यतिले शुरु गर्यो एटिआर विमानबाट व्यावसायिक उडान
पहिलोपटक एटिआर ७२–५०० विमान भित्र्याएको यति एयरलाइन्सले व्यावसायिक उडान शुरु गरेको छ ।
एटिआरमार्फत व्यावसायिक उडान नेपालगञ्जबाट शुरु गरेको कम्पनीले जनाएको छ ।
निजी वायुसेवा कम्पनी यतिले कल साइन नाइन–एएमएन ७२ सिटे विमान रु एक अर्बको लगानीमा ७ साउनमा काठमाडौँ ल्याएको थियो ।
फ्रान्सको विमान निर्माता कम्पनी एटिआरमा निर्मित उक्त विमान सिंगापुरको कम्पनी नर्डिक एभिएसन क्यापिटलसँग खरिद गरिएको थियो । यो विमानले विराटनगर, भैरहवा, नेपालगञ्ज र भद्रपुर उडान भर्ने यतिले जनाएको छ ।
यतिसँग एटिआरसहित सातवटा विमान छन् । यतिले बेलायतमा निर्मित ३० सिट क्षमताको जेटस्ट्रिम–४१ सिरिजका छ थान जहाज सञ्चालन गरिरहेको छ ।
यति एयरलाइन्सले एक वर्षभित्र थप दुई एटिआर विमान ल्याउने जनाएको छ । रासस