भोलिसम्मै भारी वर्षा
देशभर सक्रिय रहेको मनसुन भोलि, ३० साउनसम्म जारी रहने छ ।
अरब सागर र बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभावले नेपालमा वर्षात् भएको हो ।
मौसम पूर्वानुमान महाशाखाकाअनुसार अहिले पश्चिमका केही स्थानबाहेक देशभर बदली छ भने अधिकांश स्थानमा वर्षात् भइरहेको छ ।
आज देशैभर वर्षात् हुने तथा विशेषगरी मध्य र मध्यपश्चिम नेपालका तराई क्षेत्रमा भारी वर्षात् हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
सोमबारदेखि मौसममा क्रमिक सुधार आउने महाशाखाले जनाएको छ ।
महाशाखाको पछिल्लो विवरणअनुसार सबैभन्दा बढी सिमरामा २१७ र सबैभन्दा कम दीपायलमा पाँच मिलिमिटर वर्षात् भएको छ । नेपालगञ्जमा १६९, दाङमा १६७ र जनकपुरमा १३७ मिलिमिटर वर्षात् भएको छ । काठमाडौंमा ३० मिलिमिटर वर्षात् भएको छ ।
दुई दिनदेखि लगातार परेको वर्षाले अधिकांश तराईका भू–भाग डुबानमा परेको छ भने पहाडी भेगमा पहिरोले धनजनको क्षति गरेको छ ।
गृह मन्त्रालयकाअनुसार घटनामा परी हालसम्म ३० जनाभन्दा बढीको मृत्यु र दसभन्दा बढी मानिस बेपत्ता भएका छन् । रासस