संविधान संशोधन विधेयक अस्वीकृत
प्रदेश सिमाकंनको हेरफेर गर्नेगरी सरकारले ल्याएको संविधान संशोधन विधेयक अस्वीकृत भएको छ ।
दफावार छलफलपछि आज व्यवस्थापिका संसद्मा निर्णयार्थ पेश गरिएको विधेयकमा आवश्यक दुई तिहाइ मत पुग्न नसकेपछि अस्वीकृत भएको हो ।
संशोधन विधेयक पारित हुन संसद्मा कायम संख्याको दुई तिहाई पुग्नुपर्ने प्रावधान छ । संसद्मा हाल ५९२ जना सांसद् छन् । त्यसको दुई तिहाई ३९५ मत हुनुपर्नेमा पक्षमा ३४७ र विपक्षमा २०६ मत परेको थियो । विधेयक पारित हुन ४८ मत पुग्न सकेन ।
संशोधनको पक्षमा सत्तारूढ नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनता पार्टी नेपाल, नेपाल लोकतान्त्रिक फोरमलगायतले मत दिएका थिए ।
त्यस्तै नेकपा एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय जनमोर्चा लगायतले विपक्षमा मत दिएका थिए ।