टिप्पणीबिहिवार, भाद्र ८, २०७४

प्रकोप र विपत्ति

मनिष झा

बारम्बार बिजोग बेहोर्नुपर्दा पनि चिन्तामै अल्झेर चिन्तन नगर्ने हो भने प्राकृतिक प्रकोपहरू घातक विपत्ति बनिरहने छन् ।

तस्वीरहरु: ईश्वरचन्द्र झा

जब हामीले नियन्त्रण गर्न नसक्ने कुनै घटना हुन्छ तब चिन्ता गर्नु स्वाभाविक हो। जब हामीले नियन्त्रण गर्न सक्ने कुरा हुन्छ त्यसमा चिन्ता मात्र हैन चिन्तन पनि गर्नुपर्छ। मुसलधारे पानी पर्दैछ, हामीलाई कुनै गन्तव्यमा पुग्नु छ भने चिन्ता मात्र गरेर त्यो पानी रोकिंदैन। यस्तो अवस्थामा छाता, बर्सादी वा अन्य कुनै उपायको सहयोगले गन्तव्यमा पुग्ने हो। 

प्राकृतिक प्रकोपमा पनि चिन्ता मात्र गरिरहने र चिन्तन नगर्ने हो भने त्यो प्रकोपले विपत्ति जन्माउँछ। प्रकोप आफैंमा पीडादायक हुन्छ र एउटाको पीडालाई अरूको पीडासँग तुलना गर्नुहुँदैन। जुन बेला पीडा हुन्छ त्यो बेला त्यही नै सबैभन्दा ठूलो पीडादायक पल हुन्छ।

१२ वैशाख, २०७२ को महाभूकम्पपछि काठमाडौं उपत्यकालगायत पहाडका प्रभावित क्षेत्रमा महामारी फैलिन्छ भन्ने डर पनि थियो। उपत्यका बाहिरका कैयौं मानिस आ–आफ्नो घर फर्किन हतारिए किनकि उनीहरू थप कम्पन र सम्भावित महामारीबाट त्रसित थिए। त्यो बेला सबै मिलेर गरेको काम र अभियानको कारण त्यस्तो नराम्रो केही भएन र सबै सजिलै उपत्यका फर्किए।

चीनमा २३ जनवरी १५५६ मा भूकम्पको कारण आठ लाख ३० हजार जनाको मृत्यु भयो। इन्डोनेशियामा २००४ को समुद्री भूकम्पमा दुई लाख ८० हजारको मृत्यु भयो। एशिया र यूरोपमा कालो मुसाबाट प्लेग रोग शुरू भएपछि १९४६ देखि १९५३ सम्म २५ करोड मानिस मरे।

यस्ता घटनाहरूलाई प्रकोप भनिन्छ भने प्रभावलाई विपत्ति। यो मनसुनमा हामीले भोगेको बाढी प्राकृतिक प्रकोप हो। यसपछि हुनसक्ने रोग र महामारीको समस्या विपत्ति हो। चीन प्राकृतिक प्रकोपको कारण सबभन्दा धेरै ज्यान गुमाउने देशमा पर्छ भने विपत्तिको कारण धेरै ज्यान गुमाउनेमा अफ्रिकी देशहरू।

२०१४ मा लाइबेरियामा शुरू भएको इबोला भाइरसले २०१६ डिसेम्बरसम्ममा चार हजार ८०६ जनाको ज्यान लियो। २०१४ अक्टोबरमा अमेरिका पसेको त्यही इबोला भाइरस २०१६ डिसेम्बरसम्ममा जम्मा चार जनामा पाइयो। तीमध्ये एक जनाको मृत्यु भयो। लाइबेरियामा चिन्ता धेरै भयो, अमेरिकामा चिन्तासँगै चिन्तन पनि भयो।

सामान्य जनताको स्तरमा चिन्ता भन्ने कुरालाई रोक्न सकिन्न तर सरकारले चिन्ता मात्र गर्ने हैन। जनताले सरकारलाई कर नै यो कारणले तिर्छन् कि जनताको लागि आवश्यक चिन्तन सरकारले नै गरिदेयोस्।

२०१५ सम्ममा नेपालमा भूकम्प, बाढी र पहिरो भन्दा महामारी, आगलागी र शीतलहरबाट मृत्यु हुनेको संख्या धेरै देखिन्छ। २ भदौ साँझ्सम्मको तथ्यांक अनुसार, यस पटकको बाढीले तराईका जिल्लामा १३७ जनाको ज्यान लिएको छ भने ३० जना बेपत्ता छन्। अब पनि आवश्यक चिन्तन नहुने हो भने यसको प्रभावस्वरुप हुने विपत्तिले झाडापखाला र अन्य महामारी निम्त्याउन र झ्नै धेरैको ज्यान लिन सक्छ।

सन् १९७१ देखि २०१३ सम्म नेपालमा भूकम्प र शीतलहरले क्रमशः ८४३ र ८८३ जनाको ज्यान लिएको थियो। भूकम्पबाट चार दशकमा ८४३ जनाको ज्यान जानुलाई धेरै अस्वाभाविक मान्न नसकिएला, तर शीतलहरले पनि त्यही हाराहारीको ज्यान लिनुलाई विल्कुलै स्वाभाविक मान्न सकिन्न। हामी भूकम्प जस्तो प्रकोप नियन्त्रण गर्न अक्षम छौं तर शीतलहर प्रभावित क्षेत्रमा आवश्यक दाउरा र न्यानो कपडा उपलब्ध गराएर त्यसको प्रभावलाई सहजै नियन्त्रण गर्न सकिन्छ।

सरकार अझै पनि चिन्तामै अल्झिने र आवश्यक चिन्तन नगर्ने हो भने सबै प्रकोप विपत्तिमा परिणत हुन सक्छन्। मानव सभ्यताको १४औं शताब्दीयताको इतिहास हेर्दा विपत्ति सधैं प्रकोपभन्दा घातक भएका देखिन्छन्।

प्रतिकृया दिनुहोस