सरकार र राजपाबीच संविधान संशोधन विधेयक संसदमा निर्णयार्थ पेश गर्ने सहमति
सरकार र राष्ष्ट्रिय जनता पार्टीबीच संसदमा विचाराधिन रहेको संविधान संशोधन प्रस्ताव निर्णयार्थ पेश गर्ने सहमति भएको छ ।
आज, २७ साउन विहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा संविधान संशोधन विधेयक संसदमा भोटिङमा लैजाने र पारित भए वा नभए पनि राजपा स्थानीय तहको निर्वाचनमा सहभागी हुने सहमति भएको हो ।
छलफलमा सहभागी राजपा अध्यक्ष मण्डलका नेता शरत्सिंह भण्डारीका अनुसार मन्त्रिपरिषद्ले टुंग्याउनुपर्ने विषय छिटो टुंग्याएर संशोधनलाई अघि बढाउने सहमति भएको छ ।
उनले राप्रपाले पनि संशोधनमा सहयोग गर्ने जनाएको भन्दै संशोधन विधेयक पारित हुने विश्वास रहेको बताए । उनले संशोधन पारित नभए पनि निर्वाचनमा जाने र पारित हुन नदिनेहरुलाई जनताले दण्ड दिने बताए ।
माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले पनि राजपासँग भएको छलफल सफल भएको भन्दै राजपा निर्वाचनमा जाने बताएका छन् । उनका अनुसार संविधान संशोधन विधेयकमा केही दिनभित्रै मतदान गरिनेछ ।
यसअघि राजपाले संविधान संशोधन नहोउन्जेलसम्म निर्वाचनमा सहभागी नहुने अडान राख्दै आएको थियो ।