कला/साहित्यबुधवार, भाद्र ७, २०७४

चिरुको चित्र–कथा

रविन गिरी

नेपालबाट करीब १६० वर्षअघि बेलायत पुगेको लोपोन्मुख चिरुको जीर्ण चित्रकलालाई भारतीय मूलकी बेलायती चित्रकार पुनिता शर्मा (३१) ले 'नयाँ जीवन' दिइन्।

राजमान सिंह निर्मित चिरुको जीर्ण चित्रकला संरक्षणमा खटिएकी पुनिता।  तस्वीर सौजन्यः जुलोजिकल सोसाइटी अफ लण्डन, बेलायत।

लण्डनस्थित क्याम्बरवेल कलेज अफ आर्टस्मा स्नातकोत्तर अन्तिम वर्षमा अध्ययनरत पुनिता शर्मा शोधपत्रका लागि सन् २०१४ मा जुलोजिकल सोसाइटी अफ लण्डन (जेडएसएल) को पुस्तकालय पुगेकी थिइन्। पुस्तकालयमा वन्यजन्तुका पुराना चित्रकला राखिएका छन् भन्ने कुरा कलेजबाटै थाहा पाएकी उनको अध्ययनको मुख्य विषय कागजका चित्रकलाको संरक्षण थियो। 

पुस्तकालयको गोदाम अवलोकन गरिरहँदा उनका आँखा दोबारेर त्यसै राखिएको एउटा चित्रमाथि परे। पुस्तकालयका कर्मचारीबाट थाहा भयो, त्यो चिरु (टिबेटियन एन्टिलोप) को चित्र रहेछ। विश्वमै लोपोन्मुख प्रजाति हो, चिरु मृग। चिरुको रौंबाट बन्ने सललगायतका परिधान अति महँगोमा बिक्री हुने भएकोले यसको चोरीशिकार बढ्दो छ।

अझ्ा रोचक त चित्रको इतिहास थियो। बेलायती रेजिडेन्ट भएर नेपाल बसेका ब्रायन एच. हड्सन (१८२०–४३) का लागि राजमान सिंहले यो चित्र बनाएका थिए, जुन कालान्तरमा जेडएसएल लाइब्रेरी पुगेको थियो। यति कुरा थाहा पाएपछि पुनिताको ध्यान अरु चित्रतिर गएन। उनी नेपाली कागजमा बनाइएको ८३.५-६३.५ सेन्टिमिटरको चित्रलाई वैज्ञानिक ढंगबाट जोगाउने जुक्तिमा लागिन्। “मलाई मनभित्रैबाट यो काम गर्नैपर्छ भन्ने लाग्यो” पुनिता भन्छिन्, “त्यस्तो लाग्नुमा बुबाआमाको देश भारतसँग जोडिएको नेपालको चित्र हुनु पनि कारण थियो।”

अत्यन्त खराब अवस्थामा रहेको ऐतिहासिक चित्रलाई 'नयाँ जीवन' दिन लागिपरेकी पुनिताको ध्यान त्यहाँ लेखिएका दुई वाक्यमा बारम्बार गइरहन्थ्यो। हड्सन आफैंले लेखेका अंग्रेजी वाक्य त उनले नबुझ्ने कुरै भएन, तर देवनागरीमा लेखिएको वाक्य पनि पर्गेल्नैपर्ने बाध्यता थियो। १९७० को दशकमै बेलायत गएका बाबुआमाबाट त्यसको हल ननिस्केपछि उनले भारतमा रहेकी हजुरआमालाई गुहारिन्। तर, हजुरआमाले पनि राजमान सिंहको जमानाको देवनागरी लिपि छिचोल्न सकिनन्।

चिरु अर्थात् टिबेटियन एन्टिलोप।

त्यसपछि फुपाजुलाई देखाउँदा अंग्रेजीमा त्यसको अर्थ 'दि डियर इज रोमिङ इन दि किंग्स जंगल' हुनुपर्ने बताए। लामो समय गोर्खा सैनिक रेजिमेन्टहरूमा बिताएका उनका फुपाजु मेजर जनरल विजयकुमार दत्त केही समय नेपाल पनि बसेका रहेछन्। उनले खुलाएको अर्थलाई जेडएसएल लाइब्रेरीले पनि मान्यो। त्योसँगै 'दि कन्जर्भेसन अफ अ वाटरकलर एण्ड गुआस पेन्टिङ, सी. १८४०' शीर्षकको पुनिताको शोध पनि पूरा भयो र गोदाममा आयु घटाइरहेको राजमानको चिरुले पनि नयाँ फ्रेमभित्र लाइब्रेरीमा सजिन पायो। अहिले त त्यो चिरुले सबैको ध्यान तानिरहेको पुनिता बताउँछिन्। “धेरैका लागि यो चित्र नेपाल बुझ्ने एउटा माध्यम हुन पुगेको छ”, हाल विन्डसोर क्यासलस्थित रोयल कलेक्सन ट्रष्टमा असिस्टेन्ट ड्रइङ्स कन्जर्भेटर रहेकी पुनिता भन्छिन्।

चिरु नेपाली होइन

चित्रको पछाडि हड्सनले लेखेका छन्– माइ बर्डस् एण्ड म्यामल्स् डन माइ पेन्टर सेन्ड टु मि बाई जंगबहादुर। यसबाट जंगबहादुर राणाले यो चिरुसहित अरु थुप्रै चित्र हड्सनलाई पठाएको बुझिन्छ। सन् १८४६ मा जंगबहादुर सत्तामा आउनुअघि नै नेपाल छाडेका हड्सन र जंगबहादुरको सम्बन्ध पछिसम्म पनि घनिष्ठ थियो। १८४३ मा रेजिडेन्टबाट राजीनामा दिन बाध्य भएका हड्सन त्यसपछि नेपाल पस्न पाएनन्। १८५८ सम्म आउँदा दार्जीलिङ बसेर वन्यजन्तु, वनस्पति, जातजाति, भाषा र धर्मबारे अध्ययन–अनुसन्धान गरेका थिए।

प्राणीविद् क्यारोल इन्स्किपका अनुसार, हड्सनले आफ्नो जीवनकाल (१८०१–९४) मा नेपाल र दार्जीलिङबाट जीवजन्तुका नौ हजार ५१२ वटा नमूना बेलायत पुर्‍याएका थिए। तीमध्ये ६७२ चराका प्रजाति थिए। त्यसमध्ये पनि १२४ प्रजाति विश्वका निम्ति नयाँ थिए।

हड्सनले 'डिस्क्राइब' गरेको पहिलो स्तनधारी थियो, चिरु। १८२५ तिर उनले कलकत्ता पठाएको चिरुको छाला र सिङ अनुसन्धान गरेका डा. क्लार्क एबेलले १८२६ मा विश्वको निम्ति नयाँ प्रजातिको स्तनधारी ठहर गर्दै 'एन्टिलोप हज्सोनी' नामकरण गरेका थिए। १८३४ मा हड्सन आफैंले थप अध्ययन गरेर अर्को वैज्ञानिक नाम जुराएका थिए– 'पान्थोलोप्स् हज्सोनी'।

हड्सन र एबेलको अनुसन्धानकै आधारमा हुनुपर्छ, 'राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९' ले चिरुलाई संरक्षित वन्यजन्तुमा राख्यो। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागद्वारा प्रकाशित द स्टेट्स अफ नेपाल्स म्यामल्स्ः द नेशनल रेड लिष्ट सेरिज (२०११) मा चिरु नेपालबाट लोप भइसकेको उल्लेख छ। तर, हड्सनले रेकर्ड गरेको चिरु नेपाली थिएन। सन् २०१५ मा चार्ल्स एलेनद्वारा लिखित द प्रिजनर अफ काठमाडौः ब्रायन हज्सन् इन नेपाल (१८२०–४३) मा त्यो चिरु कसरी तिब्बतबाट नेपाल भित्रिएको थियो भनेर प्रष्टसँग लेखिएको छ।

त्यसअनुसार, तिब्बतका सातौं अवतारी तासी लामा (दलाई लामापछिका दोस्रा आध्यात्मिक गुरु)को गुम्बामा हुर्किएको त्यो चिरु नेपालका राजालाई उपहार पठाइएको थियो। हड्सनले सिङ भएका तिब्बती जनावर खोजिरहेको बुझेका मुख्तियार भीमसेन थापाले त्यही चिरु रेजिडेन्सीमा पठाइदिएका थिए। तर, त्यो चिरुले काठमाडौंको गर्मी खप्न सकेन र महीना दिन भित्रै मर्‍यो। हड्सनले त्यसैको रौं र सिङ कलकत्तास्थित 'एशियाटिक सोसाइटी अफ बंगाल' मा कार्यरत मित्र डा. एबेललाई पठाएका थिए।

थप तथ्य

जेडएसएल नेपाल शाखाका प्रमुख डा. हेमसागर बराल उतिबेला हड्सनले नेपालमा रेकर्ड गरेको भन्ने आधारमै वन्यजन्तुका सरकारी सूची बनिरहेको बताउँछन्। त्यसयताका करीब दुईसय वर्षमा चिरु नेपालमा देखिएको प्रमाण नभए पनि यसलाई संरक्षित वन्यजन्तुको सूचीमा राख्नु त्यसैको प्रमाण हो।

हड्सनले 'विश्वका लागि नयाँ' भनी पत्ता लगाएको चिरु नेपाली थिएन भन्ने थाहा पाउन राजमान सिंहको तस्वीरको 'क्याप्सन' अध्ययन नै पर्याप्त हुनेथियो। तर, यसबारे घोत्लिने काम कसैले गरेनन्। त्यसो त भारतीय सेनामा मेजर जनरल बनेका पुनिताका फुपाजुले गरेको क्याप्सनको भावानुवादबाट पनि त्यो चिरु नेपाली थिएन भन्ने निष्कर्षमा पुग्न गाह्रो पर्दैन।

राजमान सिंहका चित्रकलाबारे जानकार मदन पुरस्कार पुस्तकालयका आर्किभिष्ट शमिक मिश्रका अनुसार, त्यो क्याप्सनले भनेको छ– 'यो चैरू जनावर् ठिरी मैदा चीन्को राजेको जंगल्मा वरफ्मा रद्दछ।' यसको अर्थ “यो चिरु जनावर चीन राज्यको ठिरी (पठार) को जंगलरुमा वरफमा रहन्छ भन्ने लाग्छ”, मिश्र भन्छन्।

प्रतिकृया दिनुहोस