डा केसीद्वारा चिकित्सक एवम् स्वास्थ्यकर्मीलाई आन्दोलन फिर्ता लिन आग्रह
डा गोविन्द केसीले नेपाल चिकित्सक संघ, सरकारी चिकित्सक संघ लगायत सम्पूर्ण चिकित्सक र स्वास्थ्यकर्मीहरुलाई आन्दोलनका कार्यक्रम फिर्ता लिई विरामीको सेवामा लाग्न आग्रह गरेका छन् ।
अहिले बाढी पहिरोको विपत्तिले असहज अवस्था आएकोले आफ्नो अनशनका कारण उपचार, उद्दारमा अवरोध हुन नहुने भन्दै डा केसीले उपचारमा खटिन आग्रह गरेका हुन् ।
उनले सरकारी चिकित्सक संघ, नेपाल चिकित्सक संघ लगायतका संस्थाका पदाधिकारीलाई फोन गरी काममा फर्कन भनेका थिए ।
डा केसीको आग्रहपछि सरकारी चिकित्सक संघ (गोडान) ले डा केसीको मागमा समर्थन जनाउँदै २७ साउनबाट आह्वान गरेको देशव्यापि सरकारी अस्पतालहरुको आकस्मिक बाहेकको सेवा बहिस्कार लगायतका कार्यक्रमहरु फिर्ता लिएको छ ।
गोडानले सम्पूर्ण चिकित्सहरुलाई एकजुट भई विपत्तिमा परेकाहरुको सेवामा जुट्न समेत आग्रह गरेको छ ।
यता २० दिनदेखि अनशनरत डा केसीको स्वास्थ्य अवस्था चिन्ताजनक बन्दै गएको छ ।
उनको मुटु वा शरीरका अन्य अंगले कुनै पनि बेला काम गर्न छोड्ने अवस्था आउन सक्ने उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् । अहिले डा केसी अनशन बसेकै स्थलमा भेन्टिलेटरको समेत व्यवस्था मिलाइएको छ ।