‘चुनाव नभए भोकै परिन्थ्यो’
रौतहटका बाबर हुसेन १ भदौमा राहत सामग्री लिन लाइनमा लाग्दा पनि हिक्कहिक्क गरिरहेका थिए । २९ साउनमा बरहवाको बाढीले बगाएका उनका माहिला छोरा २४ वर्षीय समीर देवानको शव ३० साउनमा हिलोमा गाडिएको अवस्थामा फेला परेको थियो ।
बाढी र डुबानका कारण रौतहटमा १६ जनाको मृत्यु भएको छ, तीन जना अझै फेला परेका छैनन् । “घरको सबै सामान बग्यो” सँगै रहेका बाबर हुसेनका छिमेकी रामरतन राय यादवले भने, “धन्न चुनाव आउँदैछ र केही नेताहरूले राहत वितरण गर्दैछन्, नभए भोकभोकै परिन्थ्यो ।”
उनले बाढी र डुबानमा परेको तीन दिनसम्म पनि सरकारका प्रतिनिधिले सोधखोज नगरेको गुनासो पनि गरे । बाढीले रौतहटमा रु.२ अर्बभन्दा बढीको क्षति भएको छ । जिल्ला दैवीप्रकोप उद्धार समितिका अनुसार रौतहटका १३ गाउँपालिका र दुई नगरपालिका डुबानमा परे । शुक्रबारसम्म पनि जिल्लाको पूर्वी र दक्षिणी भाग डुबेकै छ ।
प्रमुख जिल्ला अधिकारी उद्धवबहादुर थापाका अनुसार गौरमा रहेका सरकारी कार्यालयका सामान र कागजपत्र भिजेर नष्ट भएका छन् । जिल्ला निर्वाचन कार्यालयमा रहेका निर्वाचन सामग्री पनि सबैजसो काम नलाग्ने भएका छन् । गौरका व्यापारी गोपाल अग्रवाल १५ वटा गोदाममा भण्डारण गरेको चामल, गहुँ र दाल भिजेर कामै नलाग्ने भएको बताउँछन् । “मेरो मात्रै ८० लाखभन्दा बढीको क्षति भएको छ, सबैका पसलमा सामान नष्ट भएका छन्” उनले भने ।
सडक, धर्मशाला, स्कूल र चौरमा बसेका बाढीपीडितहरू उद्धार र राहतमा ढिलाइ भएको बताउँछन् । घरमा अन्न डुबेर काम नलाग्ने भएपछि कतिले खान पाएका छैनन् । रौतहटका प्रमुख जिल्ला अधिकारी थापाको आफ्नै पिरलो छ । बाढीले सडक सञ्जाल ध्वस्त पारेकोले राहत पु¥याउन कठिन परिरहेको उनले बताए । विस्तारै पानी कम हुँदै जाँदा पनि सरकारले ३० साउनसम्म सदरमुकाम गौर बाहेक अन्य ठाउँमा राहत वितरण गर्न सकेको थिएन । बरु दलहरूका स्थानीय नेता–कार्यकर्ता विभिन्न ठाउँमा भुजा, चिउरा र सक्खर वितरण गरिरहेका थिए ।
छिमेकी पर्सामा दुई भारतीय नागरिक र एक नेपालीको मृत्यु भएको छ भने एक जना बेपत्ता छन् । वीरगञ्जदेखि पोखरिया, लङ्गडी, मसिहानी र गण्डकदेखि जानकी टोलसम्मको अधिकांश सडक बाढीले बगाएको छ । पर्साका प्रमुख जिल्ला अधिकारी केशवराज घिमिरेका अनुसार स्थानीय स्तरबाट प्राप्त र सरकारले उपलब्ध गराएको राहत सामग्री वितरणका लागि चार वटा टोली खटाइएको छ । तर, सडक सञ्जाल अवरुद्ध हुँदा राहत र उद्धारमा समस्या भएको पर्साका प्रहरी नायव उपरीक्षक चक्रबहादुर जोशीले बताए ।
स्थानीय खोलामा आएको बाढी, विभिन्न उद्योगले जलाधार क्षेत्र अतिक्रमण गरी बनाएका संरचना र भारतले विहारको वाल्मीकिनगरमा निर्माण गरेको बाँध साथै सीमा क्षेत्रमा पानीको बहाव रोक्ने गरी बनाइएका सडकले पर्सा डुबानमा परेको हो । डुबानबाट पर्सामा करीब ४० प्रतिशत धानबालीमा क्षति पुगेकोे जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।
जियालाल साह, वीरगञ्ज
सम्बन्धित समाचार
राजनीतिले निम्त्याएको विपत्