डा केसी भन्छन, ‘संकिर्ण व्यापारिक स्वार्थ अनुरुपको ऐन अमान्य’
डा गोविन्द केसीले माथेमा प्रतिवेदनका छुटेका बुँदा र आफूहरुले दिएका सुझावलाई थप नगरी चिकित्सा शिक्षा सम्बन्धी विधेयक अघि बढाइए त्यो अमान्य हुने बताएका छन् ।
मुलुकको चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रमा रहेका वेथिति अन्त्यको माग गर्दै १८ दिनदेखि अनशनमा रहेका डा केसीले विज्ञप्ति जारी गरी सांसदहरुले आफ्नो संकिर्ण व्यापारिक स्वार्थ अनुरुप चिकित्सा शिक्षा ऐन पारित गर्ने कोशिश गरिरहेको उल्लेख गरेका छन् ।
आम नागरिकको स्वस्थ्य भएर बाँच्न पाउने अधिकार र विद्यार्थीहरुले चाहेको विषयमा गुणस्तरीय शिक्षा लिन पाउने अधिकारका लागि आफूले गरिरहेको सत्याग्रह चिकित्सा शिक्षा ऐन सही रुपमा नआन्जेल जारी रहने पनि उनले चेतावनी दिएका छन् ।
यता संसद्को महिला, बालबालिका, ज्येष्ठ नागरिक र समाजकल्याण समितिले डा.केसीका माग विपरित व्यापारीहरुको स्वार्थ अनुसार चिकित्सा शिक्षा विधेयकलाई अन्तिमरूप दिने तयारीमा लागेको बुझिएको छ ।
डा केसीले उस्तै खालका माग राख्दै अनशन बसेको यो ११ औ पटक हो । सरकारले डा केसीसँग बारम्बार गरेका सम्झौता कार्यान्वयन नगर्दा उनी सत्याग्रह गर्न वाध्य छन् ।
उनको उपचारमा संलग्न चिकित्सकले १८ औं दिनसम्मको अनशनले डा केसीको स्वास्थ्य अवस्था चिन्ताजनक र खतरापूर्ण अवस्थामा पुगेको बताएका छन् ।
प्रेस विज्ञप्ति:
आदरणीय पत्रकार मित्रहरु
आज हाम्रो सत्याग्रहको १८ दिन पुग्दा समेत सरकारका तर्फबाट केही घण्टामा पूरा गर्न सकिने मागहरु पूरा नगरिएको कुरा यहाँहरुलाई स्मरण गराउन चाहन्छु ।
साथै, यसैबीच जनताबाट चुनिएका र जनताले नै तिरेको करबाट तलब सुविधा लिने सांसदहरुले तीन करोड नेपाली र लाखौं विद्यार्थीको हितविपरीत आफ्नो संकीर्ण व्यापारिक स्वार्थ अनुरुप चिकित्सा शिक्षा ऐनलाई पारित गर्न कोशिस गरिरहेको प्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । ऐनलाई जनतामुखी र विद्यार्थीमुखी बनाउन माथेमा प्रतिवेदनका छुटेका बुँदाहरु तथा हामीले दिएका सुझावसमेत समेटेर विधेयक अघि नबढाइएसम्म हामीलाई त्यो कुनै पनि हालतमा मान्य नहुने जानकारी गराउँछु ।
स्मरण रहोस्, हाम्रो अभियान कहिल्यै पनि कुनै व्यक्ति वा पार्टी विशेषप्रति लक्षित छैन । कुनै पनि दलका दिवंगत राजनेताहरुका नाममा संस्था खोल्दा सेवाको ध्येय राखेर राज्यले खोल्नुपर्छ र कुनै पनि खालको व्यापारमा उनीहरुको नाम जोडिनु हुँदैन भन्ने हाम्रो मान्यता हो । साथै विगतमा हामीसित गरिएका सम्झौताहरु अक्षरशः कार्यान्वयन गर्नु पनि राज्यको दायित्व बन्छ ।
साथै, आम नागरिकको स्वस्थ भएर बाँच्न पाउने अधिकार र आम विद्यार्थीहरुको चाहेको विषयमा गुणस्तरीय शिक्षा लिन पाउने अधिकारका लागि चलिरहेको हाम्रो अभियान जारी रहने र सही रुपमा चिकित्सा शिक्षा नआउन्जेल मेरो सत्याग्रह जारी रहने पनि जानकारी गराउँछु । राजनीतिज्ञहरुले निरन्तर गैर–जिम्मेवारीपन, भ्रष्टता र माफिया–प्रेम देखाए पनि हामीले नागरिकका रुपमा आफ्नो कर्तव्य छाड्न नहुने भएकाले बुद्धिजीवी र सञ्चार माध्यमहरु लगायत समाजका सबै तह र तप्काले यो अभियानमा अहिलेजस्तै निरन्तर योगदान पुर्याइरहनुहुनेछ भन्ने मेरो विश्वास छ ।
डा गोविन्द केसी
त्रिवि शिक्षण अस्पताल, महाराजगन्ज
२०७३।४।२६