समाचारआइतवार, श्रावण २९, २०७४

उद्धार कार्यका लागि केन्द्रीय कमाण्ड पोष्ट गठन

हिमालखबर

गृहमन्त्री जनार्दन शर्माको नेतृत्वमा आज बसेको आकस्मिक बैठकले केन्द्रीय कमाण्ड पोष्ट गठन गरेको छ ।

तस्वीरः गृहमन्त्री जनार्दन शर्माका सचिवालय

अविरल वर्षाका कारण जनधनको क्षति बढ्न थालेपछि उद्धार कार्यलाई चुस्त बनाउन केन्द्रीय कमाण्ड पोष्ट गठन गरिएको हो ।

बैठकले भारतीय समकक्षीसँग समन्वय गरी लक्ष्मणपुर बाँध र कोशी ब्यारेजका थप ढोका खुलाउन अनुरोध गरेको छ ।

त्यसैगरी, बाढीपीडितको व्यवस्थापनका लागि यातायात तथा आपूर्ति व्यवस्थालाई सञ्चालनमा राख्ने, प्रभावित क्षेत्रमा राहत सामग्री तत्काल वितरण गर्ने, जोखिममा रहेका भौतिक पूर्वाधारको संरक्षण गर्ने, स्थानीय तहका जनप्रतिनिधिको सक्रिय सहभागितालाई अभिवृद्धि गर्नेलगायतका निर्णय भएको छ ।

अहिले बाढीग्रस्त क्षेत्रमा नेपाल प्रहरीबाट पाँच हजार ६००, सशस्त्र प्रहरीबाट एक हजार ७०० र नेपाली सेनाबाट एक हजार जना गरी जम्मा आठ हजार ३०० सुरक्षाकर्मी परिचालन गरिएको छ ।

अहिलेसम्म बाढीग्रस्त पाँचथर, सिन्धुली, झापा, मोरङ्ग, सुनसरी, सर्लाही, बारा, दाङ, बाँके, मकवानपुर र पाल्पा जिल्लामा गरी कूल ३३ जनाको मृत्यु भएको छ भने चार जना व्यक्ति घाइते भएका छन् । रासस

प्रतिकृया दिनुहोस