चुडामणि शर्मालाई थुनामुक्त गर्न सर्वोच्चको आदेश
सर्वोच्च अदालतले चुडामणि शर्मालाई थुनामुक्त गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई आदेश दिएको छ ।
२७ साउनमा सर्वोच्च अदालतका न्यायाधीशहरु दीपकराज जोशी, दीपकुमार कार्की, केदारप्रसाद चालिसे, सारदाप्रसाद घिमिरे र अनिलकुमार सिन्हाको पूर्ण इजलासले बन्दीप्रत्यक्षीकरणको रिटमा शर्मालाई थुनामुक्त गर्न आदेश दिएको हो । सर्वोच्चको बन्दीप्रत्यक्षीकरणको आदेशमा भनिएको छ, ‘कानून र आधारबाट निज चुडामणि शर्मालाई थुनामै राखीराख्नु पर्ने अवस्था नदेखिएकोले बन्दीप्रत्यक्षीकरणको आदेश जारी गरिएको छ ।’
आदेशमा शर्मासँग मागिएको धरौटी पनि संविधानको मर्मअनुसार नभएको जनाएको छ । आदेशमा भनिएको छ, ‘कुनै पनि नागरिकको वैयक्तिक स्वतन्त्रता नेपालको संविधानको धारा १७ (१) ले सुनिश्चित गरेको परिपेक्ष्यमा अख्यितार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १९ (४) को प्रयोग अत्यन्त जिम्मेवारीपूर्वक गर्नुपर्नेमा सो व्यवस्थाको मर्म र मनसायअनुरुप धरौटी माग गरिएको देखिन आएन ।’
कर फछ्र्यौटमा भ्रष्टाचार गरेको जनाउदै अख्तियारले १४ असारमा शर्मालाई नियन्त्रणमा लिएको थियो । अख्तियारले उनीसँग रु.तीन अर्बभन्दा बढी धरौटी माग गरेको थियो । धरौटी बुझाउन नसकेपछि थुनामा रहेका शर्माको तर्फबाट उनकी पत्नी कल्पना उप्रेती शर्माले रिट दायर गरेकी थिइन ।