न्यायसम्बन्धी तीन विधेयक पारित
व्यवस्थापिका–संसद्को आजको बैठकले ‘न्याय सेवा आयोग विधेयक, २०७३’, ‘न्याय परिषद् विधेयक २०७३’ र ‘न्याय प्रशासन विधेयक, २०७३’ लाई पारित गरेको छ ।
सरकारकातर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयशङ्कर नायकले प्रस्तुत गरेका ती विधेयकलाई बहुमतले पारित गरिएको हो ।
ती तीन विधेयक गत शुक्रबार नै पारित गर्ने कार्यसूची रहेको भएपनि सदनमा सांसदहरुको न्यून उपस्थितिका कारण आजको कार्यसूचीमा राखिएको हो ।
ती विधेकय पारित भएपछि सरकारलाई नेपालको संविधानअनुसार उच्च अदालत गठनको बाटो खुलेको छ । संविधान घोषणा भएको एक वर्षभित्र उच्च अदालत गठन गर्नुपर्ने संवैधानिक व्यवस्था छ । नयाँ व्यवस्थापछि विद्यमान १६ पुनरावेदन अदालत सातवटा उच्च अदालतमा परिणत हुनेछन् ।