चितवनमा चार सय घर डुबानमा
बाढीका कारण चितवनको दक्षिणी क्षेत्रमा पर्ने माडी नगरपालिकाका विभिन्न बस्ती डुबानमा परेका छन् ।
हिजो रातिदेखि परेको अविरल वर्षाका कारण आएको बाढीले माडी नगरका करिब चार सय घर डुबानमा परेको जिल्ला विपद् व्यवस्थापन समिति चितवनका स्रोतव्यक्ति बलराम लुइँटेलले जानकारी दिए ।
माडीको वनकट्टा, अमिलिया, सिमरा, धोवाहलगायतका बस्ती डुबानमा परेका छन् ।
डुबानमा परेका बस्तीका बासिन्दाको उद्धारका लागि जिल्ला विपद् व्यवस्थापन समिति, सुरक्षा निकायसहितको उद्धार टोली माडी पुगेको छ ।
चितवनका प्रहरी उपरीक्षक दीपक थापाले बाढीले ४० बढी घरलाई पूर्णरुपमा क्षति पुर्याएको र करिब दुई सय घरमा आंशिक क्षति पुर्याएको जानकारी दिए ।
बाढीका कारण यातायात सेवा समेत अवरुद्ध छ । रासस