रिपोर्टशनिवार, भाद्र २५, २०७३

फ्लोरा अफ नेपाल: माल पाइयो चाल पाइएन

सन्त गाहा मगर


ज्यामरुङ, धादिङमा फुलेको अक्जालिस लाटिफोलिया । तस्वीरहरुः प्रताप गुरुङ

आधारभूत पूर्वाधार र दक्ष जनशक्ति नभएको नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानले वनस्पति विभागको जिम्मेवारीमा हस्तक्षेप गर्दा वनस्पति सम्पदाको वैज्ञानिक विवरण (फ्लोरा) प्रकाशन रोकिएको छ।

१९ असोज २०५८ मा वन मन्त्रालय, त्रिभुवन विश्वविद्यालय (त्रिवि) र नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) बीच नेपालका वानस्पतिक सम्पदाको वैज्ञानिक विवरण (फ्लोरा अफ नेपाल) प्रकाशन गर्ने समझ्दारी भयो। नेपालका उन्यु र फूल फुल्ने सबै बोटबिरुवाको विवरण समेटेर १० 'भोल्युम' मा फ्लोरा अफ नेपाल प्रकाशन गर्नु समझ्दारीको उद्देश्य थियो। 

त्यसअघि सन् १९९९ मा नास्ट, टोकियो विश्वविद्यालय, नेचुरल हिस्ट्री म्युजियम (लण्डन) र रोयल बोटानिकल गार्डेन (एडिनबरा) बीच भएको सन् २०२० सम्ममा फ्लोरा अफ नेपालको सबै 'भोल्युम' प्रकाशित गर्ने सम्झौतालाई मूर्तरूप दिन त्यो समझ्दारी भएको थियो। तर, सम्झौता भएको दुई दशकमा मुश्किलले एक 'भोल्युम' (भोल्युम–३) प्रकाशन भएको छ।

सम्झौता अघि मन्त्रालय अन्तर्गतको वनस्पति विभागले नेपाली वानस्पतिक सम्पदाको वैज्ञानिक विवरण प्रकाशनलाई निरन्तरता दिएको थियो। त्यस अवधिमा विभागले 'फ्लोरा अफ फूल्चोकी एण्ड गोदावारी', 'फ्लोरा अफ नागार्जुन', 'फ्लोरा अफ लाङटाङ एण्ड क्रस सेक्सन भेजिटेसन सर्भे', 'रेयर, इन्डेमिक, इन्डेन्जर्ड प्लान्टस् अफ नेपाल', 'नोटस् अन फ्लोरा अफ रजनीकुञ्ज (गोकर्ण फरेस्ट), 'फ्लोरा अफ काठमाडौं भ्याली' र 'फ्लोरा अफ मुस्ताङ' प्रकाशन गरेको थियो।

११ बुँदेले ढिलाइ

ककनी, काठमाडौंमा फुलेको एस्टर आजेराट्रोइडस।

सन् १९९३ मा जापानमा भएको चौधौं वानस्पतिक विश्व सम्मेलनमा 'फ्लोरा अफ नेपाल' सम्बन्धी विशेष बैठक भएको थियो। टोकियो विश्वविद्यालय संयोजक रहेको बैठकले १० वर्षमा 'फ्लोरा अफ नेपाल' प्रकाशन गर्न सकिने निष्कर्ष निकालेको थियो।

तर, २०५८ मा भएको मन्त्रालय, त्रिवि र नास्टबीचको सम्झौताका कारण त्यो हुन नसक्ने लगभग निश्चित भएको छ। किनभने, १० मध्ये ६ 'भोल्युम' को काम कहिले शुरू हुन्छ, अनिश्चित छ।

'फ्लोरा अफ नेपाल' का सम्पादकमध्येका एक डा. केशवराज राजभण्डारी ६ मध्ये तीन वटाको काम भइरहेको बताउँछन्। उनका अनुसार, 'भोल्युम'–१० को नेपालमा, ४ को टोकियो विश्वविद्यालय र ७ को रोयल बोटानिकल गार्डेन एडिनबरामा काम भइरहेको छ। तर, तीमध्ये कुनैको पनि पाण्डुलिपि तयार भएको छैन।

पाण्डुलिपि तयार भइसकेपछि पनि क्रस भेरीफाई, सम्पादन, प्रकाशनलगायतका कममा कम्तीमा डेढ–दुई वर्ष लाग्ने सम्पादक राजभण्डारी बताउँछन्। 'भोल्युम'–१० को पाण्डुलिपि चाहिं आगामी वर्षको अन्त्यसम्ममा तयार गर्ने लक्ष्य रहेको उनले बताए। 

फ्लोरा अफ नेपालका लागि सरकारले यसअघि वर्षेनि दिंदै आएको रु.५ लाख बजेट बढाएर यसपटक रु.२५ लाख पुर्‍याए पनि सरोकारवाला निकायबीच समन्वय नहुँदा प्रकाशन हुन नसकिरहेको जानकारहरू बताउँछन्। उनीहरूका अनुसार, नास्टले हात हाल्नु नै 'फ्लोरा अफ नेपाल' प्रकाशनमा अवरोध सावित भएको छ। एकजना वनस्पतिविद् भन्छन्, “वनस्पति विभागले खुरुखुरु गरिरहेको काममा नचाहिंदो जस लिने नास्टको इच्छा नै अवरोध साबित भयो।”

तीन पक्षबीच भएको ११ बुँदे समझ्दारीमा नास्टलाई बढी अधिकार दिइएको छ। समझ्दारीमा नास्टलाई फ्लोराको नेपाल च्याप्टर मान्ने, प्रकाशनको समन्वयन तथा सहजकर्ता बन्ने, अन्तर्राष्ट्रिय सहभागिता, आर्थिक–प्राविधिक सहयोग जुटाउने, बैठक बोलाउने, परिचालन गर्ने लगायतका भूमिका दिइएको छ।

फ्लोरा अफ नेपाल प्रकाशन सम्बन्धी परियोजनाको राष्ट्रिय कार्यालय नास्टमै राख्ने गरी भएको समझ्दारीको बुँदा–६ मा भनिएको छ– 'सम्पादकहरूको मनोनयन, फ्लोराको तयारी र प्रकाशन सम्बन्धी सम्पूर्ण नीतिगत तथा प्राविधिक विषयमा परामर्श लिन फ्लोरा अफ नेपाल राष्ट्रिय कार्यालय नास्टद्वारा एक परामर्श समिति गठन गरिनेछ।'

नास्टसँग फ्लोरा प्रकाशनका लागि चाहिने आधारभूत पूर्वाधार र विशेषज्ञ भने थिएनन्, छैनन्। नमूना संकलनका लागि अनिवार्य वनस्पति संग्रहालय (हर्वेरियम) र प्रयोगशालादेखि वनस्पतिविद्सम्म वनस्पति विभागको गोदावरीस्थित राष्ट्रिय हर्वेरियम तथा वनस्पति प्रयोगशाला र त्रिविको केन्द्रीय हर्वेरियममा छ।

खुल्ला खजाना
अहिले राष्ट्रिय हर्वेरियममा एक लाख ६० हजार र केन्द्रीय हर्वेरियममा २० हजार गरी एक लाख ८० हजार वनस्पतिका नमूना छन्। भौगोलिक विविधतामा धनी नेपालमा पश्चिमी एशिया, उत्तर–पूर्वी एशिया, मध्य एशिया, दक्षिण एशियालगायतका वानस्पतिक क्षेत्रहरू पनि फैलिएका छन्।

नेपाल एशिया महाद्वीपका ६ वटा वानस्पतिक क्षेत्रको संगमस्थल रहेको वनस्पतिविद्हरू बताउँछन्। उनीहरूका अनुसार, नेपालमा इरान र टर्कीदेखि जापान र मलेशियासम्मका वनस्पतिहरू छन्।

वनस्पतिशास्त्रीहरूका अनुसार नेपालमा फूल फुल्ने प्रजातिका वनस्पति करीब सात हजार छन्, जसमध्ये ४ हजार ५८६ प्रजातिको मात्रै नमूना संकलन भएको छ। नेपालका वनस्पतिका धेरै प्रजाति टोकियो, इडिनबरा, कलकत्ता बोटानिकल गार्डेनलगायतमा पुगिसकेका छन्।

वनस्पतिशास्त्री डा. तीर्थबहादुर श्रेष्ठ आफ्नै देशको वनस्पति पहिचान गरेर बेलैमा फ्लोरा प्रकाशन गर्न नसक्नुलाई 'माल पाएर चाल नपाएको' भन्छन्। “भारत र चीन त के भूटानलगायतका देशहरूले समेत फ्लोरा प्रकाशन गरिसके”, डा. श्रेष्ठ भन्छन्, “नेपालले चाहिं आफ्ना २५ प्रतिशत वनस्पति अझै पहिचान गर्न नसक्नु विडम्बना हो।”

उनको बुझाइमा, नेपालका सरोकारवाला तीन वटा निकायबीचको समन्वय अभावका कारण फ्लोरा प्रकाशनमा अवरोध भएको छ। त्यसबाहेक, निरन्तर अनुसन्धानमा लाग्ने वैज्ञानिकहरूको कमी, राजनीतिक संक्रमणको प्रभाव र साधनस्रोतको अभाव रहेको उनी बताउँछन्।

कारण जे भए पनि फ्लोरा प्रकाशनको यो ढिलाइको मूल्य देशको जैविक विविधताले चुकाउनुपर्ने हुन्छ, वनस्पतिको 'पेटेन्ट राइट' गुमाएर। यो कुरालाई ध्यानमा राखेर भूटानले पनि सन् २००२ मै 'फ्लोरा अफ भूटान' निकालिसकेको छ।

फ्लोरामा वनस्पतिको वैज्ञानिक नाम, रैथाने स्थल, उपयोगिता, विशेषता आदि विवरण राखिन्छ। कस्ता–कस्ता वनस्पति, कहाँ–कहाँ पाइन्छन् भन्ने वैज्ञानिक विवरणले भविष्यमा तिनको उपयोग, संरक्षण, सम्बर्द्धन, अधिकार र विकासमा सघाउ पुर्‍याउँछ। यो कारण पनि नेपाल जस्तो बहुमूल्य वनस्पतिहरू भएको कृषिप्रधान देशले फ्लोरा प्रकाशनलाई महत्व दिनुपर्छ।

डा. राजभण्डारीका अनुसार, बेलायत र भारतले २०० वर्ष, चीनले ८० वर्ष पहिले नै फ्लोरा प्रकाशन गरिसकेको छ। भारतले १८९७ को 'फ्लोरा अफ ब्रिटिश–इण्डिया' लाई परिमार्जित गरेर 'फ्लोरा अफ इण्डिया' निकालेको २५ वर्ष भइसक्यो। चिनियाँ भाषामा प्रकाशित 'फ्लोरा अफ चाइना' को अंग्रेजी संस्करण पनि आइसकेको छ।

“नेपालले चाहिं आफ्नो वनस्पतिको वैज्ञानिक अभिलेख निकाल्न नसकेर देशको गौरवलाई बेवास्ता गरेजस्तो भएको छ”, डा. राजभण्डारी भन्छन्, “यो भनेको अरूको लागि आफ्नो खजाना खुला गरेको अवस्था पनि हो।”

फ्लोरा प्रकाशनमा देखिएको सुस्तताले ल्याउने परिणामको अर्थ बुझेरै हुनुपर्छ, व्यवस्थापिका–संसद्ले यसमा सक्रियता देखाएको छ। संसद्मा प्रस्तुत 'वनस्पति तथा वनस्पतिको स्रोतको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक' मा फ्लोरा प्रकाशनको जिम्मेवारी वनस्पति विभागलाई दिने व्यवस्था छ।

विधेयकमा भनिएको छ– 'विभागले नेपालमा प्राकृतिक रूपमा पाइने वा कुनै माध्यमबाट नेपालमा प्रवेश भई नेपालमा पाइएका, भौगोलिक र प्राकृतिक अवस्थामा स्वतन्त्र रूपमा बाँचेका तथा प्रजनन क्षमता भएका फूल फुल्ने वा नफुल्ने वनस्पतिहरूको आधिकारिक अभिलेख रहने गरी 'नेपाल फ्लोरा' प्रकाशन गर्नेछ।'

प्रतिकृया दिनुहोस