प्रधानमन्त्री देउवा दिल्लीमा
भारतको पाँच दिवसीय भ्रमणमा आज नयाँ दिल्ली पुगेका प्रधानमन्त्री शेरबहादुर देउवालाई नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतीय विदेश मन्त्री सुष्मा स्वराजले स्वागत गरेकी छन् ।
देउवा उनकी पत्नी आरजू राणा देउवाका साथ ४८ सदस्यीय उच्चस्तरीय प्रतिनिधिमण्डलको नेतृत्वको गर्दै आजै नयाँ दिल्ली गएका हुन् ।
विमानस्थलबाट उनका लागि व्यवस्था गरिएको वासस्थल राष्ट्रपति भवन गएका देउवाले आज नेपाली दूतावासमा नेपाली समुदायसँग छलफल गर्ने, साँझ ७:३० बजे नेपाल र भारतका उद्योगी–व्यवसायीहरूको साझा संस्था एशोशिएटेड चेम्बर्स अफ कमर्श एण्ड इण्डस्ट्री अफ इन्डियाले आयोजना गर्ने कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम छ ।
भ्रमणका क्रममा प्रधानमन्त्री देउवाले भारतीय राष्ट्रपति रामनाथ कोविन्द, उपराष्ट्रपति वेंकैया नायडुसँग भेट वार्ता गर्नेछन् । त्यसैगरी भारतीय समकक्षी नरेन्द्र मोदीसँग देउवाको भेटवार्ता हुनेछ ।
प्रधानमन्त्री देउवाले तिरुपति मन्दिरमा पुजाआजा गर्ने, बोधगया र हैदरवाद समेत भ्रमण गर्ने कार्यक्रम छ ।