समाचारशनिवार, श्रावण २८, २०७४

सडकमा उत्रिएका किशोर–किशोरीका कुरा

हिमालखबर

डा केसीको समर्थनमा २८ साउनमा काठमाडौंमा भएको प्रदर्शनका सहभागी । तस्वीर: गोपेन राई

जनकपुर मुरलीकी १८ वर्षीया मधुकुमारी चौधरी पहिलो पटक गोविन्द केसीको समर्थनमा सडकमा उत्रिइन् ।

२८ साउनमा डा केसीको समर्थनमा काठमाडौंमा आयोजित प्रदर्शनमा आइपुगेकी उनले भर्खरै १२ कक्षाको पढाई सकेर स्नातक पढ्न काठमाडौं आएकी हुन् । केही अघि डा केसीको नाम सुनेको भए पनि उनकाबारे उती वास्ता नगरेकी मधु भन्छिन, “पहिले सानै थिएँ, अब बुझ्ने भएपछि उहाँको माग त हाम्रै लागि भन्ने थाहा पाएँ, त्यसैले आन्दोलनमा आएकी हुँ ।”

पोखरा, रानीपौवाका अरमान बिकको डाक्टर बन्ने धोको छ । ‘ओली देउवा प्रचण्ड, माफियाको मोहले, देश हुन्न सम्पन्न’ लेखिएको सेतो टोपी लगाएका यी १७ वर्षीयले भने, “डा केसीको अनशन हामीजस्ता धेरै रकम तिर्न नसक्ने तर मेरिटमा आउने विद्यार्थीले चाहेको विषय पढ्न पाउन भनेर हो, त्यसैले आन्दोलनमा आएँ ।”

डा केसीजस्तो निस्वार्थ व्यक्तिका माग कसैगरी पनि गलत हुन नसक्ने भन्दै उनले केसीको विरोध गर्ने व्यक्ति र संस्था सबैलाई बहिस्कार गर्ने बताए ।

भक्तपुर, कौशलटारकी १८ वर्षीया प्रसन्ना भट्टराईले आफ्ना साथीभाइ पनि बटुलेर आएकी थिइन् । डा केसीको १० औं पटकको अनशनका बेला पनि आन्दोलनमा सहभागी भइसकेकी उनले भनिन्, “मेरिटका आधारमा पढ्न पाउने हाम्रो अधिकारका लागि भोकभोकै बस्ने डा केसीलाई हामीले समर्थन नगर्ने भन्ने कुरै हुँदैन ।”

उनले डा केसीका माग पूरा गराउनमा अवरोध गर्नेहरुलाई बहिस्कार गर्ने र आगामी निर्वाचनमा भोट पनि नहाल्ने बताइन् । “मेरो अधिकार खोस्नेलाई म भोट कदापी दिन्न, विकल्प खोज्छु ।”

प्रसन्नाले यसो भन्दै गर्दा नजिकै रहेकी जडिबुटीकी १८ वर्षीया दिब्या कार्की पनि समर्थनमा टाउको हल्लाउँदै थिइन् । उनले भनिन, “डा केसीबारे केही दिनअघि मात्रै थाहा पाएँ, आज उहाँको समर्थनमा प्रदर्शन हुँदैछ भन्ने थाहा पाएर आएकी ।”

सिरहाको लहानबाट काठमाडौं पढ्न आएका व्यवस्थापनका विद्यार्थी १८ वर्षीय सम्पन्न बस्नेत त ‘डा केसीको माग’ भन्नै रुचाउँदैनन् । “कहाँ डा केसीको माग भन्नुहुन्छ, तपाइँ हाम्रा माग र उहाँका माग फरक छन र ?” उनले सोधे ।

व्यवस्थापनका विद्यार्थी बस्नेत किशोर उमेरका भए पनि चिकित्सा शिक्षा विधेयकदेखि त्रिभूवन विश्वविद्यालयका सम्मका कुरा उठाउँदै भने, “शिक्षा र स्वास्थ्य आम जनताको पहुँचमा पुग्नबाट रोक्न खोज्नेहरुलाई सबै क्षेत्रमा पराजित गर्नुपर्छ ।”

पहिलो पटक डा केसी २०६९ असारमा अनशन बस्दाखेरी उनीबारे केही थाहा नपाएका यि बालबालिका अब ठूला भइसकेका छन्, मोबाइलफोनमा समाचार हेर्ने यो पुस्ता अघिल्लो पुस्ता भन्दा धेरै सजग छ ।

त्यसैले त बर्दिबासका १८ वर्षीय अनुराग बराल भन्छन, “डा केसीको पहिलो अनशनका बेला ७/८ कक्षामा पढ्थें, अहिलेसम्म अवस्था धेरै सुध्रिनु पर्नेमा झन खराब भएछ ।” यसको दोष राजनीतिक नेतृत्वलाई दिंदै उनले अगाडि भने, “अब सँधै यसैगरी जथभावी गरौंला भन्ने कसैले नसोचे हुन्छ ।”

प्रतिकृया दिनुहोस