राजपाको वीरगञ्ज भेलामा झडप
वीरगञ्ज महानगरपालिकाको मेयर छनौटको विषयमा राष्ट्रिय जनता पार्टीभित्र चरम विवाद बढदै जाँदा दुई समूहबीच झडप भएको छ ।
मेयरका आकांक्षी दुई समूहका कार्यकर्ताहरुले पक्ष–विपक्षमा नाराबाजी गरेपछि ९ भदौमा आयोजित अगुवा कार्यकर्ता भेला नै स्थगित भएको छ । भेलामा दुई समूहबीच कुर्सी हानाहान र हात हालाहाल समेत भयो ।
उम्मेदवार छनौट र चुनावी रणनीतिको विषयमा छलफल गर्न वीरगञ्जको होटेल कुमु प्यालेसमा अगुवा कार्यकर्ता भेला डाकिएको थियो । केन्द्रीय पर्यवेक्षक विजय गुप्ताको उपस्थितिमा हुन लागेको भेलामा पर्सा अध्यक्ष मण्डलका सदस्य तथा केन्द्रीय सदस्य र पदाधिकारीहरु मात्रै बैठकमा सहभागी हुने भनिएको थियो ।
तर भेलामा ठूलो संख्यामा मेयरका दुई आकांक्षी विमल श्रीवास्तव र राजेशमान सिंह समूहका कार्यकर्ताहरु आएर हो–हल्ला गर्न थाले । बैठक शुरु नहुँदै श्रीवास्तव र सिंहका कार्यकर्ताहरुले आ–आफनो नेताको पक्षमा चर्को नाराबाजी गर्दै प्रदर्शन गरेका थिए ।
“सबै अतिथि र पदाधिकारीले आशन ग्रहण गरेर कार्यक्रम शुरु भईसकेको थियो,” सहभागी एक कार्यकर्ताले भने, “एक्कासी नेताहरुको समर्थनमा नाराबाजी गर्दै दुई हुल कार्यक्रम स्थलमा प्रवेश गरे, स्थिति असामान्य हुन थालेपछि कार्यक्रम स्थगित भयो ।”
बैठक स्थगित भएपछि केन्द्रीय पर्यवेक्षक गुप्ता र अन्य केन्द्रीय नेताहरु अहिले होटल मकालुमा गएर बसेका छन् । भने होटेल बाहिर पनि राजेशमान सिंहका कार्यकर्ता र विमल श्रीवास्तवका कार्यकर्ताबीच पुनः झडप भएको छ ।
पार्टीले निर्वाचनमा जाने निर्णय गरेपछि कार्यकर्ताहरु अती उत्साहित हुँदा यस्तो अवस्था आएको राजापाका महासचिव शिव पटेलले दाबी गरे ।
२० वर्षपछि स्थानीय चुनाव हुन लागेकोले पनि आकांक्षी बढी देखिदा अवस्थ असमान्य हुन पुगेको उनले बताए ।
सुरेश बिडारी, वीरगञ्ज