देशभरका सरकारी अस्पताल ठप्प, डा केसीको अवस्था चिन्ताजनक
डा गोविन्द केसीका माग पूरा गरी उनको जीवन रक्षाको माग गर्दै आज देशभरका सरकारी अस्पतालको आकस्मिक बाहेककासेवा बन्द भएको छ ।
काठमाडौंको वीर लगायतका अस्पतालमा बहिरंग सेवा बन्द छन्, वीरगञ्जको नारायणी उपक्षेत्रीय अस्पतालमा बहिरंग सेवा ठप्प भए पनि अस्पताल आइपुगेका केही विरामीहरुलाई औपचारिक दर्ता नगरी उपचार गरिएको छ । सरकारी चिकित्सक संघ नेपाल (गोडान) को आह्वानमा अस्पतालहरु ठप्प भएका हुन् ।
चिकित्सा शिक्षा र स्वास्थ्य सेवामा रहेका वेथियित अन्त्यको माग गर्दै प्राध्यापक डा गोविन्द केसी आमरण अनशनमा बसेको आज १९ औं दिन हो ।
१० पटकसम्मको अनशनले थिलोथिलो भएको उनको शरीर ११ औं पटकको अनशनका क्रममा चिन्ताजनक अवस्थामा पुगेको छ । उपचारमा संलग्न चिकित्सकहरुले ‘कुनै पनि बेला केही पनि हुनसक्ने’ चेतावनी दिएका छन् ।
संसदमा विचाराधिन चिकित्सा शिक्षा विधेयकमा माथेमा प्रतिवेदनका छुटेका बुँदा र आफ्ना थप सुझाव समेत संलग्न गरी पारित गर्नुपर्ने डा केसीको मुख्य माग हो । तर संसदको महिला, बालबालिका, जेष्ठ नागरिक तथा समाजकल्याण समितिमा रहेको उक्त विधेयक स्वार्थ बाझिएका सांसदहरुको पहलमा डा केसीले चाहेभन्दा विपरित हुने गरी पारितको प्रयास भइरहेको छ ।
सम्पादकहरुको ऐक्यवद्धता
यसैबीच केही पत्रिकाका सम्पादकहरुले आज विहान डा केसीलाई भेटी उनका मागप्रति ऐक्यवद्धता प्रकट गरेका छन् ।
डा केसीलाई भेटी उनका मागप्रति ऐक्यवद्धता प्रकट गर्ने सम्पादकहरुमा सेतोपाटीका सम्पादक अमित ढकाल, बाह्रखरीका सम्पादक प्रतीक प्रधान, हिमाल खबरपत्रिकाका सम्पादक किरण नेपाल, नागरिक दैनिकका सम्पादक गुणराज लुइँटेल, माइ रिपब्लिकाका संपादक सुवास घिमिरे लगायत छन् ।
चिन्ताजनक स्वास्थ्य अवस्था
लगातारको अनशनले रगतमा श्वेतकोषिका, इलेक्ट्रोलाइट्स लगायतका तत्वहरुको कमी, विग्रदो मुटुको चाल, मांसपेशी बाउँडिने समस्याले गर्दा डा केसीको स्वास्थ्य अवस्था चिन्ताजनक भएको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् ।
डा केसीलाई ‘एन्टिबायोटिक’ लगायतका औषधिहरु दिनुपर्ने भए पनि उनले कुनै औषधि सेवन गर्न मानिरहेका छैनन् । चिकित्सकहरुले उनका शरीरका अंगहरु ‘फेलियर’ हुने सम्भावना साथै, ‘कुनै पनि बेला जे पनि हुनसक्ने’ चेतावनी दिएका छन् ।