सरकार र डा केसीका प्रतिनिधिबीचको वार्ता सकारात्मक
१९ दिनदेखि अनशनरत डा गोविन्द केसी र सरकारका प्रतिनिधिबीचको वार्ता सकारात्मक मोडमा पुगेको छ ।
आज, २७ साउन राति अबेर भएको वार्तामा डा. केसीका मागहरुमध्ये सहायक डिनहरुको नियुक्ति, चिकित्साशास्त्र अध्ययन् संस्थानको स्वायत्तता लगायतका विषयमा छलफल भए पनि निष्कर्षमा पुग्न सकेन।
ती सबै विषय टुंग्याउनका लागि बैठक बसेर छलफल गर्नु पर्ने हुँदा आजै पूरा नभएको वार्तामा सहभागी अधिवक्ता ओमप्रकाश अर्यालले जानकारी दिए ।
“डा केसी समाज कल्याण समितिबाट पारित विधेयकमाथि नै सन्तुष्ट हुनुहुन्न त्यसैले सहमति नजिक भन्न त गाह्रो छ,” वार्तामा सहभागी डा सुमन आचार्यले भने, “अझै डा केसीसँग भेट भएको छैन, उहाँसँग छलफल गरेपछि भोलि फेरि वार्तामा सहभागी हुन्छौं ।”
सहमति नजिक नभए पनि वार्ता सकारात्मक भएको उनले बताए । सरकारले विधेयकमा डा. केसीलाई मनाएर अन्य विषयमा उनका माग पूरा गर्ने तयारीमा रहेको बुझिएको छ ।