‘कोसी बाँध तथा स्पर भत्किने खतरा छैन’
कोसी बाँध तथा स्पर भत्किने खतरा नरहेको स्थानीय प्रशासनले जनाएको छ ।
३० साउनमा सुनसरी र सप्तरीका प्रमुख जिल्ला अधिकारीसहितको टोलीले स्थलगत निरीक्षण तथा प्राविधिकहरुसँग जानकारी लिएपछि भत्किने खतरा नरहेको जनाएको हो ।
कोशी नदीमा पानीको बहाव घटवढ हुने क्रम यथावत रहेपछि कोसी बाँध तथा स्पपर भत्किने हल्ला चलेको थियो । त्यसपछि स्थानीय प्रशासनको टोलीले कोसी बाँध तथा स्परको निरीक्षण गरेको हो ।
‘कोसी बाँध तथा स्पर भत्किने खतरा छैन’ सुनसरीका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद पराजुलीले भने ।
सुनसरीका प्रमुख जिल्ला अधिकारी पराजुली, प्रहरी उपरीक्षक विद्यानन्द माझी, प्रमुख कोष नियन्त्रक बद्री घिमिरे तथा सप्तरीका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवाल, प्रहरी उपरीक्षक मुकेशकुमार सिंह लगायतको टोलीले निरीक्षण गरेको छ ।
कोशीको बाँध तथा स्पर भत्किने कुनै खतरा नरहेको टोलीले जानकारी दिएको छ । अहिलेको पानीको वहाव यथावत रहे सुनसरी र सप्तरीमा केही असर नपर्ने स्थानीय प्रशासनको भनाइ छ ।
भारतले पनि कोसीको सुरक्षाका लागि थप जनशक्ति खटाइएको जनाएको छ ।