रौतहट जलमग्न, बकैया नदी गाउँ पस्दा सयौँ घर डुवानमा
तीन दिनदेखिको अविरल वर्षाबाट रौतहटको बकैया नदीमा आएको बाढी गाउँ पसेपछि सयौँ घरका बासिन्दा विस्थापित भएका छन् ।
देवाही गुनाही गाउँपालिकाअन्तर्गत रहेको साविक देवाही गाविस–८ र ९ का टोलमा बकैया नदीको तटबन्ध भत्काएर गाउँ पसेको हो । बकैया नदीले तटबन्ध कटान गरेपछि देवाही गाविस–८ का करिब एकसय भन्दा बढी घर डुबानमा परेको स्थानीय शेख फुलबाबुले बताए ।
त्यसैगरी, सोही नदीले करुनिया गाविस–४ मा बाँध फुटाएर बाढी गाउँमा पसेको छ । करुनियाका पनि सयभन्दा बढी घर डुबानमा परेका छन् । उक्त ठाउँमा अहिले उद्धारका लागि प्रहरी पुगेको छ ।
वर्षाको पानीले जिल्लाको पूर्वीभेग – मत्सरी, सरुअठा, मलहनिया, समनपुर, पश्चिमी भेगका देवाही, करुनिया, जिंगडवा, मर्यादपुर, इनरवा, मटिअर्वा, कटहरिया, कर्कच कर्मैया, भसेढवा, बडका बडेरवा, फतुआ, हर्षाहा, लक्षमिनिया, शीतलपुर, बरगिनियालगायत चारदर्जन भन्दा बढी गाँउ डुबानमा परेका छन् ।
बाढीले सदरमुकाम गौर, झुन्खुन्वा राजदेवी, बेलबिछवा, ब्रहमपुरी, बडहर्वा, वसतपुरलगायतका गाउँ डुबेको अजय गुप्ताले जानकारी दिए ।
पानीको बाढीले गरुडाको झाँझपुल नजिकै दुईवटा विद्युतको पोल ढलेपछि दक्षिणी भेगमा विद्युत सेवासमेत अवरुद्ध भएको छ ।
प्रमुख जिल्ला अधिकारी उद्धबबहादुर थापाले अविरल पानीले जिल्ला पुरै डुबानमा परेको तर हालसम्म मानवीय क्षति भने नभएको बताए
जिल्लाको बकैया नदीको बहाब बढ्दै गएका कारण सो क्षेत्रका बासिन्दालाई सुरक्षितस्थलतर्फ लैजाने काम भइरहेको उनले जानकारी दिएका छन् ।