ब्लगशनिवार, भाद्र २५, २०७३

चन्द्र शम्शेरसँग बेलायती रेजिडेन्टको जिद्दी (इतिहास)

ज्ञानमणि नेपाल


    
ब्रिटिश रेजिडेन्ट जेम्यानर्स स्मिथले महाराज चन्द्रशमशेरसँग २२ भदौ १९६४ को संवादमा पनि पहिलेकै कुरा दोहोर्‍याए।


रेजिडेन्ट स्मिथ रेजिडेन्सीको कैदी जस्तो भएर बस्नु नपरोस्, रमणीय स्थल हुँदो भ्रमण गर्न पाइयोस्, जंगलमा शिकार खेल्न पाइयोस् भनिरहन्थे। उनले नागार्जुन, गोकर्णलगायतका पालेर राखिएका सरकारी शिकारस्थल जस्तै जंगल रेजिडेन्टको लागि किन्न दिइयोस्, हाम्रो मनोविनोद गर्न शिकार खेल्न स्वच्छन्द रूपले घुम्न पाइयोस् भन्नेसम्मका प्रस्तावै राखेका थिए। महाराजले त्यस्ता जंगल पाइँदैन, किन्न पनि सकिंदैन भनेर अस्वीकार गर्दा पनि उनले जिद्दी छाडेका थिएनन्।

महाराजको पनि मनमा बिझेका आफ्नै कुराहरू थिए। उनी भन्ने गर्थे, “हाम्रा भारदार दुनियाँदार पनि के हो के हो, अंग्रेजसँग खुलस्त व्यवहार गर्नुहुँदैन, उनीहरूलाई जहीं तहीं घुमफिर गर्ने स्वच्छन्दता दिनुहुँदैन भनेर विरोध गर्छन्। तिनको चित्त बुझाउन प्रयास गर्छु, दोस्तीको लिहाजले।

तर, तपार्इंहरूको हामीप्रतिको चित्तबुझदो व्यवहार देखाउन सक्तिनँ। तपाईं पनि यति राम्रो दुई देशको दोस्ती छ त भन्नुहुन्छ तर तपाईंको गभर्मेन्टले हामीप्रति त्यस्तो व्यवहार देखाएको छैन। गजेटियरमा छापिएका कुरा गभर्मेन्टले गरेको व्यवहार भारदारले, दुनियाँले पढ्छन्, सुन्छन्, बुझछन् अनि कसरी चित्त बुझछ, कसरी चित्त बुझाउनु?”

महाराजाधिराजको प्रतिनिधि भएर जंगबहादुर बेलायत जाँदा राजकीय सम्मान पाएका थिए। पछि ब्रिटिश–इण्डियामा जाँदा पनि जंगलाई जस्तो सम्मान–सलामी दिइन्थ्यो, पछि त्यस्तो गर्न छुटाइयो। महाराज वीरशमशेर जाँदा उनले सम्मान सलामी पाएनन् र उनलाई ज्यादै पीडाबोध भयो। उनी त्यही पीडाले चाँडै बिते भन्ने कुरा चन्द्रशमशेरको मनमा परेको थियो।

त्यसभन्दा पहिलेको घटना– दिल्लीमा भएको सम्राट एडवर्ड सप्तमको शाही दरबारको निमन्त्रणामा नेपालका प्रतिनिधि भएर चन्द्रशमशेर गएका थिए। उनको आसन भारतीय राजा–रजौटाको हारमा राखेको रहेछ। त्यो देखेर महाराज चन्द्रशमशेरले 'ओहो! यत्रो ठूला–ठूला राजा–महाराजको हारमा किन बसूँ, म अलग्गै बस्छु' भनेर आफ्नो आसन (सीट) सार्न लगाएका थिए।

यसरी आफ्नो मर्यादा आफैंले राख्नुपर्‍यो। सम्मान–मर्यादा आयोजकले राख्नुपर्थ्यो, त्यो नहुँदा महाराजको मन भित्रभित्रै कुँडिएको थियो। ब्रिटिशहरूको यस्तै–यस्तै व्यवहारबाट सचेत महाराज रेजिडेन्टले दोस्तीप्रीतिका जतिसुकै चिप्ला कुरा गरे पनि पग्लिदैनथे। उनले रेजिडेन्टसँग भनेका थिए, “हाम्रा भारदारले पनि सबै बुझेका छन् र बराबर मलाई 'ब्रिटिशको बैंकमा रकम राख्नु ठीक छैन, उनसँग केही जानी तल माथि पर्‍यो भने खाइदिन्छन्, जफत गरिलिन्छन्' भनिरहेछन्, तर त्यसो होइन हाम्रो देशै गयो, ज्यानै गयो भने जहाँ राखे पनि त्यो धनको के काम भनेर तिनको चित्त बुझाइरहेको छु।”

त्यसबेला एकजना ब्रिटिश सर्भेयर रेजिडेन्सीमा आएर बसेका थिए। त्यसको जाने आउने सबै बरबन्दोबस्त नेपालबाट गरिदिनुपर्थ्यो। त्यसको लागि सल्लाह गर्न महाराजले कप्तान अष्टमानलाई रेजिडेन्सीमा पठाएका थिए।

अनि रेजिडेन्ट स्मिथ आएर महाराजसँग चिप्लो घस्न थाले, “म पनि आफैं सर्भेयर सँगै भइदिएको भए कति मजा हुनेथियो, माउन्ट एभरेष्ट हेरेर आउन पाउनेथिएँ। यिनैसँग म पनि जान पाए कति राम्रो हुन्थ्यो। पहाडतर्फ घुम्ने, हेर्ने, शिकार खेल्ने धेरै दिनदेखि मलाई कति रहर लागिरहेको छ। तपाईंको केही काम भए उनले गरिदिनेछन्।”

त्यसमा महाराजले सीधै भने, “उनबाट गर्ने गराउने मेरो कामकुरो केही छैन। तपाईं जाने कुरा पनि हुन सक्तैन। सर्भेयर पनि माउन्ट एभरेष्ट हेरेर उतैको नजिक पर्ने सीमानाबाट फर्कन्छन्। अब पछि माउन्ट एभरेष्ट हेर्न यूरोपीय आए भने पनि उतैबाट आउँछन्, उतैबाट फर्कन्छन्।

तपाईंलाई पठाउँदा पछि आउने रेजिडेन्टले जहान परिवारै लिएर आउला, ऊ पनि पहाड घुम्न हेर्न माउन्ट एभरेष्ट जान चाहला। यसकारण प्राइम्मिनिष्टरसँग रेजिडेन्टको मनमुटाउ पर्ने कुरा गर्नुहुँदैन। तपाईंहरूले थाहा नपाएको कुरा केही छैन।

ब्रिटिशको गुप्तचर, सर्भेयर आएर नेपालको चप्पाचप्पा छामेका छन्। तपाईंका गोरखा रेजिमेन्टमा नेपालका गाउँगाउँका मान्छे छन्। तिनबाट सबै यहाँको नालीबेली बुझनुभएकै छ।”

यसरी महाराज रेजिडेन्टलाई रसैले जवाफ दिइरहन्थे।


स्वतन्त्र राष्ट्र सुहाउँदो व्यवहार, विश्वयुद्धमा सहायता गरेबापत चित्तबुझ्दो प्रत्युपकार, चीनसँग सम्बन्ध यथावत् राख्ने र चाहिंदो हातहतियार झिकाउन पाउने अधिकार हुनुपर्छ भन्ने चन्द्रशमशेरको प्रस्ताव :

सन् १९०७ सेप्टेम्बरको ९ तारिख मुताबीक १९६४ साल मिति भाद्र २२ गते रोज ७ का दिन बीहान रजिडन्ट मेजर जेम्यानर्स इस्मीथ साहेब प्राइभेट मुलाकातलाई ८ बजे सिंहदर्वारमा आई १ घंटा जति बसि कुराकहानि गरी जांदाको टिपन–

रजि– सर्भेयर यांहा आईपुग्यो. अब यांहाबाट माउंटयभरेष्ट लोकेट गर्नालाई कैल्हे रवाना गरे ठिक पर्ला...

श्री ३– जैल्हे पठाउनुहुंछ पठाउनुहोस्, सबै तयारै छ. यस विसयेमा केहि सोधिनुपर्ने कुराहरू कप्तान् अष्टमान्सिंले तपायींसंग सोधी आउनु भनि पठायाको छु. नीजले आज दिउंसो तपायींकाहां आउंदा सोधनेछ. तेसको जवाव आयापछि सबै तयार हुनेछ
रजि– निज सर्भेयरलाई तपायिले आफ्ना तरफबाट पनि केहि काम् लगाउनु हुंछ की

श्री ३– मेरो आफ्नु तरफबाट काम लगाउने केहि छैन. नीज जाने ठाउंमा गभरमेन्ट इंडियातर्फबाट निजसंग इंफर्मेशन लिन चाहंन्छन् भन्या सो काम गरेकोमा मलाई केहि एतराज छैन...

रजि– निज सर्भेयर जाने बाटोको इदमित्थ भै सकेको छैन के...

श्री ३– इदमित्थ भयाको छ. जांदा यांहाबाट जाउन् फर्कदा माउंट एभरेष्ट जुन् ठाउं पर्दछ तेस ठाउंबाट सिधा सबैभंदा नजिकको बाटो गरी देशतर्फ जाने बाटो जुन होला सो बाटो फर्की देशतर्फ जाउन्. पछि आउने तजविज भयाको युरोपियनको पिटि (पार्टी) आउंदा जांदा सोहि नजिक्को छोटो बाटोबाट आउनु जानु पर्दछ. काठमाडौंको बाटो हुँदैन...

रजि– तपायींबाट भंनु भयाको कुरा बुझेको छ. उनीहरू उतै नजिक्को बाटो गरी आई फर्कने बंदोबस्त हुनेछ. म पनि निज सर्भेयर संगै भयाको भया कस्तो मजा हुने थीयो संगै माउन्ट एभरेष्ट हेरि आउने थीयें. मलाई पाहाडतरफ सिकार खेलनाको बहुतै दिल् गै रहेछ. यति कुरा हुन गयो भने असल हुने थीयो. रजिडन्टलाई यो पाहाड तरफ जान नदिन कीन हो दोस्तीमा यस्तो राम्रो देखीदैन...

श्री ३– यो किमार्थ हुन नसक्ने कुरा हो. पाहाड्तरफ यांहा जस्तो डोले भरिया पाइदैन
रजि– मलाई धेरै मानिस चाहिंदैन. ६ जना जति भया पुग्छ. तेति ता याहाबाट लगे होइजान्छ

श्री ३– तपायींलाई ऐल्है ६ जना भया पुग्ला. पछिपछि अर्को रजिडन्टलाई पनि पाहाडको सिकारको इच्छा हुन जाला, तिनले आफ्ना जाहान बचा पनि साथमा लि जाने मन् गर्नन्. तेस वखत् हुंदैन भंन हुने छैन. नाहकमा प्राइम्निष्टर र रजिडन्टको बिचमा रंज उठ्ने कारण हुन जान्छ. रजिडन्टले पाहाडतरफ जाने काम किमार्थ बढिया छैन भनि अघि पनि तपायींलाई कारणसमेत बताई भनेकै हुं. यो कुरा अपसोस छ कि म मंजुर गर्न सक्तीन. यस्तो कुरा यांहा दुनियांको पनि किमार्थ मन पर्दैन.

तपायींहरूसंग यस् मुलुक्को केहि कुरा गोप्य छैन. पाहाडमा यस्तो यस्तो छ भने सबै इंडिया गभरमेंटका सर्भे डिपार्टमेन्ट इंटेलिजेन्स डिपार्टमेन्टबाट बराबर गुप्तितवरसंग मानीस पठाई सबै बुझी थाहा पाई सकेकै छ. यस् सिवाये हरयेक् गाउंमा १। २। २।४ मानिसहरू तपायींहरूका फौजमा नोकरी गरी बसेकै छ. नीजहरूबाट पनि सबै सोधी बुझिलीनु भयाकै होला. चाहियेको इन्फरमेशन् तपायींहरूलाई दियेकै छ. पाहाडतरफ जाने काम् ठीक छैन. यसले परन्तु फाइदा हुने छैन. हाम्रा मानिसले बृटिसहरूलाई ऐल्हेसम्म जो मोलाहिजा र मोहब्बत राखेको छ तेस्मा पनि अवस्य हानि गराउने हुंछ परिणाम् यसबाट कंम्प्लीकेसन् पनि नउठी रहने छैन. बुझ्नै पर्ने केहि छ भने १ जना गोर्खा सरभीयर पठाई दिनुहोस् उसैले सबै बुझि आवस्...

रजि– तपायींका बखत्मा दोस्ती भयाको छ. यस्तो बलियो दोस्ती भयाकोमा यति कुरा गर्नाले दुनियाले केहि भंने छैनन्..

श्री ३– दोस्ती बलियो भया नभयाको कुरा दुनियांहरू सबैले यथार्थ थाहा पाउदैनन्. बृटिसले यस मुलुकमाथी राम्रो वेवहार गरेका छैनन् भने हाम्रा मानिसको मन्मा परेको छ. भारदारहरूमा पनि व्यांकमा रुपैया राखन ठीक छैन. कदाचीत् बृटिससंग परि आयो भने सो व्यांकमा राखेको जति सबै जपत गरी लिनेछ भंने ख्याल राख्दछ. मैले तिनिहरूलाई के भन्दछु भने तेस्तो परिआयो भने आफ्नु ज्यान मुलुकै जानेछ भने धनको के माया भनि भंदछु. यांहा समझदार दुनियां रैति थोरै मात्र छ. अघि यांहाबाट आम्बेसडर बराबर इन्डीया गभरमेंटले रीसीभ गरी आयाकोमा सो कुरा पछि नहुने हुन गयाको देखी दुनियांहरूले ठीक् विश्वास मान्दैनन्.

प्रतिकृया दिनुहोस