पेट्रोलियम व्यवसायीले निगमबाट तीन दिन पेट्रोल नकिन्ने
पेट्रोलियम डिलर्स एसोसिएसन नेपालको बैठकले २६ साउनदेखि तीन दिनसम्म नेपाल आयल निगम र निगमको डिपो रक्सौलबाट समेत पेट्रोल खरिद नगर्ने निर्णय गरेको छ ।
पेट्रोलियम पदार्थ पम्पहरुमा भर्ने बेलामा मापन गरिएको भन्दा विक्रीपछि हुने परिमाण कम हुने गरेकोमा त्यसको क्षतिपूर्ति निगमले दिनुपर्ने उनीहरुको माग छ ।
त्यसैगरी निगमको डिपो रक्सौलबाट खरिद गरिएको पेट्रोलियम पदार्थको परिमाण पनि कम हुने गरेको उनीहरुको भनाई छ ।
समस्या समाधानमा सरकारले चासो नदेखाएको भन्दै उनीहरुले तीन दिनसम्म पेट्रोल खरिद नगर्ने र माग पूरा नभएमा डिजेल पनि खरिद नगर्ने चेतावनी दिएका छन् ।
“२६ गतेबाट २९ गतेसम्म पेट्रोल नलिने निर्णय भएको छ, माग पूरा नभए डिजल पनि किन्न छोडछौं,” उनले भने, “हामीसँग स्टक रहँदासम्म बिक्री चाहीँ सुचारु नै हुने छ ।”
निगमबाट ४ हजार लिटर पेट्रोल खरिद गर्दा प्रत्येक खेपमा ६० देखि ९९ लिटरसम्म र डिजल खरिदमा ३५ देखि ५० लिटरसम्म पेट्रोलियम पदार्थ कम हुने गरेकाले त्यसको विरोधमा आफूहरु आन्दोलित हुनु परेको नेपाल पेट्रोलियम डिलर्स एशोसिएसनका पूर्व प्रथम उपाध्यक्ष मनोज दासले बताए ।
“हाललाई तीन दिनसम्म पेट्रोलियम पदार्थ नलिने त्यसपछि पनि समस्या समाधान नभएमा साउन २९ गतेदेखि पेट्रोलियम पदार्थ बिक्री वितरणमा समेत बन्द हुन्छ,” दासले भने ।
१४ साउनमा बसेको एसोसिएसनको बैठकले समस्या समाधानका लागि आग्रह गर्दा नेपाल आयल निगम क्षेत्रीय कार्यालय वीरगञ्जले १८ गतेसम्म समस्या समाधान हुने बताए पनि हालसम्म केही नभएकाले खरिद नै नगर्ने निर्णय गरिएको उनले बताए ।
रक्सौल डिपोबाट हाल दैनिक रुपमा डिजल, पेट्रोल र हवाई ईन्धन गरी १५० वटा गाडी अमलेखगंज र काठमाडौँ एयरपोर्ट जाने गर्दछन् ।
जियालाल साह, वीरगञ्ज