प्रम देउवाले डुबानको विषय उठाउने हिम्मत गर्नुपर्छः नेता नेपाल
एमाले वरिष्ठ नेता माधवकुमार नेपालले सीमामा भारतले बनाएका संरचनाका कारण नेपालको भूमि डुबानमा परेको विषय उठाउन प्रधानमन्त्रीलाई आग्रह गरेका छन् ।
भारतले सीमा नजिक बनाएका बाँध, तटबन्ध र सडकका कारण नेपालमा वर्षेनी धेरै जनधनको क्षति हुने गरेको भन्दै नेता नेपालले भने, “प्रधानमन्त्रीले यो विषय भारतीय प्रधानमन्त्री नेरन्द्र मोदीसमक्ष राख्ने हिम्मत देखाउनुपर्छ ।”
गृहजिल्ला रौतहटमा बाढीग्रस्त क्षेत्रको निरीक्षणपश्चात गौरस्थित आफ्नै निवासमा सञ्चारकर्मीहरुसित कुरा गर्दै उनले सीमामा भारतले एकतर्फी निर्माण गरेको बाँधका कारण नेपाली भूभाग डुबानमा परी वर्षेनी ठूलो जनधनको क्षति हुने गरेको बताए ।
नेता नेपाल रौतहटको यमुनामाईको जेठरहिया, दर्गाभगवतीको भलोहिया, गंगापिपरा, मत्सरी, गौर नगरपालिकाको विभिन्न वडाहरुमा स्थलगत रुपमा निरीक्षण गर्दा बाढी पिडितहरुको विजोग देखिएको भन्दै नागरिकका पीडामा राज्य उदासीन रहन नमिल्ने बताएका थिए ।
सञ्जय मित्र, रौतहट