प्रधानमन्त्री देउवासँग भारतीय नेताहरुको भेटघाट
भारतको भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवासँग आज राष्ट्रपति भवनमा भारतका प्रमुख राजनीतिक दलका विशिष्ट नेताहरुले भेटवार्ता गरेका छन् ।
प्रधानमन्त्री देउवासँग भारतीय जनता पार्टीका महामन्त्री राम माधव र सुब्रमण्यम स्वामी, जनता दल युनाइटेडका नेताद्वय केसी त्यागी र शरद यादव, भारतीय कम्युनिस्ट पार्टी मार्क्सवादीका नेता सीताराम येचुरी तथा बहुजन समाज पार्टीका नेता सुरेश भदौरियाले भेटवार्ता गरेका छन् ।
साथै प्रधानमन्त्री देउवासँग भारतीय सुरक्षा सल्लाहकार अजित दोभालले पनि भेट गर्नुभयो ।
दुबै पक्षाबीच नेपाल र भारतबीचको द्विपक्षीय हित, समसामयिक राजनीति, नेपाल–भारत सम्बन्धलगायतका विषयमा छलफल भएको भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायले जानकारी दिए ।
हैदरावाद जाँदै
प्रधानमन्त्री आज दिउँसो विशेष चार्टर्ड विमानबाट हैदरावाद जाँदैछन् ।
हैदरावादमा रहँदा उनले त्यहाँस्थित हाइटेक सिटी अवलोकन गरी सूचना प्रविधिका क्षेत्रमा भएको प्रगतिको बारेमा जानकारी लिने कार्यक्रम छ ।
प्रधानमन्त्री देउवासँग आजै साँझ तेलंगना तथा आन्ध्र प्रदेशका राज्यपाल इएसएल नरसिंहनले शिष्टाचार भेटवार्ता गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
रासस
रासस