ब्लगमंगलवार, भाद्र ६, २०७४

दोरम्बा दिवस

कनकमणि दीक्षित

रामेछापको दोरम्बामा २०६० मा सेनाद्वारा भएको नरसंहारलाई माओवादी स्वयं बिर्सन चाहन्छ, किन?
 
बेलाबखत नेपालका बीभत्स द्वन्द्वकालीन घटनाहरूबारे सम्झनुपर्दछ, आफूले आफैंलाई चिमोटेजस्तो गरी। किनकि न्याय र मेलमिलाप दुवैको मागलाई धरापमा पारिएको छ। 

दोरम्बामा सेनाबाट मारिएका माओवादी कार्यकर्ता बाबुराम तामाङ। फाइल तस्वीर: कनकमणि दीक्षित

नेपाल सेना तथा माओवादीमाझ धेरै ज्यादतीकर्ता छैनन्। अपहरण, यातना, हत्या र बलात्कार गर्ने सुरक्षाकर्मी वा माओवादीको संख्या न्यून छ।

तर, द्वन्द्वकालको मुद्दामा एउटै पनि अभियोगमा न्यायिक प्रक्रिया अगाडि नबढोस् भन्ने माओवादी नेतृत्वको प्रमुख ध्येय छ; पुष्पकमल दाहाल, बाबुराम भट्टराई, मोहन वैद्य या नेत्रविक्रम चन्द सबैमा।

यसरी 'पहरेदार' बनेर बसेको छ माओवादी नेतृत्व र यसले सेनाका अधिकारीलाई पनि 'राहत' मिलेको छ।

गत दशकको राजनीतिक उत्पत्तिका कारण लोकतान्त्रिक दलहरू पनि माओवादीसँग एक न एक बेला गठबन्धनमा मुछिइसकेका छन्।

माओवादीका 'भिक्टिम' हुन् वा सुरक्षाफौजका, द्वन्द्वपीडितहरू संगठित भएका छन्। तर दलहरू पनि संगठित भएका छन्, पीडितको मागलाई नसुन्ने षडयन्त्रमा सहकार्य गर्दै।

सुशील कोइरालाको प्रधानमन्त्रीत्वकालमा नन्दप्रसाद अधिकारीले अनशनमै मृत्युवरण गर्नुपर्‍यो, उनको दाहसंस्कार आजसम्म भएको छैन।

कारण खोज्नुपर्छ, किन नन्दप्रसादकी सह–सत्याग्रही गंगामाया लगायतको न्यायको मागको सुनुवाइ हुँदैन? किन द्वन्द्वकालका बालसैन्यलाई आज विना अभिभावकत्व 'टुहुरो' बनाइएको छ?

पीडितको यस्तो अपहेलनाको अन्तर्यमा रहेको छ– माओवादी पार्टीको आन्तरिक राजनीति। खुला समाजमा अवतरण गरेर राज्यशक्ति/राज्यकोषको स्वाद चाखिसकेका माओवादी 'टप र्‍यांक' लाई एउटै द्वन्द्वकालीन ज्यादतीको खुलासा र न्यायिक निरुपण हुन दिनु नै छैन।

लहरो तान्न दिंदा पहरो जान्छ, पार्टी भताभुंग हुन्छ, कसैको कसैमाथि भरोसा नभएको जमातमा कानूनी प्रक्रिया अगाडि बढिहाले एउटाले अर्कोको भण्डाफोर गर्नेछ र कमाएको सबै गुम्नेछ― यो वास्तविकता दाहाल–भट्टराई–वैद्य–चन्द–ले बुझेका छन्।

यसैकारण बाबुराम भट्टराईले नन्दप्रसाद–गंगामायाको न्याय खोजीमा भाँजो हाले, भोलि पनि हाल्नेछन्। पुष्पकमल दाहालले बालकृष्ण ढुंगेललाई आश्रय दिए, दिंदैछन्।

माओवादी नेतृत्वको आत्मसुरक्षाको यस बाध्यताले सरकारी सेनाका खतुकीहरूलाई हाइसञ्चो बनाइदिएको छ। सेनाभित्रको संक्रमणकालीन न्याय विरुद्धको सोचलाई पनि माओवादीले टेवा पुर्‍याइदिएको छ।

यो पूरै संक्रमणकालीन श्रृंखलामा 'लोकतान्त्रिक' दलहरूले आफूलाई नंग्याएका छन्; आफ्नै कार्यकर्ता, स्थानीय नेताको 'सफाया' गर्ने जमातसँग सहकार्य गरेर। जनतालाई अनर्थको 'तालमेल' स्वीकार्न बाध्य पारेका छन्।

'फेट् अकम्प्ली' राजनीतिले हामी सबैको मान्यतालाई धक्का दियो, हामी सबै जे पस्किइन्छ थालमा त्यो खान बाध्य भयौं।

गत बिहीबार दोरम्बा घटना दिवस थियो, तर कसैले १७ अगस्ट २००३ को त्यो हत्याकाण्डलाई सम्झेनन्। बरु बलजफ्ती बिर्सने, बिर्साइने काम भएको छ।

त्यस दिन १९ जना माओवादी कार्यकर्तालाई दोरम्बा गाउँमाथिको डाँडाकटेरी भनिने पाखोमा 'प्वाइन्ट ब्ल्यांक रेन्ज' मा गोली चलाएर, मारेर तलतिर फालिदिएर सिपाही टुकडी मन्थली ब्यारेकतर्फ झारेको थियो।

राष्ट्रिय सेनाबाट भएको ठूलो युद्धकालीन ज्यादतीको घटना थियो त्यो, जसलाई आजसम्म आइसक्दा माओवादी बिर्सन चाहन्छ!

पंक्तिकार राष्ट्रिय मानवअधिकार आयोगद्वारा गठित 'दोरम्बा छानबिन कार्यदल' को सदस्य भएर घटना भएको ११ दिनपछि डाँडाकटेरी पुगेको थियो।

शाही शासनकालमा सेनाको दुष्कार्य अनुसन्धान गर्न छानबिन टोली गठन हुनु आफैंमा साहसिक थियो। आजको जस्तो निर्धो संस्था थिएन त्यतिबेलाको राष्ट्रिय मानवअधिकार आयोग। हाम्रो टोलीका अध्यक्ष थिए– श्रीमान् कृष्णजंग रायमाझी। सदस्यमा थियौं, फोरेन्सिक डाक्टर हरिहर वस्ती, पूर्वमहान्यायाधिवक्ता प्रेमबहादुर बिष्ट, अधिवक्ता हरि फुँयाल र पंक्तिकार।

हामीले १८ वटा शव उत्खनन् गर्‍यौं, डाँडाकटेरीको त्यो चौरमा (एक मृतकको दाहसंस्कार भएको रहेछ)। सेना, माओवादी र अन्य दलहरूले बिर्सन चाहे पनि कम्तीमा हामी जनताले सम्झनुपर्दछ, त्यो युद्ध अपराध।

दोरम्बामा हत्या गरिएका नागरिकहरूको सम्झना मेरो पुस्तक 'देखेको मुलुक' (२०६६) का हरफहरूद्वारा पेश गर्दछुः

'' .... फुली लगाएको अर्को एउटा अनुहार पनि हाम्रो सामु आयो। उनी क्रान्तिकारी महिला संघकी सचिव विष्णुमाया थापामगर थिइन्। उनको नोटप्याड, समिति बैठकका 'माइन्यूट' हरू र विभिन्न कागजातसहित टुथपेष्ट तथा काइँयो अलिपरको जलेको रासमा फेला पार्‍यौं। ती कागजातमा मैले 'क्रान्ति' मा समर्पित दिवंगत महिलाको जोश, जाँगर र कटिबद्धता उजागर भएको पाएँ। मनमनै उनलाई श्रद्धाञ्जली दिएँ र मुलुकप्रतिको विश्वास र जीवनदान खेर नजाओस् भन्ने कामना गरें, यद्यपि उनले अँगालेको दलको दर्शनसँग म सहमत हुन सक्दिनथें।

सिद्धान्ततः अव्यावहारिक र उपयोगितावादमा लागेको नेकपा (माओवादी) नेतृत्वको जति आलोचना गरे पनि गाउँगाउँमा अन्य राजनीतिक दलबाट न्यायपूर्ण सामाजिक र आर्थिक विकास नदेखेपछि चेतना र जागरण ल्याउन लागेका माओवादी युवा कार्यकर्ताको समर्पणभावको कदर गर्नै पर्दछ। लक्ष्य हासिल गर्न सिकाइएको तरिका गलत थियो होला तर विष्णुमाया जस्तै अनगिन्ती कार्यकर्ताहरूको दृढ कटिबद्धता र निष्ठामाथि मलाई कुनै शंका थिएन र छैन। उनीहरूको बलिदान जनताकै लागि थियो, मलाई लाग्छ– गैरहिंस्रक सामाजिक क्रान्तिमार्फत आउँदा दिनमा त्यो बलिदानलाई सार्थक तुल्याउनुपर्छ। र, विष्णुमाया जस्ता दिवंगत आत्माको सम्झना गर्नुपर्छ।''

प्रतिकृया दिनुहोस