ब्लगबिहिवार, भाद्र १, २०७४

फ्लेक्सबाट उदाङ्गिएको लज्जा !

कनकमणि दीक्षित

एउटा तुलले पनि मुलुकको गरिमा बोकेको हुन्छ ।

तीन हप्ता अगाडि प्रम कार्यालयको भेटघाट कक्षमा टाँगिएको सगरमाथाको तस्वीरबारे चर्चा गर्न बाध्य भइयो, र ट्वीटरमार्फत @hello_sarkar लाई समेत गुहारियो । त्यो तस्वीर चीन–तिब्बत मोहडाको थियो, अर्थात् नेपाली भूभाग बाहिरको । पर्यटन विभागले सच्याएको कुरा पनि @hello_sarkar बाट थाहा भयो (पत्र संख्याः च.नं. १६९, मिति २०७४/०४/१७मार्फत) ।

यसपालिको 'आपत्ति' रह्यो– १५औं मन्त्रीस्तरीय बिम्स्टेक सम्मेलनको उद्घाटन समारोहमा डाएस पछाडि राखिएको तुल । कुनै हतारमा गरिएको गोष्ठीमा जस्तो गरी (शायद टेपले) सोल्टी होटलको 'मेघामल्हार हल' को भित्तामा तुल टाँसिएको छ । डिजाइन–डेकोरको कुनै पर्वाह छैन, बेरेर ल्याइएको फ्लेक्स् खोल्दाको पाटे दाग समेत सबैले देख्ने गरी ।

हुनत कसैको भनाइ रहला– के फरक पर्‍यो त ? एउटा तुल मिलेन भनेर किन रोइलो ? तर एउटा तुलले पनि देशको गरिमा बोकेको हुन्छ । कुनै पनि अन्तर्राष्ट्रिय सभाकेन्द्रको समग्र वातावरण, साउण्ड सिस्टम, बत्ती/उज्यालो, वातानुकूलित अवस्था, सजावट, ट्वाइलेटको सरसफाइ, मीटिङ संचालन विधि– यी सब उच्च मापनको हुनुपर्छ, यो त साधारण कुरा हो । तर नेपालमा साधारण कुरा पनि सुनिश्चित छैन ।

तस्वीरः बिक्रम राई

त्यो तुललाई नै हेरौं– कति हचुवा पाराले टाँगिएको छ । आधाजति माथि भित्तामा, बाँकी ढोकाको पर्दाको भागमा झरेको छ । धन्न तुल बाहेक डाएसको सजावट देखिएन, पानी कसरी राखिएको छ (अन्तर्राष्ट्रिय तवरका सम्मेलनहरूमा सुराहीमा जस्तै अथवा नांगो मिनरल वाटर बोटल वा छोपिएको उही बोटल) देखिएन, नत्र त मूर्च्छा नै पर्ने अवस्था आउन सक्थ्यो । तस्वीर फेरि नियालेर हेरेको त मूर्च्छै परियो । मिनरल वाटरको सिसी त्यो पनि लेबल नझिकेको– कत्रो अन्तर्राष्ट्रिय लाज !

नेपालको परराष्ट्र नीतिको बेहालबारे यहाँ चर्चा नगरौं, यति मात्र भनौं कि छिमेक र अन्यले के भन्छन् भन्दै दुम्की–दुम्की, डराई–डराई, परिचालित छ यो नीति नेतृत्व तहमा । अन्य तहमा लापर्वाहीको बिगबिगी छ । नेता र कर्मचारीले ध्यान नदिंदा अन्तर्राष्ट्रिय समुदायमाझ मुलुकको गरिमा र 'स्ट्यान्डिङ्ग' गिरेको छ । त्यहाँ उपस्थित बिम्स्टेक मित्रराष्ट्रका दक्षिण र दक्षिणपूर्वी एशियाका प्रतिनिधिहरूले त्यो फ्लेक्स् हेरेर नेपालबारे के धारणा बनाए होलान् ?

त्यो फ्लेक्स् बनाउने, टाँग्ने जिम्मा पक्कै परराष्ट्र मन्त्रालयका कुनै कर्मचारीको थियो । के उनले अन्तर्राष्ट्रिय सम्मेलनहरू कसरी संचालन हुन्छ, देखेका थिएनन् ? उनलाई 'सुपरभाइज्' गर्ने अफिसरदेखि परराष्ट्र सचिव शंकरदास वैरागीसम्मलाई त्यो तुल ठीकै लागेको हो ? मलाई भने त्यो फ्लेक्स्ले नेपालको बिजोग दर्शाएको भन्ने लागेको छ । यस्तो बिजोग त लुकी–लुकी खपौंला, तर संसारसामु पेश गर्नुहुँदैनथ्यो । एउटा न्यूनतम 'सोफिस्टिकेशन्' को माग राख्दछ अन्तर्राष्ट्रिय सम्बन्धको विधाले । त्यसैले हो त्यो तुल र तुलले जनाएको लापर्वाहीबारे कोकोहोलो गरेको । मेटाफर भन्नुस् वा बिम्ब, त्यो फ्लेक्स्ले गहिरो अर्थ राख्दछ ।

तर, हामी नागरिक उत्तरदायित्व र जवाफदेही नखोज्ने जमात बनेका छौं यतिबेला । फेरि एकपछि अर्को घटनाक्रम यस्तो छ कि कुनै कुराको अर्थ या मर्म बुझ्ने समय नै छैन भनौं । यसैले ठूलो कुरा होस् या सानो, प्रष्ट कुरा होस् या सांकेतिक― उत्तरदायित्व र जवाफदेही ठम्याउने र मागदाबी गर्ने समय छैन ।

परराष्ट्र मामलाकै सन्दर्भमा उही बिम्स्टेकको गोवा शिखर सम्मेलन (अक्टोबर २०१६) लाई पनि नियालौं । प्रधानमन्त्री पुष्पकमल दाहाललगायत अन्य शीर्षस्थ सहभागी बसेको भवनको प्रतीक्षा कक्षमा आ–आफ्नो गाडी कुर्दै गर्दा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी तथा चिनियाँ राष्ट्रपति सी जिनपिङसँग दाहालको अनायास भेट हुन्छ । प्रम दाहाल, पत्नी सीता तथा दुई सरकार प्रमुखबीच त्यहाँ सोफामा बसेर भलाकुसारी हुन्छ । दाहाल पुत्र प्रकाशले त्यो भेटको तस्वीर खिचिकन फेसबूकद्वारा प्रचार गर्छन्, औपचारिक त्रिपक्षीय वार्ता भन्दै र पितालाई त्यसको श्रेय दिंदै ।

तस्वीरः प्रकाश दाहालको फेसबूकबाट

प्रकाशको त्यो गैरजिम्मेवार कार्यले उत्तर र दक्षिणमा रहेका सबभन्दा महत्वपूर्ण छिमेकको शीर्ष व्यक्तित्वद्वयको मनमा नेपालप्रति अविश्वास पैदा गरेको हुनुपर्छ । प्रकाशले त्यसरी अनौपचारिक भेटलाई अन्यथा ढंगले संसारसामु पेश गर्दा भारतीय पक्षले त प्रेस विज्ञप्ति नै निकाल्यो– त्यसो भएको होइन भनेर ।

बिम्स्टेकसँग सम्बन्धित यी दुई घटना (तुल र तस्वीर) प्रतिनिधिमूलक हुन्, कि कसरी शासक वर्ग र कर्मचारीतन्त्रका कतिपयले नेपालको इतिहास, कूटनीति, जनभावनाको वजन बोक्न जानेका रहेनछन् । जबसम्म हामी यस्ता 'सामान्य' कुरा बारे चिन्तित हुँदैनौं र 'यस्तै हो, चल्ता हे' भन्दै धूलो बढारेर सतरन्जा मुनि लुकाउँछौं, सुधारको अपेक्षा नगरे हुन्छ । अतः गोवाको तस्वीर खिच्ने व्यक्ति होस् वा त्यो फ्लेक्स् टाँग्ने व्यक्ति, कुरा ठूलो होस् या सानै, जवाफदेही खोज्नै पर्छ ।

प्रतिकृया दिनुहोस