मोरङ: बाढीमा उन्नाइस करोडको माछा बगे
एक हप्ताअघि परेको लगातारको वर्षासँगै आएको बाढीका मोरङका माछापोखरीमा पसेपछि रु १९ करोड मूल्य बराबरको माछा बगाएको छ ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत मोरङका विभिन्न स्थानमा सञ्चालन भएका पोखरीमा बाढी पस्दा उक्त क्षति भएको परियोजना कार्यान्वयन इकाइ प्रमुख प्रमोद रिजालले जानकारी दिए ।
रिजालका अनुसार निर्माण गरिएको पोखरी, उत्पादन गरिएका भुरा, बिक्री गर्ने तयारी गरिएका माछा बगाउँदा १९ करोड मूल्य बराबरको क्षति भएको हो ।
मोरङको रंगेली नगरपालिका क्षेत्रका पोखरीमा कृषकले पालेको माछा पोखरीमा पानी थपिएपछि माछा बगेका हुन् । रंगेलीका पोखरीबाट १२ करोड मूल्य बराबरको माछा र पोखरीमा क्षति पुगेको छ ।
कटहरी गाउँपालिकामा सञ्चालित परियोजनामा तीन करोड, धनपालथान गाउँपालिकामा दुई करोड ५० लाख र पथरी शनिश्चरे नगरपालिकामा ५० लाख बराबरको माछामा क्षति पुगेको परियोजना प्रमुख रिजालको भनाइ छ ।
रासस