बाढीः आफैंले निम्त्याइएको कहर
अव्यवस्थित बसोबास, बेढंगका विकास संरचना र भारततर्फ दशगजामा बनेका अग्ला सडकका कारण पानीले सहज निकास नपाउँदा बाढीको कहर निम्तियो ।
२७–२८ साउनको भारी वर्षाबाट साना खोलाहरू पनि बाढीले भरिंदा पूर्वी नेपालका ८ जिल्लामा ४७ जनाको ज्यान गयो, १४ जना बेपत्ता छन् । ३८९ घर बगे भने ३३ हजार ७०६ घर डुबानमा परे । ३३ हजार ७३९ जना विस्थापित भए । बाढी कम हुँदै जाँदा विस्थापितहरू घर फर्कन थाले पनि आधासरो अझै पनि सडक किनार, नहरका डिल, अग्ला ठाउँका चौर, विद्यालय र क्याम्पसहरूमा बसेका छन् ।
मोरङभर ८ हजार ५०० घर डुबानमा परेका थिए । त्यसबाट ११ हजार ८६० जना विस्थापित भएका थिए । सिंघिया खोलाको बाढी पसेपछि मोरङ कारागारका कैदी–बन्दी रातभर पानीमा उभिएर बसेका थिए । जिल्ला दैवीप्रकोप उद्धार समिति र गैर–सरकारी संघसंस्थाले पनि डुबान क्षेत्रहरूमा राहत वितरण गरिरहेका छन् । तर, राहत अपर्याप्त भएको पीडित र स्वयंसेवीहरूको भनाइ छ । मोरङका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्य राहत वितरणमा कोही नछुटुन् र वास्तविक पीडितले पाउन् भनेर काम गरिरहेको बताउँछन् ।
पूर्व क्षेत्रीय प्रहरी कार्यालयका अनुसार, मोरङमा २२ जनाको शव फेला परेको छ । २८ साउनमा बाढीले बगाएका विराटनगरका तीन जनाको शव सीमापारि जोगवनीमा भेटिएको छ । जोगवनी थानाले मंगोल अनुहारको उक्त शव नेपालीको भएको अनुमान गरेको छ । पूर्वतर्फको सिंघिया र पश्चिमको केशलिया खोलाको बाढी विराटनगरमा पसेको थियो ।
त्यस्तै, सुनसरीमा १२ को मृत्यु भयो भने पाँच बेपत्ता छन् । १३ हजार घर डुबानमा पर्नुका साथै १६ हजार विस्थापित भए । झपामा ११ जनाको ज्यान गयो भने दुई जना बेपत्ता छन् । झपामा विस्थापितको संख्या १८१ रहेको प्रहरीले जनाएको छ । त्यस्तै, पाँचथरमा दुईको मृत्यु, तीन बेपत्ता र १५ घर क्षतिग्रस्त भएका छन् ।
इलाममा एकको मृत्यु भएको छ भने उदयपुरमा दुईको मृत्यु हुनुका साथै ४७० घर डुबानमा परेका छन् । सप्तरीमा एकको मृत्यु, एक बेपत्ता, २५ घर क्षतिग्रस्त भएका छन् भने तीन हजार ६९० घर डुबानमा पर्नुका साथै पाँच हजार २१६ जना विस्थापित भए । सिरहामा ४८२ जना विस्थापित भएका छन् ।
जिल्ला दैवीप्रकोप उद्धार समिति मोरङले चार दिनमा दुई हजार क्वीन्टल चामल राहत वितरण गर्यो । चामलसँगै त्रिपाल, चिउरा, भुजा, झ्ुल, कम्बललगायतका सामग्री वितरण गरिएको सहायक प्रमुख जिल्ला अधिकारी शेषनारायण पौडेलले बताए । मोरङ प्रशासनले ३१ साउनमा काठमाडौंबाट हेलिकप्टर मगाएर सप्तरीका डुबान क्षेत्रमा पनि खाद्यान्न पठाएको उनले बताए ।
२८ साउनको राति विद्युत् वितरण केन्द्र दुहबीमा पानी पसेपछि बन्द भएको बिजुली अझ पनि सबैतिर सुचारु हुनसकेको छैन । ढलेका पोलहरू उठाएर मर्मत गर्ने काम भइरहेको छ । बिजुली नभएपछि मोरङ र सुनसरीमा २८ साउनबाटै टेलिफोन सेवा पनि बन्द भएको थियो । मोबाइल फोन चार्ज गर्न नपाएर बाढीपीडितहरूले फोन गर्न पाएनन् । बाढी पसेर बन्द भएको विराटनगर विमानस्थल २ भदौबाट मात्र संचालनमा आएको छ ।
मोरङका प्रमुख जिल्ला अधिकारी आचार्य खोला किनारका अव्यवस्थित बसोबास, पाँच धुर जमीनमा पनि घर–कम्पाउण्ड र सीमापारि भारततर्फ दशगजामा अग्लो सडक बनाइएकाले पानीले सहज निकास नपाउँदा कहर निम्तिएको बताउँछन् । शहरमै बाढी पसेपछि जताततै बनेका पर्खाल र पाइप नराखिएका सडकहरू भत्काउन शक्ति परिचालन गर्नुपरेको उनले बताए । उनी भन्छन्, “अब स्थानीय तहहरूले गुरुयोजना बनाएर मात्र बसोबास र विकासका संरचनाहरू बनाउनुपर्छ ।”
कमल रिमाल, विराटनगर
सम्बन्धित समाचार
राजनीतिले निम्त्याएको विपत्