आजदेखि इम्बोसड नम्बर प्लेट शुरु
सरकारले आजदेखि सवारी साधनमा हाई सेक्युरिटी इम्बोसड नम्बर प्लेट राख्न शुरु गरेको छ ।
सवारीसाधनको व्यवस्थापनलाई सहज बनाउन अन्तर्राष्ट्रिय मापदण्डका सूचकांकको प्रयोग गरेर इम्बोसड नम्बर प्लेट शुरु गरिएको हो ।
पहिलो चरणमा इम्बोसड प्लेट सरकारी सवारी साधनमा प्रयोग गरिने यातायात व्यवस्था विभागले जनाएको छ ।
इम्बोसड प्लेटका लागि यातायात व्यवस्था विभागले अमेरिका र बंगलादेशको संयुक्त डेटाटोर टाइगर आइटी कम्पनीलाई ठेक्का दिएको छ ।
इम्बोसड नम्बर प्लेटमा एल्मुनियम तथा विद्युतीय चिप्स प्रयोग गरिएको छ ।
यातायात व्यवस्था विभागकाअनुसार सरकारी सवारीमा सेतो प्लेटमा रातो अक्षर, सार्वजनिक सवारीमा पहेँलो प्लेटमा कालो अक्षर, निजी सवारीमा सेतो प्लेटमा कालो अक्षर तथा कूटनीतिक सवारीमा सेतो प्लेटमा निलो अक्षर रहने छ ।
इम्बोसड नम्बरसँगै नेपालमा हाल प्रयोग भइरहेका विभिन्न २३ प्रकारका नं प्लेट अब पाँच प्रकारमा सीमित हुने भएका छन् ।
इम्बोसड प्लेट प्रयोग गर्नको लागि ठूला सवारीले रु तीन हजार ६००, कार तथा जीपले तीन हजार २०० र मोटरसाइकलले दुई हजार ५०० शुल्क तिर्नुपर्नेछ ।