भारतबाट आयात हुने विद्युत्को नयाँ मूल्य
नेपाल विद्युत् प्राधिकरणले भारतबाट आयात गरिरहेको विद्युत्को नयाँ मूल्य निर्धारण गरेको छ ।
भारतको राजधानी नयाँदिल्लीमा सम्पन्न नेपाल भारत विद्युत् आदानप्रदान समितिको बैठकले न्यूनतम रु ८.८८ देखि अधिकतम रु १०.३२ प्रतियुनिटमा विद्युत् खरिद गर्ने गरी नयाँ मूल्य निर्धारण गरेको हो ।
११ केभी क्षमताको प्रसारण लाइनबाट आयात हुने विद्युत्को मूल्य प्रतियुनिट रु १०.३२, ३३ केभीमा प्रतियुनिट रु ९.६० रुपैयाँ र १३२ केभीमा प्रतियुनिट ८.८८ रुपैयाँ तिर्नुपर्नेछ । निर्णयअनुसार ५० मेगावाट भन्दामाथि वा १३२ केभी क्षमताको प्रसारण लाइनमार्फत आयात हुने विद्युत्को मूल्य नेपालका लागि सस्तो हुने भएको छ ।
भारतले यसअघि नेपाललाई उपलब्ध गराउँदै आएको विद्युत्को मूल्य प्रतिवर्ष ५.५ प्रतिशतको दरले बढाउँदै आएको थियो । १७ साउनमा सम्पन्न बैठकले सो प्रावधानलाई हटाएर आपसी सहमतिमा विद्युत्को मूल्य निर्धारण गर्ने निर्णय गरेको छ ।
यस्तै सन् २००७ सालदेखि बन्द अवस्थामा रहेको ३३ केभी क्षमताको धनगढी–पलिया प्रसारणलाइन आगामी दुई महीनाभित्र सञ्चालनमा ल्याउने सहमति भएको छ । उक्त प्रसारण लाइनबाट १० मेगावाट विद्युत् आयात हुँदै आएको थियो । रासस