ब्लगशनिवार, भाद्र ३, २०७४

अमूल्य स्तनपान

डा. सुमनराज ताम्राकार

शिशुहरूको जीवनको लागि आमाको दूधको न तोक्न सकिने कुनै मूल्य छ न त विकल्प ।

कतिपय आमाहरूले आफ्ना शिशुलाई स्तनपान गराउने समय भरसक छोट्याउन चाहेको देखिन्छ। यसमा निष्ठुरता होइन, पेशागत अप्ठ्यारादेखि आँखै सामने रहेका विकल्पहरूले उत्प्रेरित गरेको छ। बजारमा अहिले शिशुहरूका लागि दूधलगायत विभिन्न मूल्यका अनेक थरी कृत्रिम आहारहरू उपलब्ध छन्।

शिशुहरूलाई पानी मिसाएर गाई–भैंसी र बाख्राको दूध खुवाउने चलन पनि छँदैछ। यीमध्ये पनि बढी गाईको दूध खुवाउने चलन छ। तर, यी चिजहरूलाई आमाको दूधको दाँजोमा राख्न मिल्दैन। 

गाईको दूधमा हुने ल्याक्टोज, प्रोटिन र सोडियम आमाको दूधमा पाइने भन्दा निकै भिन्न हुन्छ। शिशीको दूध त जतिसुकै महँगो भए पनि शिशुलाई झ्ाडापखाला वा कब्जियत गराउँछ। आमाको दूध सदा तयारी अवस्थामा, प्रायः निर्मलीकृत (कीटाणुरहित) र उपयुक्त तापक्रममा हुन्छ। आमाको दूध नवजात शिशुले सजिलै पचाउँछ। नवजात शिशुका अङ्गमैत्री र विभिन्न सरुवा रोगसँग लड्न सक्ने क्षमतायुक्त हुन्छ आमाको दूध। स्तनपान धेरै झ्न्झ्टिलो पनि हुँदैन।

स्तनपानले बच्चाको दिसा गिलो बनाउने, एलर्जी रोक्ने, आमा र शिशुबीच वात्सल्य स्थापित गरिरहेको हुन्छ। स्तनपान गराइएका शिशुमा चाक राताम्य हुने गरी पाक्ने, खटिरा आउने, झाडापखाला लाग्ने जस्ता समस्या पनि कम हुन्छन् ।

यसका अलावा स्तनपान गरिएका शिशुहरूमा पछि मोटोपना, मधुमेह र एक्कासी मृत्यु हुने 'सिन्ड्रोम' पनि कम पाइएको छ। पर्याप्त स्तनपान गर्न पाएका शिशुहरूमा आवश्यक मात्रामा गिदीको विकास र सुन्ने, हेर्ने तथा सिक्ने क्षमतामा बढोत्तरी हुनुको साथै व्यक्तित्व प्रदर्शन एवं स्मरण क्षमता पनि उच्च हुने विभिन्न अनुसन्धानले बताएका छन्।

आमाको दूधमा चिल्लो पदार्थका आकार पनि स–साना हुन्छन् भने प्रोटिनमा शिशुले सजिलै पच्ने ल्याक्टल्बुमिन र ल्याक्टोग्लोबुलिन हुन्छन्। कार्बाेहाइड्रेटमा पनि बढ्ता अंश ल्याक्टोजको हुन्छ, जसले लाभदायक सूक्ष्म जीवाणु वृद्धि गराई भिटामिन 'बी' उत्पादनमा मद्दत गर्छ। आमाको दूधमा पोटासियम, क्याल्सियम, सोडियम र क्लोराइडलगायतका लवण पदार्थ सही मात्रामा हुने भएकोले नवजात शिशुको अपरिपक्व मिर्गौलालाई बोझ् पर्दैन।

आमाको दूधमा हुने भिटामिन 'डी' ले बच्चालाई रिकेट्सबाट बचाउँछ भने ल्याक्टोफेरिन, लाइसोजाइम र ल्याक्टोपेरोअक्सिडेजले पाचन प्रणालीमा संक्रमण हुन दिंदैन। आमाको दूधमा बच्चाको स्नायु प्रणाली विकास गर्ने ओमेगा फ्याटी एसिड हुन्छ।

यसले विभिन्न प्रकारका सरुवा रोगसँग लड्न सक्ने क्षमता दिलाउँछ। शिशु जन्मेको केही समयमै सुत्केरी आमाको स्तनमा बिगौती दूध उत्पादन हुन थाल्छ। हरेक आमाले आफ्ना शिशुको स्वास्थ्यका लागि कम्तीमा ६ महीना स्तनपान गराउनु अति राम्रो हुन्छ।

नेपालमा वर्षेनि करीब सात लाख शिशु जन्मन्छन्। तीमध्ये करीब ५० हजारको पाँच वर्षभित्रमा मृत्यु हुने गरेको तथ्यांक छ। तीमध्ये पनि करीब २१ प्रतिशत शिशु एक महीना मात्र बाँच्छन्। जन्मेको एकघण्टाभित्र स्तनपान गराए त्यसमध्ये करीब २२ प्रतिशतको मृत्यु रोक्न सकिन्छ भन्ने सिद्धान्त छ।

आमामा एक्कासी उत्पन्न हुने संक्रमण, स्तनमा देखा पर्ने समस्या (मुन्टो चर्किनु, सुन्निनु, पाक्नु, स्तनमा भाइरल संक्रमण) का बेला मात्र बच्चालाई कृत्रिम दूध दिनुपर्ने हुन्छ। निकै कम तौलका, श्वासप्रश्वास सम्बन्धी जटिल समस्या भएका र अन्य संक्रमणका कारण दूध चुस्नै नसक्ने अवस्थाका शिशुलाई पनि कृत्रिम आहार नै दिनुपर्छ।

सुत्केरी आमालाई कडा प्रकारको मुटु, सक्रिय क्षयरोग, गम्भीर खालको मानसिक समस्या, एचआईभी संक्रमण, छारे रोग, थाइरोइड रोग भएको र क्यान्सरको औषधि सेवन गरिरहेको अवस्थामा पनि स्तनपान गराउनुहुँदैन। त्यस्तै, बच्चामा खुँडेपन वा ग्यालेक्टोसेमिया (दूध पचाउन नसक्ने समस्या) छ भने कृत्रिम आहार दिनुपर्ने हुन्छ।

पछिल्लो नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण अनुसार नेपालमा शिशुको जन्मदेखि ६ महीनासम्म स्तनपान गराउने सुत्केरी महिलाको संख्या ६६ प्रतिशत छ। तीमध्ये करीब ५५ प्रतिशत आमाले शिशु जन्माएको एकघण्टा भित्र स्तनपान गराउँछन्। बाँकीले २४ घण्टाभित्र स्तनपान गराउँछन्।

स्तनपान (दूधको प्राकृतिक प्रवाह) ले स्वयम् सुत्केरी आमाको पनि पाठेघर खुम्चिन मद्दत गर्छ। त्यसले पछि स्तन र पाठेघरको मुखको क्यान्सर हुने सम्भावना पनि न्यून पार्छ। स्तनपानलाई प्राकृतिक परिवार नियोजनको उपाय पनि मानिन्छ। यी सब महत्वलाई हेरेर नै हरेक अगस्टको पहिलो हप्तालाई स्तनपान सप्ताहको रूपमा मनाउने गरिएको हो।

प्रतिकृया दिनुहोस