रिपोर्टमंगलवार, भाद्र ६, २०७४

एसीसीए कोर्सः विश्वबजारमा पहुँचको अवसर

मस्त केसी

विश्वभर एउटै कोर्स, मान्यता, परीक्षा प्रणालीलगायतका विशेषता र अन्तर्राष्ट्रिय अवसरका कारण एसीसीए नेपाली विद्यार्थीको रोजाइमा पर्न थालेको छ ।

द ब्रिटिश कलेज काठमाडौंमा एसीसीए अध्ययनरत विद्यार्थी । तस्वीरः गोपेन राई

लेखा परीक्षणमा करिअर बनाउने उद्देश्यले बीबीए उत्तीर्ण रेजिका महर्जन एसोसिएसन अफ चार्टर्ड सर्टिफाइड एकाउन्टेन्ट्स (एसीसीए) कोर्स अध्ययनका लागि काठमाडौंस्थित द ब्रिटिश कलेजमा भर्ना भइन्। एसीसीएको जून २०१७ को पी–थ्री परीक्षामा यी नेपाली विद्यार्थीले 'वर्र्ल्ड टप' नै गरिन्। पढाइसँगै अडिट एसिस्टेन्टको कामलाई पनि निरन्तरता दिएकी महर्जन भन्छिन्, “बीबीए राम्रो कोर्स हो। तर, एसीसीए बढी व्यावहारिक र व्यावसायिक लाग्यो ।” 

महर्जनको अनुभवजस्तै 'व्यावहारिक र व्यावसायिक' भएकै कारण विश्वबजारमा एसीसीए कोर्स गर्नेको चाप बढ्दो छ। र, स्वाभाविक रूपमा नेपालमा पनि यो कोर्सको प्रभाव विस्तार भइरहेको छ। अहिले उपत्यकामा द ब्रिटिश कलेजसँगै, नेशनल कलेज अफ एकाउन्टेन्सी, सीसीए स्कूल अफ एकाउन्टेन्सीलगायतका संस्थाहरूले एसीसीए पढाइरहेका छन् ।

एसीसीएको पढाइ सन् १९०४ देखि बेलायतबाट शुरू भएको हो। नेपालमा सन् १९९० को दशकदेखि व्यक्तिगत रूपमा एसीसीए अध्ययन थालिए पनि संस्थागत रूपमा भने सन् २००६ देखि मात्र शुरू भएको हो। नेपालमा ब्रिटिश काउन्सिलले कोर्स सञ्चालनको सहजीकरण गरिरहेको छ ।

विश्वभर एकै परीक्षा प्रणाली, कोर्स र समान मान्यता एसीसीएको विशेषता भएको एसीसीए कोर्सका नेपाल प्रमुख रविन कटवाल बताउँछन् । विश्वबजारका लागि उपयुक्त जनशक्ति उत्पादन, अन्तर्राष्ट्रिय अवसरका कारण पनि विद्यार्थी र अभिभावक दुवैको रोजाइमा एसीसीए पर्न थालेको उनको बुझाइ छ ।

एसीसीए विश्वभर १७८ देशमा फैलिएको छ। यी सबै देशको अनुगमन र सहजीकरण बेलायतस्थित एसीसीएको मुख्य कार्यालयले गर्दै आएको छ । एसीसीए ग्लोबलडटकमका अनुसार एसीसीए सदस्य हुन १४ वटा पेपर पास गरेको र एकाउन्टिङ, फाइनान्सिङ, अडिटिङलगायतका क्षेत्रमा तीन वर्षको अनुभव पूरा गरेको हुनुपर्दछ। “यी मापदण्ड विश्वभरका लागि एउटै हुन्छ”, एसीसीए नेपाल प्रमुख कटवाल भन्छन् ।

एसीसीए ग्लोबलका अनुसार विश्वबजारमा हाल एसीसीएका एक लाख ८८ हजार सदस्य छन् भने चार लाख ८८ हजारले यो कोर्स पढिरहेका छन्। जसमध्ये नेपाली करीब दुई हजार ५०० विद्यार्थी अध्ययनरत छन्। ३८० जनाले एसीसीएको सदस्यता पाइसकेका छन्।

सहज र व्यावहारिक
सामान्यतया एसीसीए कोर्स पूरा गर्न चारदेखि पाँच वर्ष लाग्छ। नलेज, स्किल्स र प्रोफेसनल गरी एसीसीएका तीन तह हुन्छन्। नलेज तहमा भर्ना हुन प्लस टू पास गरेको हुनुपर्छ। स्किल्सका लागि स्नातकको योग्यता चाहिन्छ। प्रोफेसनल तहमा भने एकाउन्टेन्सी पास गरिसकेकाले सोझै प्रवेश पाउँछन्। एसएलसी उत्तीर्ण विद्यार्थीले पनि फाउन्डेसन इन एकाउन्टेन्सी कोर्स पूरा गरेपछि यो कोर्स पढ्न पाउने व्यवस्था गरिएको छ ।

पढाउने संस्था अनुसार शुल्क फरक–फरक भए पनि करीब रु.५ लाखको लागतमा एसीसीए कोर्स पूरा गर्न सकिने कटवाल बताउँछन् ।

एसीसीएको मान्यता पाउन १४ पेपर पास गर्नुपर्ने प्रावधान भए पनि स्नातक र स्नातकोत्तर तह पूरा गरिसकेकाको हकमा भने ११ पेपर मात्रै दिए पुग्छ। विद्यार्थीले इच्छाअनुसार पेपर छनोट गर्न पाउँछन्। द ब्रिटिश कलेजका एसीसीए कार्यक्रम प्रबन्धक अनन्त गौतम विद्यार्थीलाई एकपटकमा कति ओटा विषयको परीक्षा दिने भन्ने छूट दिइएको बताउँछन् ।

पेपर छनोट गरी परीक्षा दिन पाइने र सैद्धान्तिकभन्दा व्यावहारिक पाटो बढी भएकोले एसीसीए पढ्न गाह्रो नभएको 'वर्ल्ड टप' महर्जनको बुझाइ छ। अनुत्तीर्ण विषयको मात्रै पुनः परीक्षा दिनुपर्ने र समय व्यवस्थापनको अनुकूलताले पनि विद्यार्थीलाई सहज हुने सञ्चालकहरू बताउँछन्। त्यस्तै कोर्स पूरा गर्न विद्यार्थीले अनिवार्य कलेज जानुपर्ने बाध्यता छैन ।

“विद्यार्थीले घरमै बसेर पढ्न पाउने, आवश्यकता अनुसार कक्षा लिने विकल्प भएको कारणले पनि एसीसीए पढ्न सजिलो छ”, सीसीए स्कूल अफ एकाउन्टेन्सीका निर्देशक विक्रान्त आचार्य भन्छन् ।

फराकिलो क्षेत्र
आर्थिक गतिविधिको व्यवस्थित सञ्चालनका लागि दक्ष जनशक्तिको माग दिनहुँ बढिरहेको छ । त्यसमा पनि ब्यांक, बीमा, होटल, कर्पोरेट हाउस, सरकारी निकाय, निजी कम्पनी आदिको व्यवस्थापकीय नेतृत्व र विज्ञका रूपमा एसीसीए कोर्स उत्तीर्ण गर्नेहरू नै प्राथमिकतामा पर्न थालेका छन्। “सबैतिर एसीसीए सदस्यहरूको माग बढ्दो छ, त्यसैले पनि यो पढाइ विशेष बनिरहेको छ”, सीसीए स्कूलका निर्देशक आचार्य भन्छन् । 

विशेषगरी अर्थ, व्यवस्थापन वा लेखा क्षेत्रमा काम गर्न चाहनेहरूका लागि एसीसीएले व्यावहारिक दक्षता प्रदान गर्छ। वित्तीय अनुशासन कमजोर भएका संस्थालाई चुस्त बनाउन र गतिशील वित्तीय प्रणालीको स्थापनामा एसीसीएको भूमिका पहिलेदेखि नै अहं ठानिन्छ। त्यसैले पनि ब्यांक तथा वित्तीय संस्था, सरकारी र गैरसरकारी निकायमा एसीसीए राख्ने प्रचलन बढेको ब्रिटिश कलेजका एसीसीए कार्यक्रम प्रबन्धक गौतमको बुझाइ छ। उनी भन्छन्, “एसीसीएले संस्थाको आर्थिक गतिविधि मजबूत बनाउनेदेखि मुलुककै अर्थ व्यवस्थालाई पनि चलायमान बनाउँछ ।”

विदेशमा आकर्षक तलब र सम्मान पाउने थोरै काममध्ये एसीसीए पनि हो। विश्वव्यापी मान्यताको कोर्स भएका कारण कार्यक्षेत्र पनि फराकिलो हुन्छ। सीसीए स्कूलका आचार्य भन्छन्, “एसीसीए सदस्य भइसकेपछि जुनसुकै देश पुगे पनि आकर्षक तलब पाउन गाह्रो पर्दैन ।”

विदेशमा मात्र हैन पछिल्लो समय स्वदेशकै 'क' श्रेणीका ब्यांक, बहुराष्ट्रिय कम्पनी तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूले एसीसीए योग्यता खोज्ने गरेको एसीसीए नेपाल प्रमुख कटवालको अनुभव छ। देशले आर्थिक विकासमा फड्को मार्न थालेपछि भने व्यापार, उद्योग सबैतिर एसीसीएको माग झ्नै बढ्ने उनको तर्क छ। बजार आफैं सृजना गर्न पनि एसीसीए सक्षम हुने उनी बताउँछन् ।

बढ्दो आकर्षण
नेपालमा औपचारिक रुपमा एसीसीए पढाई शुरु भएको भर्खर एक दशक पुरा भएको छ । यो छोटो समयमा नै एसीसीए प्रति विद्याथीहरुको लोभलाग्दो आकर्षण देखिएको छ । किन त ? एसीसीएका नेपाल प्रमुख कटवाल भन्छन्– “पढाई सकिएपछि खाली बस्नु नपर्ने, आकर्षक तलब र अन्तर्राष्ट्रिय बजारमा समेत बढ्दो मागका कारण एसीसीएमा विद्यार्थीहरुको आकर्षण दिनहुँ बढिरहेको छ ।”

देश–विदेशमा राम्रो रोजगारीको अवसर र उच्च सामाजिक प्रतिष्ठाका कारण पछिल्ला वर्षहरूमा बढी नेपाली विद्यार्थी र अभिभावकको रोजाई एसीसीए हुन थालेको सीसीए स्कुल अफ एकाउन्टेन्सीका आचार्यको बुझाइ छ । व्यवहारिक पाठ्यक्रम र प्रोफेसनल जीवनमा आवश्यक पर्ने व्यवहारिक ज्ञान पढाइकै शिलशिलामा सिक्न सक्ने भएको कारणले पनि विद्यार्थीहरुको रोजाइमा एसीसीए पर्न थालेको छ ।

औसत शुल्कमा प्रोफेशनल कोर्स पुरा गर्न सकिने कारणले पनि विद्यार्थीहरुको आकर्षण बढेको छ । बिटिश कलेजका गौतम भन्छन्– “एसीसीए भनेकै पढाई सँगसँगै रोजगार हो ।” सहज रूपले सबै क्षेत्रमा काम पाइने र कमाइसँगै इज्जत पनि हुने भएकाले विद्यार्थीको आकर्षण बढेको गौतम बताउँछन् । व्यावसायिक बन्दै गएका संस्थालाई गति दिन र आन्तरिक अर्थव्यवस्था सुधार्न पनि एसीसीएको माग बढ्दो छ । ग्लोबल मार्केट तथा कर्पोरेट क्षेत्रमा असीमित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अवसरका कारण एसीसीएको आकर्षण बढ्दै गइरहेको सञ्चालकहरुको बुझाइ छ ।

प्रतिकृया दिनुहोस