कला/साहित्यमंगलवार, भाद्र ६, २०७४

वर्णमालाका वाचस्पति

बच्चु विक

अंग्रेजीको प्रभावले नेपाली भाषाप्रतिको लगाव कम भइरहेका बेला भाषाविद् माधवप्रसाद पोखरेलले ६० वटा भाषाको वर्णमाला बनाएर देशलाई ठूलो गुन लगाएका छन्।

प्रा.डा. माधवप्रसाद पोखरेल ।                                   तस्वीरहरुः बिक्रम राई

घरमै बसेर (प्राइभेट) त्रिभुवन विश्वविद्यालयबाट नेपाली विषयमा स्नातकोत्तर गरेको १५ वर्षपछि २०४४ सालमा भारतको डेकन कलेज, पुणे पुग्दा माधवप्रसाद पोखरेलको एउटै लक्ष्य थियो, ध्वनि र वर्ण विज्ञानमा विद्यावारिधि। 'एक्सपेरिमेन्टल एनालाइसिस् अफ नेपाली साउन्ड सिस्टम' शीर्षकमा शोधपत्र तयार पार्न उनले घण्टौं कलेजको पुस्तकालयमा बिताउन थाले। भव्य पुस्तकालयको संसर्गमा उनी संसारका विभिन्न भाषाका ध्वनि र वर्ण अध्ययन गर्न थाले। 

सावित्रीबाई फुले पुणे विश्वविद्यालयबाट विद्यावारिधिको उपाधिसहित २०४६ सालमा नेपाल फर्केका पोखरेलले ३७ वर्ष त्रिभुवन विश्वविद्यालयमै अध्ययन–अध्यापन गरे। ६ वर्षअघि विश्वविद्यालयबाट अवकाश पाएर घर फर्किंदा उनको नामको अगाडि अर्को उपाधि जोडिएको थियो, प्राध्यापक। तर, यहाँसम्म आइपुग्दा ६९ वर्षीय पोखरेलसँग प्रा.डा. मात्र होइन, नेपाली र अन्य ६० भाषाका वर्णमाला निर्माताको उपाधि पनि छ। एक वर्षअघि मात्रै खालिङ राई भाषाको वर्णमाला तयार पारेका पोखरेल भन्छन, “पुणेको पुस्तकालय नधाएको भए, संसारका थरी–थरी भाषाको ध्वनि र वर्णबारे खुल्दुली हुने नै थिएन। यो त्यही बसाइकै प्रेरणा हो।”

ध्वनि संसार

विद्यावारिधि गरेर स्वदेश फर्किएको केही समयपछि पोखरेललाई कवि तिलविक्रम नेम्बाङ (वैरागी काइँला) ले झापाको आफ्नो गाउँ लगे, २०४९ मा। पन्ध्र दिन आफ्नै घरमा राखेर काइँलाले गाउँलेलाई आँगनमा भेला गराउँदै लिम्बू भाषाको वर्णमालाका लागि सामग्री तयार पार्न सघाए। पोखरेलले बनाएको पहिलो वर्णमाला लिम्बू भाषाकै थियो।

वर्ण विज्ञान सिद्धान्तले 'एउटै परिस्थितिमा अर्थमा फरक ल्याउने उच्चारण भेदलाई वर्ण भनिन्छ' भनेर परिभाषित गरेको छ। पोखरेलले पनि उपकरणहरू प्रयोग गरेर नेपाली वर्णहरू उच्चारण गर्दा निस्कने ध्वनिको प्रयोगात्मक विश्लेषण गरेका थिए। “उच्चारण गर्दा निस्किने ध्वनिको तरङ्ग फरक–फरक हुन्छ, त्यही तरङ्गको विश्लेषण गरेर वर्ण छुट्याइन्छ”, पोखरेल भन्छन्। उनले त्यही वैज्ञानिक पद्धति अपनाएर नेपाली र अन्य ६० भाषाका वर्णमाला तयार पारेका हुन्। (हे. तालिका)

२५ वर्षअघि लिम्बू भाषाबाट शुरु भएको उनको वर्णमाला यात्राले व्यासी, राना थारु, डगौरा, राजवंशी, धिमाल, राउटे, चेपाङ, वाम्बुले (उम्बुले) राईसँगै भोजपुरी, वञ्जिका, जुम्लीसम्म पनि पुगिसकेको छ। यी वर्णमाला बनाउन गाउँ–गाउँ पुगेका उनी सबैभन्दा गाह्रो वाइङ राई र वाम्बुले राई भाषामा वर्णमाला बनाउँदा भएको बताउँछन्। “वाइङ राई भाषामा 'ई' पनि दुई प्रकारले उच्चारण हुन्छ भने वाम्बुले भाषामा ओठ र जिब्रो चुसेर वर्ण उच्चारण हुन्छ, त्यो छुट्याउन साह्रै गाह्रो भयो”, पोखरेल भन्छन्।

भारोपेली मूलबाट आएका आर्य, आग्नेय र द्रविड भाषा अन्तर्गतका भाषाहरूको वर्णमाला बनाउन उनलाई खासै गाह्रो भएन। किनभने यी नेपाली भाषासँगै मिल्दाजुल्दा थिए। अन्तर्राष्ट्रिय ध्वनि वर्णमाला (आईपीए) अध्ययन गरेका पोखरेल जब तराई, पहाड हुँदै हिमालतिर उक्लिन थाले, त्यसपछि भने सकस पर्‍यो। भोट बर्मेली भाषा अन्तर्गतका ती भाषाबारे बुझ्न चिनियाँ भाषा अध्ययन गर्नु आवश्यक थियो। त्यसका लागि उनी एक वर्षसम्म चीन बसे। उनी भन्छन्, “चिनियाँ भाषामा 'क' को उच्चारण दुई प्रकारले हुन्छ, एउटै उच्चारण अनुसार एउटै 'मा' बाट चारवटा अर्थ लाग्छ।” चिनियाँ भाषामा 'च' मूर्धन्य हुँदा अर्थ्याउन गाह्रो हुने उनी बताउँछन्। लिम्बू भाषामा 'ग' र 'घ' वर्ण हुदैन, त्यसैले 'गर' को उच्चारण 'कर' र 'घर' को उच्चारण 'खर' भनेजस्तो हुने र सुनिने उनी बताउँछन्। 

पोखरेलका भनाइमा, केही भाषाका वर्णको उच्चारण अनौठो पनि लाग्छ। कुसुण्डा भाषामा जिब्रो, घाँटी र ओठले उच्चारण गर्दा एउटै शब्दको पनि फरक–फरक अर्थ दिन्छ। खालिङ, थुलुङ, शेर्पा, मगर खाम, व्यासी, सुनुवार भाषामा पनि यस्तै हुन्छ। उनी भन्छन्, “गाउँका बालबालिकादेखि बूढापाकासम्म भेला गर्छु, पटक–पटक सोध्छु, सुन्छु, फेरि सोध्छु, आइहाल्छ।”

अथक्, अविरल

सुनसरीको धरानस्थित धरान पब्लिक हाइस्कूल (हालको धरान उमावि) बाट २०२१ सालमा एसएलसी उत्तीर्ण गरेका पोखरेलले प्राइभेटबाटै गणित, नेपाली र अर्थशास्त्र विषय लिएर प्रवीणता प्रमाणपत्र तह उत्तीर्ण गरे। धरानकै महेन्द्र बहुमुखी क्याम्पसबाट नेपाली र अर्थशास्त्रमा स्नातक गरे। स्नातकोत्तरका लागि काठमाडौं आए। र, २०२८ सालमा प्राइभेटबाटै नेपाली र संस्कृति विषयमा स्नातकोत्तर उत्तीर्ण गरे।

स्नातकपछि आफू पढेकै धरान पब्लिक हाइस्कूलमा तीन वर्ष पढाएका उनले स्नातकोत्तरपछि महेन्द्र बहुमुखी क्याम्पसमा प्राध्यापन गर्न थाले। केन्द्रीय प्रविधि क्याम्पस, हात्तीसारमा पनि १२ वर्ष पढाए। त्यसपछिका १२ वर्ष भने उनले त्रिवि नेपाली केन्द्रीय विभाग, कीर्तिपुरमा बिताए। त्रिविमा २०५४ मा उनकै नेतृत्वमा भाषा विज्ञान विभाग खुल्यो।

६ वर्षअघि सेवानिवृत्त पोखरेल यतिबेला त फुर्सदमा हुनुपर्ने हो। तर, उनको दिनरात भाषाकै चक्करमा बित्छ। यसबाहेक विद्यावारिधिका विद्यार्थीलाई 'गाइड' गर्ने र विदेशका विश्वविद्यालयमा 'भिजिटिङ प्रोफेसर' का रुपमा पनि अध्यापन गराउँदै आएका छन्। भन्छन्, “पहिले थोरै पढ्थें, धेरै लेख्थें। अहिले धेरै पढ्छु, थोरै लेख्छु।”

केही समयअघि खस जातिको विषयमा पत्रिकाका लागि लेख तयार पार्न उनी अध्ययनमा जुटेका थिए। अध्ययन यति गहिरियो कि, सात महीना बित्दा पनि लेख निस्किएन। “एउटा लेखले भ्याउँदैन भनेर पुस्तक नै लेखिरहेको छु”, उनी भन्छन्।

पाश्चात्य समालोचनाको सिद्धान्तमा व्यस्त छन, जुन वर्षदिनभित्र प्रकाशन हुनेछ ।  पुणे पुस्तकालयले उनलाई ध्वनि र वर्ण विज्ञानसँग मात्रै नजिक बनाएन, भाषा सिक्ने लत पनि बसायो। प्रतिफल, उनी अहिले अंग्रेजी, हिन्दी, संस्कृत, जापानी, चिनियाँ, पाली, कुसुण्डा, सिंहाली, कन्नड, तामिललगायतका १३ भाषा बुझ्ने मात्र होइन पढाउन पनि सक्छन्। तैपनि उनलाई कमी खट्किरहन्छ। “दिन ३६ घण्टाको भइदिए हुन्थ्यो भन्ने लाग्छ। धेरै काम गर्नै बाँकी छ”, पोखरेल भन्छन्।

पोखरेलले बनाएका वर्णमाला

भोट बर्मेली भाषा
१) लिम्बू २) चाम्लिङ ३) मेचे ४) शेर्पा ५) तामाङ ६) सुनुवार ७) सुरेल ८) याम्फु ९) मगर ढुट १०) मगर खाम ११) मगर काइके १२) व्यासी १३) पहरी १४) दुरा १५) थकाली १६) उम्बुले वाम्बुले १७) याक्खा १८) छत्थरे लिम्बू १९) बान्तावा २०) कुलुङ २१) खालिङ २२) साम्पाङ २३) मेवाहाङ २४) भुजेल २५) दुमी २६) बाहिङ २७) ह्लोमी २८) गुरुङ २९) घले ३०) राजी ३१) लोरुङ ३२) चेपाङ ३३) राउटे ३४) आठपरिया ३५) धिमाल ३६) थुलुङ ३७) हायु ३८) जिरेल ३९) थामी ४०) चितौनिया थारु।

भारोपेली आर्य भाषा
१) नेपाली २) जुम्ली ३) अछामी ४) बैतडेली ५) वज्जिका ६) माझी ७) चुरौटे (मियाँ) ८) राजवंशी ९) राना थारु १०) डगौरा थारु ११) दनुवार १२) दराई १३) मारवाडी १४) डोट्याली १५) मालपाँडे १६) भोजपुरी।

आग्नेय भाषा
१) सन्ताल/सन्थाल २) खडिया

द्रविड भाषा
१) उराउँ/उराँव/झाँगड/धाँगर

अज्ञात परिवार
१) कुसुन्डा

प्रतिकृया दिनुहोस