आज कुशे औँसी तथा बाबुको मुख हेर्ने दिन
प्रत्येक वर्ष भदाै कृष्ण औँसीका दिन मनाइने बाबुको मुख हेर्ने पर्व आज देशभर पितालाई विशेष सम्मान गरी मनाइँदैछ ।
आज पिताप्रति आदर सम्मानका साथ मीठो खान तथा राम्रो लगाउन दिई बाबुको मुख हेर्ने चलन छ ।
यस वर्षको भदाै कृष्ण औँसी सोमबार परेकाले बिहान उठेर नबोलीकन स्नान गरेमा एक हजार गाई दान गरे बराबरको फल पाइने धर्म ग्रन्थ हेमाद्रिमा वर्णन गरिएको नेपाल संस्कृत विश्वविद्यालय वाल्मीकि विद्यापीठ धर्मशास्त्र विभागका अध्यक्ष प्रा. देवमणि भट्टराईले जानकारी दिए ।
यसैगरी आज दिवंगत पिताका नाममा काठमाडौंको गोकर्णेश्वरमा गई तर्पण, सिदा दान र श्राद्ध गरेमा पितृ ऋणबाट मुक्त भइने शास्त्रीय मान्यता रहेको नेपाल पञ्चांग निर्णायक समितिका अध्यक्ष एवं धर्मशास्त्रविद् प्रा. रामचन्द्र गौतमले जानकारी दिए ।
‘पितृदेवो भव’ अर्थात् जन्म दिने बाबुलाई देवता समान मान भन्ने धार्मिक मान्यताका आधारमा आज छोराछोरीले पितालाई विशेष सम्मान गर्छन् ।
त्यस्तै आजकै दिन वर्षभर देवकार्य, पितृकार्यलगायत धार्मिक कर्म गर्नका लागि आवश्यक पर्ने कुश उखेलिन्छ ।
हिन्दूहरुले कुश, तुलसी, पीपल र शालिग्रामलाई भगवान् विष्णुको प्रतीक मान्दछन् । रासस