मकवानपुरका ७ वटा स्वास्थ्यचौकी भवन पुनःनिर्माण सम्पन्न
भुकम्पबाट पूर्ण रुपमा क्षतिग्रस्त मकवानपुरका ७ वटा स्वास्थ्यचौकीको पुनःनिर्माण भएको छ ।
१२ बैशाख २०७२ को भूकम्पबाट मकवानपुरका १० स्वास्थ्यचौकी भवन पूर्णरुपमा ध्वस्त भएका थिए ।
जिल्लाको मकवानपुरगढी, निबुवाटार, खैराङ, धियाल, बसामाडी, फाखेल र फापरबारीका स्वास्थ्य चौकीको भवन निर्माण सम्पन्न भएको जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । ठिङ्गन, राक्सिराङ र मन्थलीको स्वास्थ्यचौकी भवन भने अझै बनिसकेका छैनन् ।
निर्माण सम्पन्न भएका ७ मध्ये ६ वटा अमेरिकेयर्सले आर्थिक सहयोग उपलब्ध गराएको हो ।
मकवानपुरगढी, निबुवाटार, खैराङ, धियाल, बसामाडी र फाखेल स्वास्थ्य चौकी भवन निर्माण गरेर सरकारलाई हस्तान्तरण गरिसकेको निर्माण गर्ने संस्था विराट नेपाल मेडिकल ट्रष्ट मकवानपुरले जनाएको छ ।
फापरबारी स्वास्थ्य चौकी भने नेपाल सरकार आफैले करिब डेढ करोड खर्च गरी बनाएको जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपुरका प्रमुख रामचन्द्र पाठकले बताए ।
भूकम्पबाट मकवानपुरमा ३० वटा स्वास्थ्यचौकीमा आंशिक क्षति पुगेको थियो । ती कार्यालयहरुमा हाल मर्मतको काम भइरहेको जिल्ला जनस्वास्थ्य कार्यालयले मकवानपुरले जनाएको छ ।
सुरजकुमार भुजेल, मकवानपुर