चिकित्सा विधेयक छिटो पारित गर्न एमालेद्वारा सरकारको ध्यानाकर्षण
नेकपा (एमाले)ले छिटोभन्दा छिटो चिकित्सा शिक्षा विधेयक व्यवस्थापिका संसदबाट पारित गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।
२७ साउनमा बसेको एमाले स्थानीय समितिको वैठकले अनशनरत डा.गोविन्द केसी र उनका प्रतिनिधिसँग वार्ता गरेर समस्याको समाधान निकाल्न समेत सरकारको ध्यानकर्षण गरेको छ ।
वैठकपछि एमाले केन्द्रीय प्रचार विभाग प्रमुख योगेश भट्टराईले जारी गरेको विज्ञप्तीमा भनिएको छ, ‘हाम्रो पार्टी छिटोभन्दा छिटो चिकित्सा शिक्षा विधेयक व्यवस्थापिका संसद्मा छलफल गरी पारित गर्न सरकारको गम्भीर ध्यानाकर्षण गर्दछौं ।’
एमाले अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको वैठकमा अनशनरत डा.केसीको सन्दर्भमा छलफल भएको जनाएको छ । एमाले नेतृत्वको सरकारले प्रा.केदारभक्त माथेमाको आयोगले दिएका सुझाव र सिफारिसका आधार बनाएर तत्कालीन व्यवस्थापिका संसदमा ‘चिकित्सा शिक्षा विधेयक’ टेबुल गरेको उल्लेख गर्दै एमाले त्यसको विपक्षमा नरहेको जनाएको छ ।
सरकारले नै विधेयक पारित गर्न नखोजेको आरोप लगाउदै एमालेले भनेको छ, ‘आफ्नो दायित्व पूरा नगर्ने र यस विषयमा नेकपा (एमाले)लाई अनावश्यक लाञ्छित गर्ने कुराप्रति हाम्रो गम्भीर असहमति रहेको छ ।’