सुनौली नाकामा एसएसबीको कडाई, आयात-निर्यात प्रभावित
भारतीय सशस्त्र सीमा बल (एसएसबी) ले नेपाल भारत सीमा नाका सुनौलीमा कडा जाँच गर्न थालेपछि ढुवानी सेवा समेत प्रभावित भएको छ ।
नेपालकै दोस्रो ठूलो भन्सार नाका बेलहियामा भारतीय एसएसबीले सुरक्षाको नाममा नेपालबाट भारततर्फ जाने यात्रुलाई सवारीसाधनबाट झारेर पुरै शरीरको खानतलासी लिने, मोटरसाइकलको सिट कभर निकालेर जाँच गर्ने, पैदलयात्रीको तलाशी लिने गरिरहेको छ । जाँचका कारण सिमानादेखि करिब तीन किलोमिटरसम्म मालवाहक तथा यात्रुवाहक सवारीसाधनको लाइन लागेको छ ।
औद्योगिक कच्चा पदार्थ तथा व्यापारिक सामान नेपाल छाडेर फर्केका भारतीय गाडीलाई पनि सिमाना पार गर्न लामो समय पालो पर्खंनपर्ने बाध्यता छ । एसएसबीको कडाइले नाकाबाट हुने आयात निर्यात प्रक्रिया समेत प्रभावित भइरहेको भैरहवा भन्सार कार्यालय वेलहियाका प्रमुख भूपालराज शाक्यले जानकारी दिए ।
उनका अनुसार जाँचकै कारण भारत फर्किन लाइन लागेका गाडीका कारण भारतबाट नेपालतर्फ सामान लिएर आउने गाडीसमेत जाममा फसेका छन् ।
भैरहवा भन्सार कार्यालयका अनुसार सामान्य अवस्थामा यस नाकाबाट सरदर तीन सय मालबाहक ट्रक भित्रिने गरेकोमा हाल दैनिक करिब एकसयदेखि एकसय पचास वटा मालवाहक गाडी भित्रिरहेका छन् ।
भारतसँगको अन्य नाकामा स्थिति सामान्य रहँदा पनि भैरहवा नाकामा मात्रै कडाई हुनु आश्चर्य भएको व्यवसायीहरु बताउँछन् ।
भारतीय नाकाबन्दीका बेला समेत केही खुकुलो रहेको यो नाकाबाट पछिल्लो समयमा औद्योगिक कच्चा पदार्थ र व्यापारिक सामानको आयात बढ्दो थियो ।
भारतीय अधिकारीहरुले औपचारिक प्रतिक्रिया नदिए पनि आउँदै गरेको भारतीय स्वतन्त्रा दिवस (१५ अगस्त) तथा भारत र चीनबीच बढ्दो विवादले जाँचमा कडाइ गरिएको एसएसबीका जवानले बताए ।
रुपन्देहीका प्रमुख जिल्ला अधिकारी विनोदप्रकाश सिंहले सिमावर्ती क्षेत्र सुनौलीमा ढुवानी प्रक्रिया नै प्रभावित हुने गरी गरिएको जाँचका विषयमा भारतीय पक्षसँग कुराकानी भइरहेको बताए ।
“भारतीय सुरक्षाकर्मी नेपाली भूमिमा आएर जाँच गर्नु गलत हो”, उनले भने, “भारतीय सुरक्षाकर्मी र त्यहाँका जिलाधिकारीसँग छलफल गरेर समाधान गर्न आग्रह गरिसकेको छु ।”
रासस