प्रदेश र केन्द्रको निर्वाचन एकैदिन गर्न तीनदल सहमत
प्रमुख तीन दलले केन्द्र र प्रदेशको निर्वाचन एकै दिन गर्ने सहमति गरेका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा ३२ साउनमा बसेको तीन दलको बैठकमा नेपाली काँग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) ले दुवै तहको निर्वाचन एकै दिन गर्नका लागि निर्वाचन आयोगलाई आग्रह गर्ने निर्णय गरेको बैठकपछि काँग्रेसका महामन्त्री डा. शशांक कोइरालाले बताए ।
प्राविधिक र कानुनी विषयमा आयोगसँग १ भदौमा थप छलफल गर्ने सहमति भएको छ ।
एमालेका संसदीय दलका उपनेता सुवास नेम्वाङले आगामी १५ मंसिरभित्र दुवै तहको निर्वाचन गर्न तीन दलबीच सहमति भएको बताए ।
आगामी असोज २ गते प्रदेश नं. २ मा हुने स्थानीय तहको निर्वाचनलाई निर्धारित मितिमै सम्पन्न गर्न पनि तीन दल सहमत भएको जनाएको छ । रासस