डा केसीका मागप्रति सम्पादकहरुको ऐक्यवद्धता, सभामुखसँग छलफल
दैनिक, साप्ताहिक र अनलाईन पत्रिकाका सम्पादकहरुले डा.गोविन्द केसीलाई भेटेर उनका मागप्रति ऐक्यवद्धता जनाएका छन् ।
२७ साउनमा उनीहरुले सभामुख ओनसरी घर्तीसँग भेट गरी डा.केसीका माग यथाशिघ्र पूरा गर्न आग्रह गरेका छन् ।
सेतापाटी डट कमका प्रधान सम्पादक अमित ढकाल, बाह्रखरी डट कमका प्रधान सम्पादक प्रतीक प्रधान, साप्ताहिक खबरपत्रिका हिमालका सम्पादक किरण नेपाल, नागरिक दैनिकका सम्पादक गुणराज लुइँटेल र माई रिपब्लिका दैनिकका सम्पादक सुवास घिमिरे लगायतले डा.केसी र सभामुख घर्तीसँग भेट गरेका हुन् ।
सभामुख घर्तीसँगको भेटमा डा.केसीको माग अनुसार चिकित्सा शिक्षा विधेयक संसदबाट यथाशिघ्र पारित गर्न सम्पादकहरुले आग्रह गरे ।
जवाफमा सभामुख घर्तीले डा.केसीका जायज मागप्रति आफ्नो पनि समर्थन रहेको जनाउदै महिला, बालबालिका, जेष्ठ नागरिक तथा समाज कल्याण समितिलाई चाँडै काम सकेर विधेयक संसदमा पेश गर्न भनेको बताइन् । उनले भनिन्, “समितिले सकारात्मक निष्कर्ष दिन्छ भन्ने मेरो विश्वास छ ।”
समितिले नकारात्मक निष्कर्ष दियो भने पनि संसदको पूर्ण बैठकले त्यसमा संशोधन गरी पारित गर्न सक्ने उनको भनाई छ । बाहिर चर्चा भएजस्तो सांसदहरु डा.केसीप्रति नकारात्मक मात्रै नरहेको भन्दै सभामुखले संसदप्रति भरोसा राख्न आग्रह गरेकी थिइन् ।
उनले डा. केसीसँग सरकारले पटकपटक गरेका सहमति कार्यान्वयन हुनुपर्ने समेत बताइन् ।
भेटमा मुलुकको निर्वाचन प्रणाली, उम्मेदवारी, जनहितका सवालमा पनि दलीय स्वार्थ हावी हुने अवस्था लगायतका विषयमा पनि छलफल भएको थियो ।