका घटना समाजको अवस्था र चरित्रसँग सीधा जोडिने बताउँछन्। उनका अनुसार, समाजमा बेरोजगारी बढेसँगै युवाहरू रोजगारीको खोजीमा शहर पस्छन्। तीमध्ये कति वैदेशिक रोजगारमा जान्छन् भने कतिपय यहीं रोजगार पाएर काममा भुल्छन्।

“बाहिर जान र यहीं काम नपाउनेका लागि चाहिं चोरी नै कमाउने सजिलो बाटो बन्न पुग्छ” प्रधानाङ्ग भन्छन्, “त्यसकारण यो अपराध शहरीकरण, गरीबी र बेरोजगारीसँग प्रत्यक्ष जोडिएको छ।”

चोरी सम्बन्धी अपराधले गाउँभन्दा शहर ज्यादा आक्रान्त बनेको आँकडाहरूले देखाउँछन्। यसको खास कारण छ। बढ्दो शहरीकरण र अव्यवस्थित बसोबाससँग चोरीको अपराध जोडिएको देखिन्छ। शहरमा छिमेकी नै भए पनि एकले अर्कालाई चिन्दैनन्, कसैले कसैको निगरानी गर्ने कुरा पनि हुँदैन।

एउटै घरका फरक कोठामा बस्नेहरुबीचमा समेत चिनजान हुन्न। मानवशास्त्री सुरेश ढकाल कसैले कसैको वास्ता र निगरानी नगर्ने यसखाले सम्बन्धका कारण चोरले शहरमा सजिलो 'कभर' पाउने बताउँछन्। उनी भन्छन्, “चोरहरूले दिनदहाडै ट्रक ल्याएर कुनै घरबाट सामान ओसारिसक्दा पनि छिमेकीले चोरी भएको भेउ नपाउनुको कारण यही हो।”

पछिल्ला वर्षहरूमा चोरीको ग्राफ उकालो लागिरहँदा खुनडाँका र डाँका सम्बन्धी अपराध भने घटेको प्रहरीको आँकडाले देखाउँछ। अहिले डाँका र खुनडाँका सम्बन्धी कसूरलाई पनि अपहरण तथा शरीर बन्धक कसूरमा मुद्दा चलाउन थालिएकाले डकैती घटेजस्तै देखिएको तर, वास्तविकता त्यसो नभएको अपराधशास्त्री प्रधानाङ्ग बताउँछन्। अपहरण सम्बन्धी मुद्दा भयो भने ४५ दिनको हदम्याद हुन्छ, डाँका वा खुनडाँकाको मुद्दामा २५ दिन मात्र।

उनी भन्छन्, “थप २० दिनको हदम्याद पाउने भएकाले डाँका र खुनडाँकालाई पनि अपहरणपछिको हत्या या अपहरण शीर्षकमा मुद्दा चलाइन्छ।”

संगठित अपराध सम्बन्धी ऐनले अपहरण कसूरलाई सम्बोधन गरेसँगै प्रहरीले खुनडाँका र डाँकालाई पनि अपहरण सम्बन्धी मुद्दा चलाउन थालेको छ।

२०६३ पछि फिरौतीका लागि अचाक्ली बढेका अपहरणका घटनामा पछिल्लो समय उल्लेख्य कमी आए पनि प्रहरीको आँकडामा उल्लेख्य संख्यामा देखिने अपहरण तथा शरीर बन्धक मुद्दाको वास्तविकता त्यही हो।

कानून व्यवस्थामै चुनौती
चोरीका सबै घटनाबारे प्रहरीमा उजुरी पर्दैन। कुल घटनामध्ये आधा जतिको मात्र उजुरी पर्ने प्रहरी अधिकृतहरूको अनुमान छ। उच्चपदस्थ अधिकारी, सुरक्षाकर्मीलगायतका घरमा हुने धेरैजसो चोरीका घटना 'लाजका कारण' प्रहरीसम्म पुग्दैनन्।

उजुरी परेका घटनाकै पनि चोर पक्राउ र धनमाल बरामद निकै कठिन काम हो। चोरीका विरलै घटनामा मात्र प्रहरीले सफलता पाउँछ र अधिकांश उजुरीमाथि छानबिन 'जारी' नै रहन्छ।

चोरी यस्तो अपराध हो, जुन प्रहरीका निम्ति सबभन्दा बढी टाउको दुखाइ बन्छ, अनुसन्धान गर्न पनि उस्तै कठिन हुन्छ। चोरीका सामानहरू बिक्री भइसक्ने हुँदा प्रहरीलाई प्रमाण जुटाउन झन कठिन हुन्छ।

काठमाडौंमा कार्यरत एक प्रहरी अधिकृत चोरीका घटनाले हायलकायल पारेको अनुभव सुनाउँछन्। “पुलिसलाई 'गुडलक' र चोरलाई 'ब्याडलक' लाग्यो भने मात्र चोरीको घटना अनुसन्धानमा प्रहरी सफल हुने हो” उनी भन्छन्, “तर, सधैंजसो घटनामा चोरलाई नै 'गुडलक' लाग्छ।”

आम मानिस सुरक्षित छन् वा छैनन् भनेर हेर्ने एउटा आधार चोरीका घटना हुन्छन् या हुँदैनन् भन्ने पनि हो। तर, चोरीको समस्याबाट पीडित नहुने समुदाय, क्षेत्र, पेशा र वर्ग छैनन्। चोरीका घटना बढ्दा आम मानिसमा प्रहरीप्रतिको भरोसामा ह्रास आइरहेको छ।

त्यसमाथि प्राथमिकतामा अपहरण, हत्या, बलात्कार जस्ता संगीन अपराध नियन्त्रणमा शक्ति लगाउनुपर्ने हुँदा चोरी नियन्त्रणमा प्रहरीको ध्यान पनि पुगिरहेको हुँदैन।

अनुसन्धान गरेर टुंगो लगाउन भने चोरीकै घटना कठिन हुन्छ। “कहिले चोर भेटिन्न, चोर समात्दा चोरी भएको सामान फेला पर्दैन, सामान फेला नपरे अदालतले छाडिदिन्छ” एक प्रहरी अधिकृत भन्छन्, “कहिले चोर र सामान दुवै फेला पर्छन्, तर पीडित भेटिंदैनन्।”

पेशेवर चोरहरूले कति चलाखी गरेका हुन्छन् भने उनीहरूसम्म पुग्न प्रहरीलाई 'गुडलक' नै लाग्नुपर्छ। पेशेवर चोर समूह आपसमा 'व्यावसायिक सहकार्य' गरिरहेका हुन्छन्।

प्रहरी अधिकृतहरूका अनुसार, चोरहरू चोरी गर्नुभन्दा पहिले 'रेकी' गर्छन्। चोरीपछि सजिलै उम्कने बाटो नपाउने वा अवरोध हुने सम्भावित ठाउँमा रड, चक्कु, खुकुरी र पेस्तोल समेत पनि बोकेर जान्छन्। अवरोध हुँदा हत्यासम्मका घटना गराउँछन्। पेशेवर चोरदेखि लागूऔषध प्रयोगकर्तासम्मले चोरीको धन्दा चलाउँछन्।

सुनका गरगहना, विद्युतीय सामग्री वा सवारी साधन मात्र चोर्ने समूह पनि छन्। जे पायो त्यही चोर्दा बिक्रीको 'सेटिङ' मिलाउन कठिन हुने हुनाले एउटा समूहले भरसक एकै किसिमको सामान चोर्छन्। सवारी साधन चोरीमा ग्यारेजहरू र सुनचाँदी चोरहरूको समूहमा गरगहना व्यवसायीहरू समेत सामेल भएको प्रहरी अनुसन्धानमा देखिन्छ।

चोरीलाई 'शहरी जीवन निर्वाहको पेशा' बनाउनेदेखि मोजमस्तीका निम्ति चोरी गर्नेहरूका थुप्रै समूह छन्। महानगरीय प्रहरी अपराध महाशाखाले केही समयअघि चोरी र डकैतीमा संलग्न गिरोहका सदस्यहरूले रोयल इन्पि्कल्ड मोटरसाइकलदेखि टोयोटा कारसम्म किनेको भेट्टाएको थियो।

चोरी अपराध किन बढिरहेको छ त? नेपाल प्रहरीका प्रवक्ता, डीआईजी पुष्कर कार्की प्रहरी स्वयम्को क्षमता र कानूनलाई पनि यसको कारक मान्छन्।

उनका अनुसार, चोरी गर्नेहरू पक्राउ परेपछि सबै प्रमाण जुट्दा पनि बढीमा तीन महीना जेल बस्छन्, अनि छुटेर चोरी कर्ममै फर्कन्छन्। “चोरीमा पटके कायम गर्ने हो भने सजाय केही बढी हुन्छ, पटके कायम गर्नलाई प्रहरीले पनि त्यही अनुसार काम गर्नुपर्‍यो, हरेक पटक पक्राउ पर्नेको भरपर्दो डाटाबेस राख्नुपर्‍यो” कार्की भन्छन्, “सजाय सम्बन्धी व्यवस्था पनि बढाउनु पर्‍यो।”

चोरहरू प्रायः कार्यालय समय (बिहान १० बजेदेखि बेलुकी पाँच बजेसम्म) मा सक्रिय हुन्छन्। चोरी हुने दिन ठाउँविशेष अनुसार फरक हुन्छ।

प्रहरीको आँकडाले भने शुक्रबार ज्यादा चोरी भएको देखाउँछ, पछिल्लो समय शहरियाहरूमा घर बाहिर 'गुड फ्राइडे' मनाउने चलन जो बढेको छ। 'गुड फ्राइडे' र चोरी सम्बन्धी घटनाको आँकडा हेर्दा शहरी समाज आफैंले चोरहरूलाई मौका दिएको देखिन्छ।

प्रतिकृया दिनुहोस