टिप्पणीशनिवार, भाद्र ३, २०७४

असरल्ल कपिलवस्तु

वसन्त महर्जन

नेपालले लुम्बिनी, कपिलवस्तुलगायतका बौद्ध स्थलहरूको विकास र अन्तर्राष्ट्रिय प्रवर्धनमा भारतको सिको गर्नै पर्छ ।

तस्वीरहरुः बसन्त महर्जन

लुम्बिनीपछि महत्वपूर्ण बौद्ध गन्तव्यको रूपमा विकास गर्न सकिने प्राचीन कपिलवस्तु खोज्न बाँकी नै छ। प्राचीन कपिलवस्तुको पुरातात्विक भग्नावशेष तौलिहवाबाट तीन किलोमिटर उत्तर तिलौराकोटमा छ । अन्यत्र भन्दा बढी संरक्षित मानिने यो स्थल प्रायः रूख–बिरुवा र घाँसले छोपिएको हुन्छ। असरल्ल अवस्थामा देखिने ईंटाबाट बनाइएका भवनका अवशेषहरूले महत्वपूर्ण नभएर सम्बन्धित निकायले बेवास्ता गरेको होला भन्ने सन्देश प्रवाह गरिरहेको छ। चार किल्लाका पर्खालले बटुवाहरूलाई बाटोको सेवा दिएको छ। 

पुरातात्विक महत्वका ईंटाका संरचनाको सुरक्षार्थ त्यसको माथिल्लो भागमा नयाँ ईंटा छापिएको छ। त्यसलाई पनि बाटोकै रूपमा प्रयोग गरिएको छ । लुम्बिनी विकास कोषले वास्तु अवशेषमाथि नचढ्न अनुरोध गरेको सूचनापाटी राखेर दायित्व पूरा गरेको छ। त्यही सूचनापाटीलाई पनि केरमेट गरेर विकृत पारिएको  छ।

गाउँलेले नै होला, तारबार लगाएको पर्खाल फोडेर बाटो बनाएका छन् । भग्नावशेषको स्थिति हेर्दा बुद्ध, बौद्ध धर्म र इतिहास–पुरातत्वप्रति सचेत जो–कोहीको मन कटक्क खान्छ।

कपिलवस्तु पुग्ने पर्यटक वा जिज्ञासुलाई देखाउन लायक अर्को स्थल निग्लिहवा गाउँको अशोक स्तम्भ हो । कनकमुनि बुद्धसँग सम्बन्धित निग्लिहवामा मौर्य सम्राट अशोक पनि पुगेका थिए। त्यसबेला अशोकले जीर्णोद्धार गराएको प्राचीन स्तूप अहिले देख्न पाइँदैन, अशोक स्तम्भमा उल्लेख भएकाले त्यो थियो भन्ने जानकारीसम्म हुन्छ। दुई टुक्रा भएर भुईंमा ढलेको शिलास्तम्भ आफैं पनि असुरक्षित अवस्थामा छ। स्तम्भ छेउमा केही वर्षअघि कनकमुनि बुद्धको भन्दै राखिएको शिलामूर्तिलाई पनि नाक भाँचेर विरूप पारिएको छ।

भाँचिएर फेदको भाग मात्रै बाँकी रहेको अर्को अशोकस्तम्भ गोटिहवा गाउँमा छ। अघिल्लो बुद्ध क्रकुच्छन्दसँग सम्बन्धित यो स्थलमा मौर्य सम्राट अशोकले के–कस्तो काम गरे भन्ने खुल्दैन। अशोकस्तम्भ भने चिनियाँ यात्रीहरू गोटिहवा पुगेको बेला सग्लै रहेको बुझिन्छ। उनीहरूले नै यस स्थललाई क्रकुच्छन्द बुद्धसँग सम्बन्धित भनेर चिनाएका हुन्।

स्तम्भभन्दा अलि परको माटोको ढिस्कोमा केही वर्षअघि भएको उत्खनन्ले त्यो स्तूप नै रहेको प्रमाणित गरेको थियो। सामान्य तारबार लगाएको भए पनि मानिसहरू त्यसबाटै भित्र–बाहिर गरिरहेका देखिन्छन्। सुरक्षा–संरक्षणको कुनै प्रबन्ध नगरिएकाले वर्षात्मा पूरै पुरातात्विक्थल डुबानमा पर्छ भने हिउँदमा उजाड र उपेक्षित रहन्छ।

कोशलका राजा विडूडभको आक्रमणमा ७० हजार कपिलवस्तुवासी मारिएको स्थल भनिएको सगरहवा र बुद्ध आउँदा बस्ने विहार मानिएको कुदान, धम्निहवा, अरौराकोट आदिलाई बौद्धस्थल भनी चिनाउने गरिन्छ। यी जम्मैलाई समेटेर बौद्ध परिपथ बनाउने योजनाले मूर्तरूप लिनसकेको छैन। लुम्बिनी आउने पर्यटकहरू कपिलवस्तु नजाँदा स्थानीयवासी खुशी रहने कुरै भएन, तर सम्बन्धित निकायहरू कपिलवस्तुको पनि भ्रमण गर्नुहोस् भन्ने आह्वानमा सीमित छन्। 

महत्वपूर्ण बौद्धस्थलहरूको भ्रमण गर्न आह्वान गर्नेले ती स्थलहरूमा बाटोघाटोलगायतको असुविधा तथा सुरक्षामा ध्यान दिएका छैनन्। तौलिहवा बजारमा रात बिताउने होटलहरू त खुलेका छन्, तर धार्मिक पर्यटनका हिसाबले आउनेहरू त्यहाँ विरलै बस्छन् । कपिलवस्तु पुग्ने थोरै पर्यटक त्यही दिन फर्केर लुम्बिनी, भैरहवा वा अन्यत्र लाग्छन्। बौद्ध स्थलहरूको संरक्षण, सम्वर्धन र प्रवर्धन नहुँदा कपिलवस्तु ओझेलमा छ। स्थानीय जनताले आफ्नो थलो अन्तर्राष्ट्रिय बौद्धस्थल हुनुको फाइदा पाएका छैनन्।

लुम्बिनी गुरुयोजना पूरा भएपछि चार संवेजनीय स्थल (लुम्बिनी, बोधगया, सारनाथ र कुशीनगर) मध्ये सबभन्दा आकर्षक हुने लुम्बिनी नै हो। अहिले चाहिं लुम्बिनीमा आगन्तुकको संख्या अन्य तीन संवेजनीय स्थलमा भन्दा कम छ । भारततिरको तीन संवेजनीय स्थलमा पर्यटन उद्योग फस्टाएको छ।

लुम्बिनीमा आगन्तुकको बसाइ अवधि कम हुँदा पर्यटन क्षेत्रले उल्लेख्य फाइदा लिनसकेको छैन। भारतले संवेजनीय स्थलहरूलाई केन्द्र बनाएर अन्य स्थलहरूको विकास गरेको छ। नेपालले पनि लुम्बिनीलाई केन्द्रमा राखेर कपिलवस्तुलगायतका बौद्ध स्थलहरूको विकास नगर्ने हो भने लुम्बिनीको अवस्थामा योभन्दा सुधार आउने देखिन्न।

प्रतिकृया दिनुहोस