एसएमएसले जोगायो १५० जनाको ज्यान
गत हप्ता कनकाई नदीमा आएको बाढी गाउँ पसेपछि झापा गाउँपालिकाका ७ जनाले ज्यान गुमाए । दुई जना अझै बेपत्ता छन् ।
झापा जिल्लाभर बाढीका कारण १३ जनाले ज्यान गुमाएका छन् । ज्यान गुमाउनेहरुमा सबैभन्दा बढी झापा गाउँपालिकाकै रहेका छन् । झापा गाउँपालिकामा मात्रै बाढीकै कारण सयौं बिगाहा खेतीयोग्य जमिन बगरमा परिणत भएको छ । माई र सानो माईको भङ्गालो गाउँ पसेपछि सिङ्गो झापा गाउँपालिका तीन दिन डुब्यो । गाउँपालिकाको ७ नम्बर वडा टप्पु गाउँ सबैभन्दा बढी प्रभावित क्षेत्र बन्यो ।
तर, सोही गाउँका ३२ परिवारका १५० जनाले भने एसएमएसका कारण ज्यान जोगाएका छन् । कनकाई नदीमा बाढी आउने सूचना दुई घण्टा अघि एसएमएसबाट थाहा पाएपछि सुरक्षित स्थानमा गएर ज्यान जोगाएको खोज तथा उद्धार कार्यदलका सदस्य सुनिल हस्दाले जानकारी दिए ।
युएसआइडीको आर्थिक सहयोग, प्राक्टिकल एक्सनको प्राविधिक सहयोग र नेपाल रेडक्रस सोसाइटीले सञ्चालन गरेको कनकाई बाढी पूर्व सूचना प्रणालीमार्फत बाढी आउने सूचना मोबाइलमा एसएमएस आएपछि टप्पुवासीले सुरक्षित स्थानमा गएर ज्यान जोगाएका थिए ।
उक्त क्षेत्रमा तीन वर्षअघिदेखि कनकाई बाढी पूर्व सूचनासम्बन्धी काम नेपाल रेडक्रस सोसाइटी झापाले गर्दै आएको छ ।
सुरेन्द्र भण्डारी, रासस