पूर्व युवराज्ञी हिमानी शाहद्वारा बारा र पर्सामा राहत वितरण
शब्द/तस्वीर: श्याम गुप्ता
पूर्व युवराज्ञी हिमानी शाहले बारा र पर्साका बाढी र डुबान पीडितलाई राहत वितरण गरेकी छन् ।
हिमानी ट्रष्टकी अध्यक्ष समेत रहेकी शाहले आज बारा र पर्साका ५०० पीडित परिवारलाई प्रभावित बस्तीमा पुगेर राहत वितरण गरेकी हुन् ।
छोरा हृदयेन्द्र, छोरी कृतिका र सहयोगीहरुसहित आइपुगेकी शाहले प्रत्येक परिवारलाई पहेंलो र कालो दाल पाँच किलो, चामल दश किलो, नून तीन प्याकेट, एक लिटर तेल, चिनी एक किलो, चिउरा तीन किलो, एक थान त्रिपाल र विस्कुट जस्ता सामाग्री वितरण गरेको बाराका अब्दुलसत्तार अंसारीले बताए ।
उनले बाराको भलुही, अकवनिया रजकटिया, त्रिवेणी स्थानका २५० परिवारलाई राहत बाँडेकी हुन् । त्यसअघि शाहले पर्साको पोखरिया, लहावरथकरी, सुरजाहा, बुडगई, मिर्जापुर लगायतका पीडितलाई राहत वितरण गरेकी थिइन् ।
हिमानी ट्रष्टले अन्य जिल्लाका बाढी पीडितलाई राहत वितरण गर्ने कार्यक्रम रहेको जानकारी गराएको छ ।
आज विहान करिब ८ बजे बाराको सिमरा विमानस्थल उत्रिएकी शाह त्यहाँबाट गाडीमा राहत वितरणका लागि जाँदै गर्दा बीचबीचमा उनका प्रशंसकहरुले फूलमालाले स्वागत गरेका थिए ।