बाढीको पूर्व सूचना प्रणालीले कम क्षति
नदी किनारका स्थानीयवासीले बाढी पूर्व सूचना प्रणाली अनुसार साइरन बजाएपछि जोखिम स्थानका स्थानीयवासी सुरक्षित स्थानमा सरेका थिए ।
बबई नदीमा आउने बाढीबाट बर्दिया सदरमुकाम गुलरियालगायत ठाकुरबाबा, बारबर्दिया र मधुवन नगरपालिका वर्षेनि डुबानको जोखिममा हुन्छन् ।
२८ साउनदेखि तीन दिनसम्म बबई नदीमा पानीको सतह खतराको संकेत भन्दा माथि आएपछि यसपटक पनि ती ठाउँका स्थानीयको जीउज्यान जोखिममा थियो। तर स्थानीयलाई सुरक्षित स्थानमा सर्न जिल्ला प्रशासन कार्यालय र जिल्ला आपत्कालीन कार्य संचालन केन्द्रले पूर्व सूचना दिएपछि भने यस वर्ष अघिल्ला वर्ष जस्तो ठूलो क्षति हुन पाएन।
प्रमुख जिल्ला अधिकारी विष्णुबहादुर थापाले बाढी बस्ती पुग्नु पूर्व नै स्थानीयवासीलाई सुरक्षित स्थानमा सारिएका कारण ठूलो क्षति हुनबाट जोगिएको बताए।
नदी किनारका स्थानीयवासीले बाढी पूर्व सूचना प्रणाली अनुसार साइरन बजाएपछि जोखिम स्थानका स्थानीयवासी सुरक्षित स्थानमा सरेका थिए । २०७१ सालको बाढीबाट ठूलो जनधनको क्षति भएपछि पूर्व सूचना प्रणाली विकास गरिएको हो।
बर्दियाको बबई चेपांगमा बबईमा पानीको सतहले ६.१० मिटर तथा भादामा ८ मिटर पार गरेपछि खतराको संकेत नाघेको मानिन्छ। बबई चेपांगमा मापन गरिएको बाढी बस्तीसम्म पुग्न तीनदेखि ६ घण्टा लाग्छ। पूर्व सूचना पाएलगत्तै यही अवधिमा स्थानीयवासी सुरक्षित स्थानमा सर्छन्। बबई नदीमा बाढी पूर्व सूचनाका लागि सल्यानको घुयावारी, बबईको चेपांग र भादा पुलमा जलमापन मिटर जडान गरिएको छ।
बबई चेपांगमा २८ साउन राति पानीको सतह ९.७० मिटर पुगेको थियो। २९ साउनमा बढेर १० मिटर पुगेपछि सदरमुकाम गुलरिया र बारबर्दिया नगरपालिकाका धेरै स्थान डुबानमा परे। त्यही क्रममा ४ जनाको ज्यानसमेत गयो। करीब ११ हजार घरमा क्षति पुग्यो।
तीन वर्षअघि २८–३० साउनमा बबई चेपांगमा पानीको सतह १० मिटर पुग्दा ३२ जनाको ज्यान गएको थियो भने १३ जना बेपत्ता भएका थिए। नदीमा निर्माणाधीन नहरका संरचना सबै भत्किएका थिए भने पानीको सतह मापन यन्त्र बगाएको थियो।
बबई नदी किनारदेखि ७ किलोमिटर टाढा रहेका साबिकको बगनाहा र नेउलापुर गाविसका सबैजसो गाउँ डुबानमा परेका तथा करीब ३० हजार घर भत्किएका थिए।
पूर्व सूचना प्रणालीसँगैै ठाकुरबाबा नगरपालिकास्थित नदीमा नहर र बाँध निर्माण गरिएकोले यसपटक तीन वर्ष अघिकै जत्रो बाढी आउँदा पनि कम क्षति भएको खैलार गाउँका अमरबहादुर थापाले बताए।
यसपटकको बाढीले मानवीय क्षति कम भए पनि भौतिक संरचनाको विनाश भने गरेको छ। बाढीकै कारण जब्दीघाटमा पक्की पुल भत्किएको छ। उक्त पुलले सदरमुकाम गुलरिया र बारबर्दिया नगरपालिकालाई जोडेको थियो।
रु.१६ करोड ६८ लाखमा निर्माण भएको पुल संचालनमा आएको वर्ष दिन नपुग्दै भत्किएको हो। जिल्ला आपत्कालीन कार्य संचालन केन्द्रका सूचना अधिकृत रुपन ज्ञवालीका अनुसार करीब १० हजार घरमा क्षति पुगेको छ।
भावुक योगी, बर्दिया
सम्बन्धित समाचार
राजनीतिले निम्त्याएको विपत्