जताततै बाढीको कहर, वस्तीहरु डुबानमा
२७ साउन साँझदेखिको निरन्तर वर्षाका कारण बाढी र पहिरोमा परेर २० भन्दा बढीको मृत्यु भएको गृहमन्त्राले जनाएको छ ।
झापा, मोरङ, सुनसरी, रौतहट, सर्लाही, बारा, पर्सा, नवलपरासी, दाङ, बाँके र पहाडका पाल्पा, पाँचथर, सिन्धुली जिल्ला बढी प्रभावित भएको गृहमन्त्रालयका प्रवक्ता दीपक काफ्लेले जानकारी दिएका छन् ।
मोरङमा बाढीले करिब दुई हजार परिवार विस्थापित
गए रातिदेखिको अविरल वर्षाका कारण मोरङका करिब दुई हजार घर डुबानमा परेका छन् ।
वर्षाका कारण विराटनगर विमानस्थलमा दुई फिटसम्म पानी जमेपछि हवाई सेवा अवरुद्ध भएको छ ।
महानगरपालिकाको १९ वटै वडाका अधिकांश घरमा पानी पसेको छ । ४, ५, ६, ११ र १२ नम्बर वडाका सबै घर डुबानमा परेका छन् । ती वडाका ६०० परिवारलाई सुरक्षित स्थानमा सारिएको प्रहरीले जनाएको छ ।
सुन्दरहरैचाको ४ र ६ नम्बर वडामा पर्ने पुलको पश्चिमपट्टीको भागलाई गछिया खोलाले कटान गरेपपिछ केही बेर आवागमन ठप्प भए पनि अहिले पुनः सञ्चालनमा आएको प्रहरीले जनाएको छ ।
बूढीगंगामा अन्दाजी ३५० घर परिवार डुबानमा परेका छन् । उद्दारमा प्रहरी परिचालन भएको छ ।
उर्लाबारी–८ को माझीटोलामाा बक्राह नुनसरी खोलाले १५ घर र मिक्लाजुङको खाबेझाडोका ६ घर डुबानमा परेका छन् ।
त्यसैगरी, रतुवामाई नगरपालिकाको ५, ७, ८ र ९ मा रतुवा र बक्राहा खोलाको पानी पसेपछि ७०० परिवारलाई सुरक्षित स्थानमा सारिएको छ ।
धनपालथान–६ स्थित लाहोन्द्रा खोलाको बाँध फुटेर १५० घर डुबानमा परेको र रंगेलीको आमतोलामा चार घर डुबानमा परेका छन्, भने एकराही र जामुनगाछिमा पानी पसेको छ ।
यसैबीच, गएरातिदेखि विराटनगरमा विद्युत् सेवासमेत अवरुद्ध भएको छ । नेपाल टेलिकमको इन्टरनेटसेवा बिहान ९ः३० बजेदेखि सुचारु भएको भए पनि मोबाइल र टेलिफोनको एसटिडी सेवा सुचारु हुनसकेको छैन् ।
इटहरीमा सात जनाको मृत्यु
मुसलधारे वर्षाले सुनसरीको इटहरी उपमहानगरपालिकामा सात जनाको ज्यान गएको छ।
बूढी खोलामा आएको बाढीले सात जनालाई बगाएको केही वेपत्ता भएको पूर्व क्षेत्रीय प्रहरी कार्यालय, विराटनगरले जनाएको छ ।
प्रहरीका अनुसार पानीमा डुबेको अवस्थामा सात जनाको शव फेला परेको हो।
भोजपुर घर भई इटहरी–४ को गौरीगाउँमा डेरा लिई बस्ने माया राईकी दुईवटा सन्तान मृत फेला परेका छन्।
त्यस्तै, इटहरी–४ को आइतबारेका ४० वर्षका ईश्वर सुनवार, इटहरी–४ को गौरीगाउँकी माला साह, उनकी १० वर्षीय छोरी सिटी, इटहरी–२० का
अन्दाजी ७५ वर्षीय एक वृद्ध र इटहरी–९ मा ३०र३५ वर्षकी एक महिलाको शव भेटिएको प्रहरीले जनाएको छ।
त्यस्तै पूर्वका विराटनगर, दमक, भद्रपुर, बिर्तामोड, इटहरी, राजविराज लगायत बजार जलमग्न छन्। सवारी आवागमन ठप्प छ।
पर्सा पनि डुबानमा
विगत तिन दिनदेखिको अविरल वर्षाका कारण वीरगंज नगर क्षेत्र तथा पर्साको ग्रामिण क्षेत्रको जनजीवन नराम्रोसँग प्रभावित भएको छ ।
भारतको पश्चिम चम्पारण जिल्ला बाल्मीकिनगरस्थित ३६ ढोका भएको ब्यारेज भारततर्फका कर्मचारीहरुले पर्याप्त नखोलेका कारण पर्सा जिल्लाको नहर छेउँका विभिन्न गाऊँपालिका डुबानमा परेका हुन् ।
जिल्लाको सबैभन्दा बढी जगरनाथपुर, मसिहानी, बौधिमाई गाउँपालिका र पोखरीया नगरपालिका पनि डुबानमा परेका छन् ।
नहरको पानि भलुवाही खोलामा समेत आएका कारण जगरनाथपुरका हरपुरमोर टोलका ८२ घर डुबानमा परेका छन् ।
घरमा पानी पसेपछि सर्वसाधारण छिमेकका पक्की घर र विद्यालयमा आश्रय लिइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरिक्षक चक्र बहादुर जोशीले बताए ।
नहरकै पानी जानकीटोलामा पस्दा सडक भासिएको छ भने गाऊँका अधिकांस घर डुबानमा परेको छ ।
यसैगरी नहरसँगै जोडिएको गंगोल नदीको बाढीले मसिहानी गाउँपालिको मदुवाहा टोलको २५ घरमा पानी पसेको छ । भेडाहा खोलाको बाढीले बेलवा गाँउपालिका–२ बगहीका ११ घर डुबानमा परेका छन् ।
यसैगरी ग्रामिण भेगका खेत नहर र खोलामा मिसिएर जाने पानी नहर भएर जान नपाउँदा वीरगंज उप–महानगरपालिकाको अधिंकाश भाग डुबानमा परेका छन् ।
वीरगंज नगर क्षेत्रको आदर्शनगर, जेलरोड, गणेशमान चोक, रानीघाट, पानीटंकी, भिषुवा, लक्ष्मणवा, छपकैया, मुर्लि, श्रीपुर, राधेमाई, बसपार्क लगायतका क्षेत्र जलमग्न भएका छन् भने सडक आसपासका झण्डै ५ सय भन्दा बढी घरहरुमा पानी पसेको छ ।
वडा नम्बर ३१ बग्हीका १८ घरमा पानी पसेको छ । पानीले पर्सा जिल्लामा हाल सम्म चौपाया र मानविय क्षति नभएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरिक्षक चक्रराज जोशीले जानकारी दिएका छन् ।
पर्सा जिल्लामा बाढीले पारेको प्रभाव र राहत वितरणका लागि अनुगमन गर्न जिल्ला दैविक प्रकोप उद्धार समितिको आक्समिक बैठक बसेको छ ।
वर्षाका कारण घर भत्किंदा बाराको सिम्रौनगढ नगरपालिका–८ कचोर्वाकी ४५ वर्षीया गहनीदेवी पासवानको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
जनकपुर जलमग्न
जनकपुर उपमहानगरपालिका पनि जलमग्न भएको छ। यातायात ठप्प छ ।
नालाबाट पानीले निकास नपाएपछि जिल्ला प्रशासन कार्यालय परिसर, राष्ट्रिय समाचार समिति, आन्तरिक राजस्व, हुलाक, परिवार नियोजन, जिल्ला प्रहरी कार्यालय लगायतका सरकारी कार्यालय परिसर समेत डुबानमा परेका छन्।
जनकपुर अञ्चल अस्पतालमा दुई फिटभन्दा बढी पानी जमेको छ ।
महोत्तरीमा १७ घर विस्थापित, सडक अवरुद्ध
तीन/चार दिनदेखि लगातार भइरहेको वर्षाका कारण जलेश्वर जनकपुर सडकसहित अन्य सडकहरु अवरुद्ध भएका हुन् ।
जिल्लाको जलेश्वर बर्दिवास सडकखण्ड मात्रै सुचारु छ ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीकाअुनसार लगातारको वर्षाका कारण जिल्लाको पिपरा गाउँपालिका– ४ पासवान टोलका १७ घर डुबानमा परेका छन् । त्यस्तै, सम्सी गाउँपालिका– ४ गैंढाभेटपुरमा १२ घर डुबानमा परेका छन् ।
पूर्वपश्चिम राजमार्गको दाउन्नेमा सडक भासियो
पहिरोका कारण पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपरासीको दाउन्नेमा सडक भासिदा राजमार्गं १६ घण्टादेखि अवरुद्ध छ । दाउन्नेमा ठाउँ ठाउँमा सडक भासिएको छ ।
शुक्रबार रातिदेखि पूर्वपश्चिम हिडेका हजारौं यात्रु दाउन्नेमा अलपत्र परेका छन् । झरीले पहिरो हटाउन नपाउदै बर्दघाट तर्फको सडकखण्डको ठाउँठाउँमा सडक भासिएको छ ।
वर्षात नरोकिएसम्म राजमार्ग खुलाउन नसकिने प्रहरीले जनाएको छ ।
चितवनको माडी पनि डुबानमा
बाढीका कारण चितवनको दक्षिणी क्षेत्रमा पर्ने माडी नगरपालिकाका विभिन्न बस्ती डुबानमा परेका छन् ।
अविरल वर्षाका कारण आएको बाढीले यहाँका दर्जनौं बस्तीका सयौँ घर डुबानमा परेको जिल्ला विपद् व्यवस्थापन समिति चितवनका स्रोतव्यक्ति बलराम लुइँटेलले जानकारी दिए।
माडीका करिब चार सय घर डुबानमा परेको जानकारी आएकाले यससम्बन्धी विवरण संकलन भइरहेको उनले बताए।
माडीको वनकट्ठा, अमिलिया, सिमरा, धोवाह, रतनीका बस्ती डुबानमा परेका छन्। ठाडा खोला र रिउ नदीमा बाढी आएको छ।
दाङमा एकको मृत्यु, सडक अवरुद्ध
बाढीले घर भत्काउँदा दाङ, तुलसीपुर–१३ की सावित्रा सुनारको मत्यु भएको प्रहरीले जनाएको छ। तुलसीपुरबाट एक किलोमिटर पूर्वको सोते खोलाले सडक भत्काएसँगै बाढी बस्तीमा पसेको थियो।
लगातारको वर्षाका कारण दाङको तुलसीपुर–घोराही सडकखण्ड भत्किएको छ। मोतीपुरमा सोते खोलाले सडक खण्ड भत्काएपछि बाटो अवरूद्ध भएको हो। बाढीका कारण तुलसीपुरमा खानेपानी पनि अवरूद्ध भएको छ।
दाङकै तुही खोलामा आएको बाढीले स्थानीयका ११ घर भत्काएको छ भने अम्बिकेश्वरी मावि डुबानमा छ।
बबई नदीमा आएको बाढीले दङ्गिशरण गाउँपालिकाका बाँकी र रहरपुरमा ४० भन्दा बढी घर डुबानमा छन्।
गुल्मी
वर्षाका कारण गुल्मीको रिडी–रुद्रवेणी–वामीटक्सार सडकखण्ड आज बिहानदेखि अवरुद्ध छ ।
मुसिकोट नगरपालिका–६ अन्तर्गत भुवाचिदी नजिकै पहिरो खसेपछि उक्त सडक अवरुद्ध बनेको जिल्ला ट्राफिक कार्यालय गुल्मीले जनाएको छ ।
सडक अवरुद्ध भएपछि उक्त क्षेत्रबाट तम्घास, पाल्पा, बुटवल र काठमाडौँसम्म छुट्ने सम्पूर्ण सवारीसाधन ठप्प छन् ।
वर्षासँगै सडकमा पहिरो खस्ने र पानीले ठूलाठूला खाडल बनाएका कारण जिल्लाका अधिकांश ग्रामीण सडकमा समेत यातायात सेवा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
गुल्मीको मुसिकोट नगरपालिका–७ स्थित दरमखोला लघुजलविद्युत् परियोजनाको नहर पहिरोले बगाएपछि आज विद्युत आपूर्ति अवरुद्ध भएको छ ।
अविरल वर्षाका कारण बसेरीमा झण्डै २०० मिटरमाथिबाट खसेको पहिरोले नहरको बाँध भत्काएर पुरेको हुँदा विद्युत् अवरुद्ध भएको विद्युत् सञ्चालक समितिका अध्यक्ष धर्मेन्द्रकुमार मल्लले जानकारी दिए ।
विद्युत् परियोजना अवरुद्ध भएसँगै नगरपालिकाको वडा नं २, ७, ८ र छिमेकी जिल्ला बागलुङको वडिगाड गाउँपालिकाको वडा नं ३ गरी चार वडाका ९०० घरधुरीका उपभोक्ता अन्धकारमा बस्न बाध्य भएका छन् ।
जाजरकोटमा विद्युत आपूर्ति बन्द
लगातार परेको पानीका कारण खोलानाला बढेपछि जाजरकोटका धेरै स्थानमा विद्युत् आपूर्ति बन्द भएको छ। विद्युत् उत्पादनका लागि पानी ल्याइएको नहर भत्किएपछि विद्युत् सेवा अवरुद्ध भएको हो।
त्रिवेणी नलगाड नगरपालिका –३ करुवास्थित भेरीखोला चिलिखोलेसा लघु जलविद्युत योजनाको नहर बगाएपछि विद्युत् सेवा ठप्प भएको छ।
उक्त नपाकै वडा नम्बर– ९, तात्रामा रहेको १८ किलोवाट क्षमता भएको दोवीया खोला लघु जलविद्युत् आयोजना पनि अवरुद्ध भएको छ ।
कुशें गाउँपालिका– २ मा रहेको खाराखोला लघु जलविद्युत् आयोजना पनि अवरुद्ध भएको छ ।
बारेकोट गाउँपालिका –२ रोकायगाउँमा रहेको गाग्रा खोला लघु जलविद्युत् आयोजनाको विद्युत् प्रसारणलाइन पनि एकसातादेखि अवरुद्ध छ ।
प्रधानमन्त्रीको निर्देशन
प्रधानमन्त्री शेरबहादुर देउवाले देशका विभिन्न भागमा बाढी र पहिरोको चपेटामा परेका नागरिकलाई तत्काल सुरक्षित स्थानमा स्थानान्तरण गर्न र पीडितलाई राहत उपलब्ध गराउन सम्बन्धित जिल्लाका स्थानीय प्रशासनलाई निर्देशन दिएका छन् ।
शुक्रबार रातिदेखि अविरल रुपमा परेको भीषण बर्षाका कारण आएको बाढीले तराई र पहाडका विभिन्न जिल्लामा करिब २० जनाको ज्यान गइसकेको छ ।
सिन्धुलीमा पहिरोमा परी एकैपरिवारका चारको मृत्यु भएको छ ।
प्रधानमन्त्री देउवाले शुक्रबार बिहानै बाढिपहिरो प्रभावित जिल्लाका प्रशासन प्रमुखलाई सम्पर्क गरी नागरिकलाई उद्धार, राहत साथै सबै प्रकारको सहयोग प्रदान गर्न निर्देशन दिएको प्रधानमन्त्रीको सचिवालयले जनाउको छ ।