कुलेखानी एक सातामा २ मीटर भरियो
१८ साउन राती कुलेखानी जलाधार क्षेत्रमा भारी वर्षा भएपछि कुलेखानी जलविद्युत आयोजनामा पानीको सतह बढदै गएको छ ।
ठाउँठाउँमा मूल फुट्ने गरी वर्षा भएको कारण जलाधार क्षेत्रका खोला र खोल्साहरुमा बढेको पानीले कुलेखानीमा जलसतह माथि आएको होे ।
कुलेखानी जलाशयको सतह एक सातामा २ मिटर थपिएको जलविद्युत आयोजनाको अभिलेखमा उल्लेख छ ।
१६ साउनमा कुलेखानीको पानी समुद्र सतहदेखि १ हजार ५०६ मिटर भएकोमा २३ साउनमा १ हजार ५०८ मिटर पुगेको छ । १८ साउन राति भारी वर्षा भएपछि अहिले प्रति घण्टा १ सेन्टीमिटरको दरले पानी जम्मा भइरहेको कुलेखानी पहिलोका इन्जिनियर लक्ष्मणप्रसाद फुँयालले जानकारी दिए ।
आयोजनाको अभिलेख अनुसार गत १७ साउनमा २० सेमी, १८ साउनमा २० सेमी, १९ साउनमा २१ सेमी, २० साउनमा ३० सेमी, २१ साउनमा ७१ सेमी र २२ साउनमा ४७ सेमी पानी थपिएको छ ।
गत वर्ष २३ साउन, २०७३ मा कुलेखानीमा पानीको सतह समुद्री सतहदेखि १ हजार ५१४ दशमलब ५१ मिटरमा थियो । यस वर्ष यही दिन अघिल्लो वर्षको तुलनामा ६ मिटर पानी कम छ ।
कुलेखानीको जलाशय समुद्र सतहदेखि १ हजार ५३० दशमलब २ मिटरमा भरिन्छ । त्यसपछि ‘ओभर फ्लो’ हुने पानीलाई बाँधको माथि सिमेन्टको बोरा राखेर थप ३० सेन्टीमिटर जम्मा गर्न सकिन्छ । पूर्ण रुपमा कुलेखानी भरिन अझै २२ मिटर बाँकी छ ।
तर, यस वर्ष कुलेखानीको पानी भरिन्छ कि भरिँदैन भन्न नसकिने आयोजनाका अधिकारीहरु बताउँछन् । ‘वर्षा हुने समय अझै बाँकी छ, यसै भन्न सकिन्न,’ कुलेखानी प्रथमका एक कर्मचारीले बताए ।
२०७१ सालमा भारतमा आएको हुदहुद आँधीका कारण प्रशस्त वर्षा हुँदा कुलेखानी भरिएको थियो । त्यसयता भरिएको छैन ।
२०७२ को पुसमा कुलेखानीमा पानीको सतह १ हजार ५२६ दशमलब ९७ मिटरमा पुगेर स्थिर भएको थियो । त्यस्तै गत वर्ष १ हजार ५२३ दशमलव ६७ मिटरसम्म पुगेको थियो ।
कुलेखानी जलविद्युत् आयोजना पहिलो र दोस्रोबाट क्रमशः ६० र ३२ गरी ९२ मेगावाट विद्युत् उत्पादन हुँदै आएको छ भने १४ मेगावाट क्षमताको कुलेखानी तेस्रो निर्माणाधीन छ ।
सुरजकुमार भुजेल, मकवानपुर