सरकारले पठायो डा केसीलाई सहमतिको प्रस्ताव
सरकारले अनशनरत डा गोविन्द केसीलाई अनशन तोड्नका लागि सहमतिको प्रस्ताव पठाएको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले आज विहान बोलाएको बैठकमा चिकित्सा शिक्षा विधेयक केही संशोधनसहित पारित गर्ने र डा गोविन्द केसीलाई अनशन तोड्न आग्रह गर्ने सहमति भए अनुसार सरकारले प्रस्ताव पठाएको हो ।
डा केसी पक्षले भने चिकित्सा शिक्षा विधेयक अध्ययन्पछि मात्रै त्यसबारे प्रतिक्रिया दिने जवाफ दिएको बुझिएको छ ।
डा केसीको अनशनबारेमा प्रधानमन्त्रीले पूर्व स्वास्थ्यमन्त्री गगन थापा, शिक्षाविद केदारभक्त माथेमा लगायत तत्कालीन कार्यदलका सदस्यहरु, शिक्षामन्त्री गोपालमान श्रेष्ठ, स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेल, अधिवक्ता ओमप्रकाश अर्याल र संसदको महिला बालबालिका तथा समाज कल्याण समितिकी सभापति रञ्जु झा लगायतसँग छलफल गरेका थिए ।
छलफलमा संसदको महिला, बालबालिका तथा समाज कल्याण समिति अन्तर्गतको कार्यलदलले संशोधन गरेको बुँदा पुनर्लेखन गर्ने सहमति भएको हो ।
प्रस्तावित विधेयकमा रहेको एउटा बुँदा राजधानीमा १० वर्षसम्म नयाँ मेडिकल कलेज खोल्न नपाइने भन्नेलाई समितिले गठन गरेको कार्यदलले संशोधन गरी ‘मनसायपत्र पाइसकेका मेडिकल कलेजलाई सम्बन्धन दिने’ गराएकोमा त्यसको पुनर्लेखन गर्ने सहमति भएको थियो ।
अब यो बुँदामा मनसायपत्र पाइसकेका मेडिकल कलेजले मापदण्ड पुरा गरेमा सम्बन्धन दिने भन्ने उल्लेख हुने छ । उक्त मापदण्ड ऐन बनेपछि गठन हुने चिकित्सा शिक्षा आयोगले तोकेबमोजिम हुनेछ ।
विधेयकमा मापदण्ड निर्धारण गर्ने काम चिकित्सा शिक्षा आयोगलाई तोकिएको छ भने स्वास्थ्यमन्त्रालय पनि छुट्टै मापदण्ड बनाउने व्यवस्था गरिएको छ ।
स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेलले डा गोविन्द केसीका मागहरु सम्बोधन हुने गरी प्रस्ताव बनाइएको बताएका छन् ।